राजाका छोरा २७ वर्षपछि निर्वासनबाट फर्किँदा थाईल्यान्ड तरङ्गित

वाचरेसोर्न वाचरोङ
तस्बिरको क्याप्शन, वाचरेसोर्न वाचरोङ थाई राजाका माइला छोरा हुन्
    • Author, जोनाथन हेड
    • Role, बीबीसी न्यूज, ब्याङ्कक
  • Published

देशमा नयाँ सरकार गठन गर्ने सन्दर्भमा जारी खिचातानीको समाचार सुनिरहेका थाई नागरिकहरूको ध्यान यो साता एउटा अलि भिन्न घटनातिर आकृष्ट भएको छ। संयुक्त राज्य अमेरिकाबाट २७ वर्षपछि पहिलो पटक आफ्नो जन्मथलो फर्किएका एक वकिलबारे अहिले त्यहाँ चर्चा र चासो उत्पन्न भएको छ।

बयालीस वर्षीय वाचरेसोर्न वाचरोङ थाई राजा महा वाचिरालोङ्कोर्नका माइला छोरा हुन्। थाई राजाका चार छोराहरू उनीसँग बस्दैनन्। वाचरेसोर्न वाचरोङ तिनैमध्ये हुन्। चारै जनाको शाही उपाधि खोसिएको र उनीहरूलाई थाई राजगद्दीको उत्तराधिकारी नमानिएको ठानिन्छ।

राजाकी जेठी छोरी राजकुमारी पचरगीतियापा उनकी उत्तराधिकारी बन्न सक्ने ठानिन्थ्यो। तर गत डिसेम्बरमा अकस्मात् मूर्च्छित भएपछि थाई राजगद्दीको विषय अप्ठ्यारोमा परेको छ। उनी अझै मूर्च्छित छिन् र पूर्णतः निको हुन सम्भावना कम देखिन्छ।

थाईल्यान्डमा वर्षौँदेखि राजाले आफ्ना कुनै एक छोरालाई फिर्ता बोलाउने र शाही भूमिका निर्वाह गर्न लगाउन सक्ने विषयबारे चर्चा हुँदै आएको छ।

वाचरोङको अघोषित भ्रमण उक्त प्रक्रियाको थालनी हुनसक्छ।

यद्यपि राजदरबारले यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन।

को हुन् वाचरेसोर्न वाचरोङ?

वाचरेसोर्न वाचरोङ
तस्बिरको क्याप्शन, वाचरेसोर्न वाचरोङले ब्याङ्ककस्थित बौद्ध मन्दिरको पनि भ्रमण गरे

वाचिरालोङ्कोर्न र उनकी दोस्री पत्नी सुचारिनीबाट पाँच सन्तान जन्मिएका थिए।

तीमध्ये वाचरेसोर्न वाचरोङ माइला हुन्।

सुचारिनी पूर्वअभिनेत्री हुन्। उनको तात्कालिक युवराज र अहिलेका राजा वाचिरालोङ्कोर्नसँग सन् १९९६ मा सम्बन्धविच्छेद भएको थियो।

त्यतिबेला वाचरेसोर्न वाचरोङसहित चार दाजुभाइ यूकेस्थित विद्यालयमा पढ्थे।

आमा र बुवाको सम्बन्धविच्छेद भएपछि उनीहरू आमासहित देशनिकालामा परे। उनीहरू संयुक्त राज्य अमेरिकामा बस्न थाले।

वाचरेसोन वाचरोङले एउटा बालस्याहार केन्द्रको भ्रमण गरेका थिए
तस्बिरको क्याप्शन, वाचरेसोन वाचरोङले एउटा बालस्याहार केन्द्रको भ्रमण गरेका थिए

उनकी कान्छी बहिनी सिरिवन्वरीलाई भने बुवासँग बस्न थाईल्यान्ड फिर्ता ल्याइएको थियो।

विगतमा चार दाजुभाइले बेलाबखत आफ्ना बुवासँग मेलमिलाप र थाईल्यान्ड फर्किने अनुमतिका लागि आग्रह गर्दै पत्रहरू प्रकाशित गर्दै आएका थिए। तर त्यसको कुनै प्रभाव परेको देखिँदैनथ्यो।

थाईल्यान्डमा के गर्दै छन्?

