देउतालाई 'चढाइएका' किशोरीहरू जो यौन शोषणमा पर्छन्

देवदासीहरूले लगाउने हार देखाउँदै शिल्पा
    • Author, स्वामीनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

"यौनकर्मले मलाई धेरै असर गरेको छ। मेरी शरीर कमजोर छ अनि मानसिक रूपमा छिन्नभिन्न छु," चन्द्रिकाले भनिन्।

एक यौनकर्मीको रूपमा चन्द्रिकाको जीवन एउटा धार्मिक कार्यबाट आरम्भ भएको थियो। पन्ध्र वर्षको उमेरमा उनलाई मन्दिर लगियो र देवीसँग विवाह गराइयो। "त्यतिखेर मलाई यो रीतिको अर्थ थाहा थिएन," उनले बीबीसीलाई भनिन्।

अहिले चन्द्रिका ३० वर्ष कटिसकिन्। उनले पैसाका निम्ति यौनसम्बन्ध राख्न थालेको पनि दुई दशक बितिसक्यो।

देवदुलहीबाट वेश्यासम्म

अकासे नीलो लुगा र गाढा नीलो पछ्यौरी लगाएकी एक महिला राधाकृष्णको सानो मूर्ति देखाउँदै, उनको अनुहार ढाकिएको छ
तस्बिरको क्याप्शन, देवदासी बनेको चार वर्षपश्चात् नै चन्द्रिका यौनकर्मी भइन् - आफ्ना सन्तानका निम्ति उनी पहिचान खुलाउन चाहन्नन्

दक्षिण भारतीय राज्य कर्नाटकमा चन्द्रिकाजस्तै देवदासी प्रथा अँगालेपछि यौनकर्मी बन्न बाध्य महिलाहरूको पहिचान गर्न सर्वेक्षण हुन लागेको छ।

देवदासीको प्रथा दक्षिण भारतमा १,००० वर्षभन्दा पहिलेदेखि चल्दै आएको हो। सुरुमा तिनले मन्दिरमा नाचगान गर्ने कलाकारको काम गर्थे। तर पछि त्यो परम्पराबाट वेश्यावृत्तिलाई जन्म दियो।

ब्रिटिश ‍औपनिवेशिक कालमै भारतका विभिन्न भागमा यो प्रथामाथि प्रतिबन्ध लगाइएको थियो। कर्नाटकमा चाहिँ सन् १९८२ मा यो प्रजा वर्जित गरियो तर हालसम्म पनि व्यवहारमा चल्दै आएको छ।

गाउँमा बस्ने देवदासीहरूको कोही निकट साथी वा अन्य ग्राहक हुन्छन् भने कैयौँ चाहिँ मुम्बईजस्तो सहर गएर वेश्यालयमा काम गर्छन्।

यौनकर्ममा फसाइन्छ

कर्नाटकको नगर बेलगाममा देवदासी बनाइएकी चन्द्रिका त्यसपछि आफ्नै घर आइन् र चार वर्षसम्म सामान्य जीवनयापन गरिन्। त्यसपछि उनकी एक महिला आफन्तले घरेलु कामदारको जागिर दिलाउने भन्दै उनलाई औद्योगिक नगर साङ्गली लगिन्। त्यहाँ चन्द्रिकालाई वेश्यालयमा पुर्‍याइयो।

"सुरुका केही महिनाहरू अत्यन्त कठिन थिए। म बिरामी परेँ। खान वा सुत्न सकिनँ," चन्द्रिका सम्झन्छिन्। "त्यहाँबाट भाग्नेबारे सोचिरहन्थेँ तर पछि बिस्तारै मैले परिस्थितिलाई स्वीकार गरेँ।"

जम्मा १९ वर्षकी चन्द्रिका एकदमै कम शिक्षित थिइन् अनि साङ्गलीमा बोलिने हिन्दी वा मराठी भाषा पनि बुझ्दिनथिइन्।

