हलिवुडकी यी 'वन्डर वुमन' जसले श्रवण क्षमता नभए पनि आफ्नो प्रभावशाली उपस्थिति जनाइन्

किटी ओ'नील
    • Author, निक एरिक्सन
    • Role, हिस्ट्रिज टफेस्ट हिरोज, बीबीसी रेडिओ ४
  • Published
  • पढ्ने समय: ५ मिनेट

संयुक्त राज्य अमेरिकाको एक निर्जन मरुभूमिमा भएका केही घटनाहरूले कान सुन्न नसक्ने 'स्टन्ट वुमन' किटी ओ'नीलको वास्तविक क्षमता कति अद्भुत छ भनेर विश्वलाई नै देखाइदिए।

पहेँलो रङ्गको जम्पशूट लगाएर यी सानी कदकाठीकी महिलाले जमिनमा सबैभन्दा तेज गतिमा सवारी साधन चलाएर हासिल गरेको रेकर्ड तोडिदिइन्। र त्यो सँगै ओ'नीलको क्षमता उनको कमजोर श्रवण शक्तिका कारण साँघुरिएको छ भन्ने गलत धारणाहरूलाई पनि उनले झुठो साबित गरिदिएकी थिइन्।

सन् १९७० को दशकमा हलिवुडमा एक प्रतिभाका रूपमा उदाएकी यी महिलाले बाल्यकालमै विभिन्न बाजा बजाएर अपाङ्गता भएका बालबालिकाहरूबारे कायम पूर्वाग्रही धारणाहरूलाई चुनौती दिइसकेकी थिइन्।

त्यति बेला थोरै महिलाहरू मात्र 'खतरनाक' स्टन्ट देखाउँथे र उनीहरू टेलिभिजन दर्शकहरूमाझ लोकप्रिय थिए। सुन्न नसक्ने भए पनि मानव गतिलाई चुनौती दिने महत्त्वाकाङ्क्षालाई ओ'नीलले सफल करिअरमा बदलेकी थिइन्। उनी 'स्टन्ट्स अन्लिमिटेड' नामक व्यावसायिक समूहमा सामेल हुने सुरुवाती महिलाहरूमध्ये एक थिइन्।

फलतः उनको जीवनबारे एउटा चलचित्र नै बनेको थियो भने विशेष टेलिभिजन कार्यक्रमहरूमा उनको चर्चा भएको थियो।

जमिनभन्दा ५४ मिटर माथि रहेको हेलिकप्टरबाट हाम फाल्ने तयारीमा किटी ओ'नील
तस्बिरको क्याप्शन, जमिनभन्दा ५४ मिटर माथि रहेको हेलिकप्टरबाट हाम फाल्ने तयारीमा किटी ओ'नील

जसले हार मानिनन्

सन् १९४६ मा अमेरिकाको टेक्ससमा जन्मिएकी ओ'नील पाँच महिनाकी हुँदा एकदमै बिरामी परिन्। उनलाई धेरै ज्वरो आयो।

काखे छोरीको ज्यान जोगाउने उद्देश्यले उनकी आमाले उनको शरीरलाई बरफले ढाकिदिइन्। सम्भवतः यसकै कारण उनको ज्यान बच्यो।

तर उमेर बढ्दै गए पनि किटीले बोल्न र कुराकानी गर्न थालिनन्। उनका आमाबुवाले बिमारमै कारण उनको श्रवणशक्ति गुम्यो भन्ने बुझे।

आमा प्याट्सीले आफ्नी छोरीलाई साङ्केतिक भाषा सिकाउन पनि मानिनन्। त्यति बेला साङ्केतिक भाषालाई हेयभावले हेरिन्थ्यो।

यद्यपि आफ्नी छोरीले कुराकानी गर्न नसक्ने भएकै कारण कसैले नहेपोस् भन्ने कुरामा पनि उनी दृढ थिइन्। त्यसले उनले किटीलाई 'ओठले पढ्ने' (लिप रिडिङ) असामान्य विधि सिकाइन्।

'वन्डर वुमन'का लागि स्टन्ट देखाउने क्रममा होटेलको बाल्कोनीमा किटी ओ'नील
तस्बिरको क्याप्शन, 'वन्डर वुमन'का लागि स्टन्ट देखाउने क्रममा किटी ओ'नीलले होटेलको बाल्कोनीबाट हाम फालेको दृश्य चर्चित भएको थियो

