'बिराला नै तर्सिन्छन्': पाकिस्तानी संसद्‌ भवनमा मुसा आतङ्क

पाकिस्तानको संसद् भवन
Published
पढ्ने समय: ३ मिनेट

पाकिस्तानको संसद्‌मा नयाँ समस्या उत्पन्न भएको छ। तर त्यो समस्याको राजनीतिसँग कुनै सम्बन्ध छैन।

देशको संसद्‌ भवनमा मुसाको प्रकोप देखा परेको छ। जनप्रतिनिधिहरू भेला हुने र छलफल गर्ने ठाउँमा ठूलाठूला मुसा देखेर नवप्रवेशीहरू तर्सिन्छन्।

मुसाको प्रकोप कति ठूलो रहेछ भन्ने कुराको भेउ एउटा समितिले सन् २००८ का बैठकहरूको अभिलेख खोज्न लगाउँदा पाइएको हो।

अभिलेखहरू सङ्कलन गर्ने क्रममा अधिकांश कागजपत्र मुसाले काटेको अवस्थामा फेला परेका थिए।

"यो तलामा मुसाहरू यति ठूला छन् कि तिनलाई देखेर बिरालाहरू पनि डराउँछन्," पाकिस्तानको तल्लो सदन न्याश्नल असेम्ब्लीका प्रवक्ता जफर सुल्तानले बीबीसीसँग भने।

इस्लामाबादमा अरू सरकारी भवनमा पनि मुसाको आतङ्क छ।

मुसा

मुसा नियन्त्रण गर्न बजेट

प्रकोप यति ठूलो छ कि संसद्‌ भवनमा भएका सभाकक्षहरूलाई मुसामुक्त पार्न भनेर १२ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ।

उक्त भवनको पहिलो तलामा धेरै मुसा बसेको देखिन्छ।

उक्त तलामा माथिल्लो सदन सिनेटका प्रतिपक्षी दलका नेताको कार्यालय र अधिकांश दल तथा स्थायी संसदीय समितिहरूका बैठक हुने सभाकक्षहरू छन्।

त्यहाँ चमेनागृह पनि छ।

पाकिस्तानको संसद्
तस्बिरको क्याप्शन, न्याश्नल असेम्ब्लीका प्रवक्ताका अनुसार मुसा नियन्त्रण गर्न १२ लाख रुपैयाँ वार्षिक बजेट छुट्ट्याइएको छ

साँझ परेपछि...

तर मानिसहरूको चहलपहल नघटेसम्म मुसाहरू लुकेरै बस्छन्।

"साँझपख मानिसहरू नभएको बेला मुसाहरू म्याराथन चले झैँ गरेर कुद्न थाल्छन्," संसद्का एक अधिकारीले भने।

"यहाँका कर्मचारीहरू अभ्यस्त भइसके तर पहिलो पटक आउने मानिसहरू तर्सिन्छन्," उनले भने।

मुसा नियन्त्रण गर्ने उद्देश्यले संसद् भवनको मर्मतसम्भार गर्ने जिम्मा पाएको निकायले पाकिस्तानका विभिन्न पत्रिकामा मुसा मार्ने र समात्ने कामका लागि विज्ञापन दिएको छ।

अहिलेसम्म दुइटा कम्पनीले मात्र त्यसमा रुचि देखाएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।