जब भेनेजुएलाको प्रशोधित युरेनिअमलाई चुपचाप अमेरिका पुर्‍याइयो

सेतो हेल्मेट र पछाडि 'आईएईए' अङ्कित निलो भेस्ट लगाएका एक व्यक्ति एउटा मेटल सिलिन्डरको नजिक उभिएको अवस्थामा
तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले युरेनिअम स्थानान्तरणका लागि सुरक्षाका लागि चालिएका कदमहरूको अनुगमन गरेको थियो
    • Author, एन्जेल बर्मुडेज
    • Role, बीबीसी न्यूज मुन्डो
  • Published
  • पढ्ने समय: ६ मिनेट

एप्रिल अन्त्यको एक रात। काराकासको बाहिरी भेगमा अवस्थित भेनेजुएलाको इन्स्टिट्यूट फर साइन्टिफिक रिसर्च (आईभीआईसी)बाट सेनाको बख्तरबन्द गाडी गुपचुप १६० किलोमिटर यात्रा गरेर काराबोबो राज्यमा अवस्थित बन्दरगाह सहर प्वर्टो काबेल्यो पुग्छ।

अति गोप्यता कायम गरेर रातका समयमा गरिएको उक्त यात्राको कारण कैयौँ दिनपछि मात्रै स्पष्ट भयो। भेनेजुएलाको सेनाले अतिप्रशोधित १३ केजी युरेनिअमका दुईवटा पत्थर बोकेको एउटा कन्टेनर राखिएको सवारीलाई पहरा दिइरहेको थियो र पछि त्यो कन्टेनरलाई संयुक्त राज्य अमेरिका पुर्‍याइयो।

अमेरिका, भेनेजुएला र यूकेसहित अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) उक्त कार्यमा संलग्न थिए। मे ८ मा जारी विज्ञप्तिमा आईएईएले सावधानीपूर्वक उक्त मिशनको योजना बुनिएको र कडा सुरक्षा मापदण्डहरू अवमूल्यन गरिएको बतायो।

उसले यस्तो प्रकारको परमाणु सामाग्री गलत व्यक्तिका हातमा पुगेको खण्डमा विस्तार वा सुरक्षाको जोखिम रहेको उल्लेख गरेको थियो

कृत्रिम रूपमा आइसटोप युरेनिअम-२३५ को परिमाणलाई २० प्रतिशत वा सोभन्दा बढी वृद्धि गरिएपछि युरेनिअम अतिप्रशोधित अवस्थामा रहेको भन्ने गरिन्छ।

स्थानान्तरण किन

एउटा ठूलो क्रेनले खैरो रङ्गको कन्टेनर उठाइरहेको दृश्य। त्यसमा ३ जना व्यक्तिहरूले हेल्मेट लगाइरहेका छन्
तस्बिरको क्याप्शन, सो युरेनिअमलाई प्वर्टो काबेल्योको बन्दरगाहमा पानी जहाजमा लोड गरेर गोप्य रूपमा अमेरिका पठाइएको थियो

भेनेजुएलासँग रहेका १३ केजीका दुईवटा पत्थर अमेरिका र इजरेलसँग लडाइँ हुनुअघि इरानको स्वामित्वमा रहेको भनिएको ६३ वटा पत्थर (४०० केजी)को तुलनामा सानो अंश मात्रै हो। तर भेनेजुएला सरकारको वर्षौँदेखिको इरान, रुस, क्यूबा र उत्तर कोरियासँगको सम्बन्ध अमेरिका र आईएईएका लागि चिन्ताको विषय बन्दै आएको छ।

रोयल यूनाइटेड सर्भिसेज इन्स्टिट्यूटका ज्याक क्रफोर्डले विगतमा शान्तिपूर्ण प्रयोगका लागि तयार पारिएको भनिएको अतिप्रशोधित युरेनिअम परमाणु अस्त्र बनाउने प्रयास गरिरहेका कुनै पनि देश वा गैरसैनिक पक्षको हातमा पुग्न नदिन भेनेजुएलाबाट हटाइएको बीबीसी भेरिफाईलाई बताए।

उनले भेनेजुएलाबाट हटाइएको युरेनिअममा युरेनिअम-२३५ को जम्मा २० प्रतिशत परिमाण रहेको बताए। परमाणु अस्त्र बनाउनका लागि ९० प्रतिशत वा माथिको परिमाण भएको अतिप्रशोधित युरेनिअमको अवश्यकता पर्छ। तर सैद्धान्तिक रूपमा कम युरेनिअमको मात्राबाट पनि सानो परमाणु अस्त्र निर्माण गर्न सकिन्छ।

उसो भए भेनेजुएलाले कसरी अतिप्रशोधित युरेनिअम हासिल गर्‍यो र उसले त्यो किन अमेरिकालाई हस्तान्तरण गर्‍यो?