"कोही [ग्राहक] ले मलाई शारीरिक हमला गरे, कोहीले दुर्वचन लगाए। मलाई एकदम गाह्रो भयो," उनले भनिन्।

त्यहाँ आउने ग्राहकहरूमा कलेजका विद्यार्थीदेखि लिएर ड्राइभर, वकिल तथा ज्यालादारी श्रमिकहरू हुन्थे।

साङ्गलीमा रहँदा चन्द्रिकाले उनको साथी भेटिन् - एक ट्रक ड्राइभर।

उनीहरूको एउटा छोरा र एउटा छोरी भए। चन्द्रिका वेश्यालयमै काम गर्थिन् भने छोराछोरीको रेखदेख तिनका पिताले गर्थे। त्यहाँ चन्द्रिकाले दैनिक १० देखि १५ ग्राहकलाई सेवा दिनुपर्थ्यो।

दोस्रो सन्तान जन्मिएको केही वर्षपछि उनका साथी सडक दुर्घटनामा बित्छन्। अनि उनी बेलगाम फर्किन्छिन्। त्यहाँ उनले अनुवादकमार्फत् बीबीसीसँग कुरा गरिन्।

'पुरुष हामीसँग बिहे गर्न आउँदैनन्'

एक देवदासी महिला अङ्किता मोतीको माला देखाउँदै
तस्बिरको क्याप्शन, उनीहरूले लगाउने मोतीको माला हेरेर देवदासीहरूलाई सजिलै चिन्न सकिन्छ

सबै देवदासी वेश्यालयमा काम गर्दैनन्। अनि सबै यौनकर्मी पनि हुँदैनन्।

तेइस वर्षीया अङ्किता र शिल्पा नातेदार हुन्। उनीहरू उत्तरी कर्नाटकको गाउँमा बस्छन्। चन्द्रिकाजस्तै उनीहरूपनि दलित भनिने समुदायका सदस्य हुन्।

शिल्पाले स्कूलमा एक वर्षमात्रै पढिन्। सन् २०२२ मा उनी देवदासी बनिन्। अङ्किताले चाहिँ १५ वर्षको उमेरसम्म पढिन् र सन् २०२३ मा उनी पनि देवदासी बनिन्। दाजुको मृत्युपछि उनलाई देवदासी बन्न दबाव आएको थियो।

"मेरा आमाबुबाले मलाई देवीकहाँ अर्पण गर्न चाहे। मैले मानिनँ। एक हप्तापछि उनीहरूले मलाई खान दिनै छाडे," अङ्किताले भनिन्। "मलाई ननिको लाग्यो। परिवारका निम्ति मैले स्वीकार गरेँ। दुलहीजस्तो लुगा लगाएर मेरो देवीसँग बिहे गराइयो।"

अङ्किताले सेता मोती र रातो पोते भएको माला देखाइन्। त्यो देवीसँग बिहे गरेको सङ्केत हो।

उनकी आमा वा हजुरआमा देवदासी थिएनन्। परिवारको सानो टुक्रा जमिन थियो जसले उनीहरूलाई खान पुग्दैन थियो। "कोही पनि अर्पण गरिएन भने देवीले सराप्छिन् भन्ने डर थियो।"

देवदासीहरूले बिहे गर्न पाउँदैनन् तर अर्कै महिलासँग कानुनी रूपमा विवाहित कुनै पुरुषसँग निकट सम्बन्धमा बस्न सक्छन्।

अङ्किताले उनीसँग सम्बन्धमा बस्न चाहने सबै पुरुषहरूको प्रस्ताव अस्वीकार गरिन्। उनी कृषि मजदूर हुन् र दिनको करिब ५०-६० रुपैयाँ कमाउँछिन्।

एक मन्दिरको सामु उभिएकी शिल्पाको हातमा माला देखिन्छ
तस्बिरको क्याप्शन, देवदासी बनेको थोरै समयमै शिल्पाले एक निकट साथी बनाइन् र गर्भवती भइन्