वाचरेसोर्न वाचरोङ थाई राजा महा वाचिरालोङ्कोर्नका छोरा हुन्
तस्बिरको क्याप्शन, वाचरेसोर्न वाचरोङ अमेरिकामा बस्छन्

थाईल्यान्ड आएपछि वाचरोङले सुरुका केही पर्यटकले जसरी घुमेर बिताए।

ब्याङ्कक सहर घुम्ने क्रममा उनले मन्दिरहरूमा दर्शन गरे, थाई परिकार चाखे र टुकटुक भनिने तीनपाङ्ग्रे सवारीसाधन चढे।

पत्रकारहरूसँग कुरा गर्दै उनले स्वदेश फर्किँदा आफ्नो सपना साकार भएको बताए।

उनी औपचारिकजस्तो देखिने कार्यक्रममा पनि सहभागी भए।

उनले बौद्ध सङ्घका सर्वोच्च संरक्षक तथा थाईल्यान्डका सबैभन्दा ठूला धार्मिक व्यक्तित्वसँग भेटघाट गरे अनि राजदरबारले आर्थिक सहायता उपलब्ध गराएको एउटा बालस्याहार केन्द्रको भ्रमण गरे।

थाईल्यान्डमा बौद्ध सङ्घका सर्वोच्च संरक्षक राजाबाट नियुक्त हुन्छन्।

धेरै थाई नागरिकले यी गतिविधिलाई उनी शाही उत्तरदायित्व वहन गर्ने भूमिकामा फर्किन सक्ने सङ्केत मानेका छन्।

कस्तो छ वाचरेसोर्न वाचरोङको छवि?

अमेरिकामा बस्ने चार दाजुभाइमध्ये वाचरेसोर्न वाचरोङ सर्वाधिक परिचित छन्।

उनी थाई समुदायमा निकै सक्रिय देखिन्छन् र थाई राजतन्त्रको खुलेर समर्थन गर्छन्।

राजपरिवारमा शाही उत्तरदायित्व वहन गर्न उनलाई सबैभन्दा उपयुक्त र इच्छुक व्यक्ति मानिन्छ।

थाई राजकुमारी
तस्बिरको क्याप्शन, राजकुमारी पचरगीतियापा राजगद्दीकी उत्तराधिकारी बन्न सक्ने ठानिन्थ्यो (फाइल तस्बिर)

गत वर्ष अचेत नहुँदासम्म राजकुमारी पचरगीतियापालाई थाईल्यान्डमा बसोबास गर्ने राजसन्ततिमध्ये सर्वाधिक उपयुक्त पात्र मानिन्थ्यो।

उनी वकिल हुन्। उनले संयुक्त राष्ट्रसङ्घ र अस्ट्रियाका लागि थाई राजदूतको भूमिका निर्वाह गरिसकेकी छन्।

राजाका कान्छा छोरा राजकुमार थिपङ्कोर्न १८ वर्षका छन्। उनी लेखपढ गर्न कठिन हुने समस्याबाट पीडित भएको ठानिन्छ।

पिताको मृत्यु भएपछि राजकुमारी पचरगीतियापाले राज्यसहायक भई वा आफैँ राजगद्दीमा बसी शासन गर्ने अनुमान गरिएको थियो।

थाईल्यान्डमा उत्तराधिकारसम्बन्धी कानुनले राजालाई आफ्नो उत्तराधिकारी छान्ने अधिकार दिएको छ। तर राजा महा वाचिरालोङ्कोर्नले अहिलेसम्म आफ्नो उत्तराधिकारी छानेका छैनन्।

को बन्ला थाई राजाको उत्तराधिकारी?

वाचरोङ अमेरिकामा सफल र चर्चित व्यक्तिका रूपमा स्थापित छन्।

के राजाको उत्तराधिकारी बन्न उनी उपयुक्त पात्र प्रमाणित होलान् त? यसबारे केही भन्न निकै हतार हुन्छ।

उनको यो भ्रमणलाई त्यसबारे जाँच गर्ने पहिलो कदम मानिने छ।

फेरि पछि पनि थाईल्यान्ड भ्रमणमा आउँदा उनीप्रति सर्वसाधारणको दृष्टि कस्तो हुन्छ अनि थाई राजदरबारको कडा शिष्टाचार र जटिल राजनीतिले कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी नै छ।

आफ्नो ७१औँ जन्मदिनको अवसरमा थाई राजा
तस्बिरको क्याप्शन, राजा महा वाचिरालोङ्कोर्नले गत महिना आफ्नो ७१औँ जन्मदिन मनाए

यस विषयमा राजा वाचिरालोङ्कोर्नको धारणा थाहा पाउन असम्भवप्रायः छ।

उनको भित्री घेरामा मानिसहरू अकस्मात् भित्रिने र बाहिरिने गरेको देखिन्छ। कहिलेकाहीँ केही मानिसहरू सार्वजनिक जीवनबाट हराएका पनि छन्।

राजाका यी छुट्टिएका छोरालाई फिर्ता ल्याउने प्रयास जसले गरेका छन् तिनले यो सतर्कतापूर्वक नै गरेको हुनुपर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।