पुरानो कथा

दुई ठूला माइक्रोफोन र कागजपत्रहरू देखिने एउटा श्यामश्वेत तस्बिरमा अँध्यारो सूट लगाएका ड्वाइट डी आइजनहावर
तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घसमक्ष सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ड्वाइट डी आइजनहावरले परमाणु शक्ति समूहले आफ्नो स्रोतहरूलाई शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए

सन् १९५३ मा संयुक्त राष्ट्रसङ्घको महासभामा अमेरिकी राष्ट्रपति ड्वाइट डी आइजनहावरले एउटा मन्तव्य दिएपछि यो सबै सुरु भएको थियो। त्यो शीतयुद्ध उच्च बिन्दुमा पुगेको समय थियो र त्यस बेला अमेरिका र सोभियत सङ्घ अस्त्र दौडमा थिए। धेरै देशहरू र गैरराज्य पक्षहरूले परमाणु अस्त्रहरू हासिल गर्न सक्ने चिन्ता त्यो बेला व्यक्त गरिएको थियो।

त्यही भएर आइजनहावरले परमाणु प्रसार रोक्न र औषधि वा कृषिका लागि परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगलाई प्रवर्द्धन गर्न एउटा अन्तर्राष्ट्रिय निकाय गठन गर्न प्रस्ताव गरे।

उनले भनेका थिए, "यो हतियार सैनिकहरूबाट खोस्नु मात्रै पर्याप्त छैन। यसलाई तिनीहरूका हातमा राखिनुपर्छ, जसले सैनिक आवरणबाट मुक्त गरेर यसलाई शान्तिको कलामा रूपान्तरण गर्न सक्छन्।"

यस अवधारणाअन्तर्गत परमाणु सामाग्री उत्पादन गर्ने सामर्थ्य भएका देशहरूले त्यस्तो सामग्री राष्ट्रसङ्घीय एजेन्सीलाई उपलब्ध गराउने भनिएको थियो। उक्त निकायले त्यसलाई सुरक्षित राख्ने र सो ऊर्जाको शान्तिपूर्ण प्रयोगबारे अनुसन्धान गर्ने अध्येताहरूलाई त्यो सुम्पिने पनि लक्ष्य राखिएको थियो।

आइजनहावर प्रशासनले घोषणा गरेको 'एटम्स फर पीस' कार्यक्रमअन्तर्गत भेनेजुएलाले एउटा अनुसन्धानका लागि न्यूक्लिअर रियाक्टर प्राप्त गरेको थियो
तस्बिरको क्याप्शन, आइजनहावर प्रशासनले घोषणा गरेको 'एटम्स फर पीस' कार्यक्रमअन्तर्गत भेनेजुएलाले एउटा अनुसन्धानका लागि न्यूक्लिअर रियाक्टर प्राप्त गरेको थियो

आइजनहावरको भाषणले आईएईएको स्थापनाको बीउ रोपेको थियो भने त्यहीँबाटै 'शान्तिका लागि परमाणु' अर्थात् 'एटम्स फर पीस' नामक अर्को अमेरिकी अवधारणा पनि अघि बढाइएको थियो।

त्यसपछिका केही वर्षहरूमा संयुक्त राज्य अमेरिकाले आफ्नो कानुनमा संशोधन गरेर परमाणु अस्त्र विकास नगर्ने प्रतिबद्धता जनाएका देशहरूमा परमाणु प्रविधि, सामाग्री र विज्ञता प्रदान गरेको थियो।

त्यसै योजनाअनुसार भेनेजुएलाले अमेरिकी कम्पनी जेनरल इलेक्ट्रिकबाट आर भी-१ परमाणु रियाक्टर प्राप्त गरेको थियो, जसको क्षमता ३ मेगावाट रहेको थियो। आईएईएका अनुसार संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले त्यसका लागि परमाणु इन्धन उपलब्ध गराएका थिए।

सन् १९६० को नोभेम्बर २२ मा समुद्घाटन भएको भेनेजुएलाको इन्स्टिट्यूट फर साइन्टिफिक रिसर्चमा उक्त रियाक्टर जडान गरिएको थियो र सन् १९९१ मा आंशिक रूपमा बन्द गरिनुअघि त्यसलाई अनुसन्धान रियाक्टरको रूपमा प्रयोग गरिएको थियो।

भेनेजुएलाका अधिकारीहरूका अनुसार त्यो सञ्चालन हुने इन्धन हाल्न प्रयोग भएको पाटपुर्जा हटाइएपछि सन् १९९७ मा उक्त रियाक्टर पूर्ण रूपमा बन्द भएको थियो। बाँकी सुरक्षित ढङ्गले निगरानीमा राखिएको थियो।

नीलो मसीमा दुईवटा ग्लोब र एउटा रिङ्ग देखिने एटम्स फर पीसको हुलाक टिकटको क्लोज अप तस्बिर
तस्बिरको क्याप्शन, रद्द गरिएको अमेरिकी 'एटम्स फर पीस' हुलाक टिकट

मदुरो पक्राउ परेपछि खुलेको बाटो

यूके सरकारले जनाएअनुसार सन् २०१७ बाटै भेनेजुएलाका अधिकारीहरूले बाँकी युरेनिअम हटाउन माग गर्दै पहिलो पटक अनुरोध गरेका थिए र त्यसलाई सम्भव तुल्याउन योजनाहरू चलिरहेको थियो।