शिल्पाको जीवनले भने बेग्लै मोड लियो। देवदासी बनेलगत्तै उनले एक प्रवासी श्रमिकसँग सम्बन्ध गाँसिन्।

"म देवदासी भएको थाहा पाएर ऊ मेरो समक्ष आएको थियो," उनले भनिन्।

कैयौँ देवदासी महिलाजस्तै शिल्पा आफ्नै घरमा उक्त पुरुषसँग बसिन्।

"ऊ मसँग केवल केही महिना बस्यो र मलाई गर्भवती बनायो। उसले मलाई करिब ५,००० रुपैयाँ दियो। म गर्भवती भएको विषयमा उसले कुनै प्रतिक्रिया जनाएन। एकदिन अचानक गायब भयो।"

त्यतिखेर शिल्पा तीन महिनाकी गर्भवती थिइन् र रनभुल्ल भएकी थिइन्।

"मैले उसलाई फोन गर्न खोजेँ तर लागेन। ऊ कहाँबाट आएको थियो भन्ने पनि थाहा थिएन।"

उसलाई खोज्न प्रहरीकहाँ उनी गइनन्।

"हाम्रोतिर पुरुष हामीसँग बिहे गर्न आउँदैनन्," उनले भनिन्।

गरिबी र शोषण

आफ्नै घरमा अङ्किता
तस्बिरको क्याप्शन, अङ्किता देवदासीको जीवन त्यागेर श्रीमान् भेट्ने आशमा छिन्

डा एम भाग्यलक्ष्मी स्थानीय गैरसरकारी संस्था सखी ट्रस्टकी निर्देशक हुन्। उनले गत दुई दशकदेखि देवदासीहरूसँग काम गर्दै आएकी छन्। प्रतिबन्धित भए पनि देवदासी प्रथा चलिरहेको उनले बताइन्।

"हरेक वर्ष हामी तीनदेखि चार किशोरीलाई देवदासी बन्नबाट रोक्छौँ। तर अधिकांश यस्ता धार्मिक गतिविधि गोप्य रूपमा गरिन्छन्। कुनै किशोरी गर्भवती भइन् वा बच्चा पाइन् भने मात्र हामीले थाहा पाउँछौँ।"

कैयौँ महिलाहरूले आधारभूत सेवा नपाउने, उचित खानपान तथा शिक्षा नपाउने अनि सहयोग माग्न पनि डराउने डा भाग्यलक्ष्मीले बताइन्।

"हामीले विजयनगर जिल्लामा १०,००० देवदासीको सर्वेक्षण गर्‍यौँ। मैले कैयौँ दृष्टिहीन तथा अपाङ्गता भएका अनि जोखिममा परेका महिलाहरू यो प्रथामा धकेलिएको देखेकी छु। लगभग ७० प्रतिशतसँग त बस्ने बास पनि छैन," उनले बीबीसीलाई भनिन्।

बेलगामस्थित साउनदत्ती यलम्मा मन्दिरमा मेला लाग्दा भेला भएको ठूलो भिड
तस्बिरको क्याप्शन, देवदासी प्रथाको केन्द्रमा रहेको बेलगामस्थित साउनदत्ती यलम्मा मन्दिरमा मेला लाग्दा भेला भएको ठूलो भिड

देवदासीका निकट साथीहरूले प्रायः कन्डम लगाउन मान्दैनन्। परिणामस्वरूप उनीहरू नचाहेको गर्भ बोक्न पुग्छन् वा एचआईभीजस्तो रोगको जोखिममा पर्छन्।

डा भाग्यलक्ष्मीको अनुमानमा देवदासीमध्ये ९५ प्रतिशतजति दलित समुदायका छन् भने बाँकी विभिन्न जनजाति समुदायका छन्।

