भारत र पाकिस्तानमा तापक्रम ५० डिग्री सेल्सिअस नजिक पुग्दा...

भारत गर्मी
Published

भारत र पाकिस्तानका कतिपय भागमा केही समय यता चलिरहेको तातो हावाको लहरले दैनिक जीवनलाई असामान्य बनाइरहेको छ।

बिहीवार उत्तर भारतमा तापक्रम ४५ डिग्री सेल्सिअसभन्दा माथि पुग्यो भने राजस्थान राज्यको बरमर सहरमा त्यसले ४८.८ डिग्री सेल्सिअस छुन पुग्यो।

पाकिस्तानमा पनि पञ्जाब र सिन्ध प्रान्तमा अवस्था खराब रहेको अधिकारीहरूले बताएका छन्।

भारत गर्मी

भारतीयहरू के भन्छन्?

भारतको मौसम विभागले तातो हावाको लहर आउँदो बुधवारसम्म जारी रहन सक्ने जनाएको छ।

ऊर्जा खपत ह्वात्तै बढेपछि कैयौँ क्षेत्रमा पानी र विद्युत् अभाव देखा परेको छ।

भारत गर्मी

बुधवार दिल्लीमा ऊर्जा माग उच्च विन्दु अर्थात् ८ हजार मेगावाट पुग्यो जुन भारतको राजधानीको अहिलेसम्मकै सर्वाधिक हो।

दिल्लीमा यस साताभर ४५-४६ डिग्री सेल्सिअसबीच तापक्रम रहिरहँदा उखरमाउलो गर्मी महसुस गरिएको छ।

भारत गर्मी
कश्मीरजस्ता हिमाली राज्यमा समेत यसपटक तापक्रम बढेको छ
तस्बिरको क्याप्शन, कश्मीरजस्ता हिमाली राज्यमा समेत यसपटक तापक्रम बढेको छ

जलवायु विज्ञहरूले उच्च आर्द्रताका कारण मानिसहरूले अनुभव गरिरहेको तापक्रम ५० डिग्री नाघेको बताउँछन्।

दिल्लीका अस्पतालहरूमा तापक्रमसँग जोडिएका बिरामीको उपचार गर्ने विशेष सुविधा थपिएका छन्। त्यस्ता विरामीको सङ्ख्या समेत बढिरहेको बताइन्छ।

दिल्लीका चिडियाखानामा जनावरहरूलाई सुरक्षित राख्न यसपटक थप उपायहरू चालिएको बताइएको छ
तस्बिरको क्याप्शन, दिल्लीका चिडियाखानामा जनावरहरूलाई सुरक्षित राख्न यसपटक थप उपायहरू चालिएको बताइएको छ

विज्ञापन सम्बन्धी क्षेत्रमा काम गर्ने रोहित नइर, ३४, ले गर्मी असह्य भएको बताउँछन्।

"म दिनभर थकित महसुस गर्छु। यो वर्ष दिल्ली उम्लिरहेको छ," उनी भन्छन्।

श्रमिकहरू चर्को गर्मीबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पर्छन्
तस्बिरको क्याप्शन, श्रमिकहरू चर्को गर्मीबाट सबैभन्दा धेरै प्रभावित हुनेमा पर्छन्
भारत गर्मी

नइरले दिउसोमा घरबाहिर ननिस्कने गरे तापनि घरभित्र समेत असहज बनेको सुनाउँछन्।

उनी भन्छन्: "एअर कन्डिसनर नखोलीकन बस्न असम्भव छ।"

पाकिस्तानको अवस्था कस्तो छ?

पाकिस्तान

चरम तापक्रमले दक्षिण एशियाको अर्को देश पाकिस्तानमा पनि असर पुर्‍याइरहेको छ।

पाकिस्तानका कतिपय ठाउँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने अपेक्षा गरिएको छ।

पञ्जाब र सिन्ध प्रान्तमा सबैभन्दा बढी असर देखिएको छ।

पाकिस्तानको ग्रामीण क्षेत्रको एक दृश्य
तस्बिरको क्याप्शन, गर्मीले पाकिस्तानको ग्रामीण क्षेत्रमा पनि असर पारिरहेको छ

पञ्जाबमा निर्धारित समयभन्दा एक हप्ताअघि नै गर्मीको बिदा सुरु हुन लागेको छ।

तर परीक्षालाई भने नियमित अवधिमा नै सञ्चालन गरिने अधिकारीहरूले जनाएका छन्।

मानिसहरूलाई दिनमा सबैभन्दा तातो हुने समयमा घरभन्दा बाहिर ननिस्कन भनिएको छ।

कस्तो सजगता आवश्यक?

गर्मी

चिकित्सकहरूका अनुसार खुला अवस्थामा रहेर काम गर्नुपर्ने श्रमिक, कृषक र साना तथा खुद्रा व्यवसायीहरू तातो हावाको लहरबाट बढी प्रभावित हुने गरेका बताउँछन्।

उनीहरू तातो हावा चल्ने जोखिमसहित चेतावनी जारी गरिएका ठाउँमा सम्भव भएसम्म मध्यदिनको घाममा बाहिरी वातावरणमा काम नगर्न सुझाउँछन्।

विज्ञहरूका भनाइमा तातो हावाले मुख्यतया डिहाइड्रेट अर्थात्‌ शरीरमा पानी/इलेकस्ट्रोलाइटको मात्रा कम गराउँछ। त्यस्तो असन्तुलनले मानिसमा थकान महसुस गर्ने लैजाने गर्छ।

त्यस्तो अवधि जति लामो समय रह्यो त्यति समस्याहरू सिर्जना हुने बताइन्छ।

ब्रिटेनको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले तातो दिनमा घरभित्रकै अवस्थाका लागि समेत सजगता अपनाउनुपर्ने उल्लेख गरेको छ।

जसमा भनिएको छ: "निकै तातो दिनमा यदि घरभित्र हुनुहुन्छ भने पर्दा बन्द गर्नुहोस्। तपाईँको घरभित्र भन्दा बाहिर तातो छ भने झ्यालहरू बन्द गर्नुहोस् र घरमा रहेका तापक्रम बढाउने विद्युतीय उपकरण र बत्तीहरू बन्द गर्नुहोस्।"

गर्मी

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।