तर यस वर्षको ज्यानुअरीमा तत्कालीन राष्ट्रपति निकोलास मदुरो पक्राउ परेपछि यो प्रक्रियाले गति लिएको जस्तो देखिन्छ।

भेनेजुएलाका अधिकारीहरूका अनुसार मदुरोलाई बन्धक बनाउने बेलामा गरिएको अमेरिकी हवाई हमलामा झन्डै उक्त रियाक्टर पनि निसानामा परेको थियो।

गत ७ मेमा भेनेजुएलाका विदेशमन्त्री इभान जीलले एउटा विज्ञप्तिमा उक्त कारबाहीले 'जोखिमको तह बढाएको र आपत्कालीन रूपमा' युरेनिअम हटाउनुपर्ने अवस्था निम्तिएको उल्लेख गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयले उक्त प्रक्रियाका लागि 'महिनौँको समय लागेको भन्दै' सुरुमा सोचिएकोभन्दा दुई वर्ष चाँडो त्यो सम्पन्न भएको उल्लेख गरेको छ।

प्वर्टो काबेल्योमा रोकिएको अवस्थामा प्यासिफिक इग्रेटको स्याटलाइट तस्बिर
तस्बिरको क्याप्शन, ब्रिटिश पानीजहाज प्यासिफिक इग्रेट चुपचाप भेनेजुएला प्रवेश गर्‍यो र त्यहाँबाट गोप्य रूपमा बाहिरियो

अमेरिकी अधिकारीहरूका अनुसार ब्रिटेनका परमाणु विज्ञहरूले भेनेजुएलाबाट अमेरिकाको साउथ क्यारलाइनास्थित सभाना रिभर साइट परमाणु केन्द्रमा स्थानान्तरण गर्ने कामको नेतृत्व गरेका थिए।

प्यासिफिक इग्रेट नामक मालवाहक पानीजहाज यो काममा प्रयोग गरिएको थियो। साउथ क्यारलाइनाको चार्ल्स्टनमा रोकिएको समयमा उक्त पानीजहाजले आफ्नो उपस्थितिको बिन्दु भूउपग्रहबाट सम्प्रेषित गर्न बन्द गरेको थियो। बीबीसी भेरिभाईले भूउपग्रहबाट लिइएका हाई रेजलूशनयुक्त तस्बिरका मद्दतले एक हप्तापछि सो पानीजहाज प्वर्टो काबेल्योमा रोकिएको अवस्थामा रहेको पुष्टि गरेको थियो।

मे ४ मा लिइएको तस्बिरमा प्यासिफिक इग्रेटलाई पहरा दिन तैनाथ गरिएको जस्तो देखिने अर्को पानीजहाजले पछ्याइरहेको देखिन्छ। मे ८ को अर्को तस्बिरले उक्त पानीजहाज चार्ल्स्टनको बन्दरगाहमा पुगेको देख्न सकिन्छ।

"त्यो एकदमै समन्वय गरिएको प्रयास थियो र हरेक पल कडा सुरक्षाका मापदण्डहरू अवलम्बन गरिएका थिए," यूकेको अफिस फर न्यूक्लिअर रेग्यलेशनले भनेको छ।

आईएईएको लोगो अङ्कित सिसामा गगनचुम्बी भवनहरूको छाया

यो अत्यन्तै जटिल र सावधानीपूर्ण योजना गरिएको कारबाही थियो, जुन एउटा बृहत् प्रक्रियाको हिस्सा हो।

सन् १९६० र सन् १९७० को दशकमा निर्माण गरिएका अधिकांश अनुसन्धान रियाक्टरहरूका लागि अति प्रशोधित युरेनिअमको आवश्यकता पर्छ। तर अहिले त्यस्तै खालका अनुसन्धानहरू कम प्रशोधित युरेनियम अर्थात् युरेनिअम २३५ को मात्रा २० प्रतिशतभन्दा कम हुँदा पनि सम्भव हुन्छन्।

आईएईएले विश्वव्यापी रूपमा १०० वटा अनुसन्धान रियाक्टर र चिकित्सकीय आइसटोप उत्पादन केन्द्रहरूले उच्चप्रशोधित युरेनिअमको सट्टा कम प्रशोधित युरेनियम प्रयोग गर्ने गरेका वा ती बन्द भएका उल्लेख गरेको छ। झन्डै १,१०२ पत्थर (७,००० केजी) उच्चप्रशोधित युरेनिअमलाई उनीहरूलाई प्राप्त गरेकै देशमा फर्काइएको वा नष्ट गरिएको जनाइएको छ।

विद्युत् उत्पादन गर्न प्रयोग गरिने परमाणु शक्तिसहितका रियाक्टरहरू कम प्रशोधित युरेनिअमबाट सञ्चालन हुने गर्छन्।

बीबीसी भेरिफाईबाट थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।