विगतमा जस्तो अचेल तिनलाई मन्दिरले कुनै आम्दानी पनि दिँदैन।

"देवदासी प्रथा केवल शोषणकारी बनेको छ," उनले जोड दिएर भनिन्।

प्रथाको अन्त्य

वार्षिक मेलामा देवदासीहरू

बेलगामको साउनदत्ती यलम्मा मन्दिरमा हुने वार्षिक मेलामा वर्तमान तथा पूर् देवदासीहरू भेला हुन्छन्। तर अधिकारीहरू चाहिँ त्यहाँ देवदासी बनाउने कुनै समारोह नहुने बताउँछन्।

"यसो गर्नु दण्डनीय अपराध हो। मेलाका समयमा मानिसहरूलाई सचेत गराउन हामीले पोस्टर तथा पर्चा बाँड्छौँ," विश्वास वसन्त वैद्यले भने।

वैद्य कर्नाटक विधानसभाको सदस्य हुन्। उनी यलम्मा मन्दिर व्यवस्थापन समितिका पनि सदस्य हुन्। सक्रिय देवदासीहरूको सङ्ख्या निकै घटिसकेको उनले बीबीसीलाई बताए।

"अहिले मेरो क्षेत्रमा सायद ५० देखि ६० जना मात्र देवदासी होलान्," उनले भने। "मन्दिरमा कसैले पनि यो प्रथाको प्रवर्धन गरेका छैनन्।"

"हाम्रा कडा कदमका कारण हामीले देवदासी प्रथा बन्द गराएका छौँ," उनले भने।

सन् २००८ मा कर्नाटक सरकारले गराएको पछिल्लो सर्वेक्षणमा राज्यभरि ४६,००० देवदासी रहेको देखिएको थियो।

आगामी पुस्ता

हलुका हरियो सारी लगाएकी शिल्पाले १८ महिने छोरी बोकेकी छन्। उनी आफ्नो घरको अगाडि उभिएकी छन्
तस्बिरको क्याप्शन, शिल्पा आफ्नी छोरीलाई राम्रो शिक्षा दिलाउन चाहन्छिन् अनि आगामी पुस्तामा देवदासी प्रथा अन्त्य हुने आश गर्छिन्

यौनकर्मबाट कमाएको पैसाको सहयोगले चन्द्रिका चरम गरिबीबाट मुक्त भइन्। आफ्ना छोरीहरूलाई सामाजिक हेलाँबाट जोगाउन उनले बोर्डिङ स्कूल पठाएकी छन्।

"छोरीलाई लिएर म एकदमै चिन्तित थिएँ," चन्द्रिकाले भनिन्।

"जब छोरी १६ वर्षकी भइन् मैले उनको विवाह गराइदिएँ ताकि मजस्तो देवदासी बन्नु नपरोस् भनेर। अहिले छोरी उसको पतिसँग बस्छिन्।"

चन्द्रिका एक गैरसरकारी संस्थामा काम गर्छिन् अनि नियमित एचआईभी परीक्षण गराइरहन्छिन्।

"मेरो उमेर ढल्दै छ - केही वर्षपछि म यो काम गर्न सक्दिनँ," उनले भनिन्। त्यसपछि तरकारी तथा फलफूलको पसल खोल्ने उनको योजना छ।

शिल्पाको चाहना आफ्नी छोरीलाई उचित शिक्षादीक्षा दिलाउनु रहेको छ। देवदासी प्रथाप्रति उनी बेखुसी छिन्।

"म चाहन्छु यो बन्द होस्। मेरो छोरीलाई म देवदासी कदापि बनाउँदिनँ। म यो प्रथा चलोस् भन्ने चाहन्नँ," उनले भनिन्।

अङ्किता चाहिँ विवाह गर्न चाहन्छिन् र यो मोतीको माला फुकाल्न चाहन्छिन्।

( *पहिचान गोप्य राख्न चन्द्रिकाको नाम परिवर्तन गरिएको छ)

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।