"उनकी आमा किटीको हात समाएर उनको स्वरनलीबाहिर राखिदिन्थिन्,"ओ'नीलका एक निकटतम मित्र रहेका स्टन्टम्यान काई माइकल्सन् भन्छन्, "अनि उनी दोहोर्‍याई-तेहर्‍याई चर्को स्वरमा ती शब्दहरू उच्चारण गर्थिन्।"

किटीलाई विद्यालयमा साथीहरूले जिस्काउँथे। जबाफमा उनीहरूको प्रतिरोध गर्न आमाले सुझाएकी थिइन्। किटी पनि त्यसै गर्थिन्।

हाल 'ईएसपीएन' खेलकुद वेबसाइटकी उपसम्पादक रहेकी एरिका गुड्म्यान ह्यूईका अनुसार कम्पनको आवृत्तिमा हुने परिवर्तन महसुस गर्न लगाएर आमाले किटीलाई चेलो र पियानो बाजा पनि बजाउन सिकाइन्।

माइकल्सन्‌का अनुसार किटी कम्पनकै आधारमा कारको रेडिओमा बजेको गीत समेत चिन्न सक्ने भएकी थिइन्। किटीले एक पटक उनलाई बीटल्सको गीत बजिरहेका बेला आफू उक्त ब्यान्डको प्रशंसक रहेको समेत बताएकी थिइन्।

सन् १९७० को लोकप्रिय टेलिभिजन शृङ्खला 'वन्डर वुमन'मा अभिनय गरेकी लिन्डा कार्टर
तस्बिरको क्याप्शन, सन् १९७० को लोकप्रिय टेलिभिजन शृङ्खला 'वन्डर वुमन'मा अभिनय गरेकी लिन्डा कार्टरका लागि पनि किटी ओ'नीलले स्टन्ट गरिदिएकी थिइन्

प्रारम्भिक जीवन

किटी ११ वर्षकी हुँदा उनका बाबुको विमान दुर्घटनामा निधन भएको थियो। तर त्यसभन्दा अगाडि उनको घाँस काट्ने यन्त्र 'लनमोअर'मा बस्दाको उत्साह किटीले कहिल्यै बिर्सिनन्।

त्यसपछि उनी 'डाइभिङ'मा प्रतिस्पर्धा गर्न थालिन्। त्यसमा पनि उनले उत्कृष्टता हासिल गरिन्।

सन् १९६४ को टोकियो ओलम्पिक्सका लागि अभ्यास गर्नुभन्दा केही समयअघि उनको नाडी भाँच्चियो र उनलाई 'स्पाइनल मेनन्जाइटिस' पनि भयो।

निको भइसक्दा उनमा खेलका लागि कुनै उत्साह बाँकी थिएन। "त्यसबेला उनले यो आफूले चाहेजस्तो डरलाग्दो नभएको बताइन्," गुडम्यान भन्छिन्।

आगो लगाइएको दृश्यमा स्टन्ट देखाउँदै किटी ओनील
तस्बिरको क्याप्शन, आगो लगाइएको दृश्यमा समेत स्टन्ट देखाउन पनि किटी ओनीलले आफू डराएको जस्तो भाव नदेखाएको उनका साथीहरू बताउँछन्

त्यसैले १६ वर्षको उमेरमा उनले स्काईडाइभिङ र वाटरस्कीइङ्ग खेल्न थालिन्। तिनमा उनले महिलाका नाममा रहेका विभिन्न कीर्तिमान भङ्ग गरिन्। कठिन तथा खतरनाक 'रेस'हरूमा उनले मोटरबाइक कुदाइन्।

मृत्युको जोखिम उनका लागि रमाइलोको एउटा अंश थियो। तर एकपटक उनले मोटरबाइकमा नियन्त्रण गुमाउँदा गम्भीर दुर्घटना भएको थियो।

त्यसमा उनले हातको एउटा ‍‍औँला गुमाइन्। तर उनका साथीहरूले सम्झिएअनुसार यसले पनि किटीलाई खासै असर गरेन।

उनले पञ्जाले चोट छोपेर मोटरबाइक कुदाइरहन खोजेकी थिइन्। अस्पतालन जान भने उनी बल्लतल्ल सहमत भइन्।

उनका सबैभन्दा चर्चित स्टन्टहरू

'वन्डर वुमन' टेलिभिजन शृङ्खलाकी अभिनेत्री लिन्डा कार्टरका लागि किटी ओ'नीलले गरिदिएका विभिन्न प्रकारका स्टन्टहरूले विभिन्न कारणले चर्चा कमाए।

कहिले उनी हेलिकप्टरमा झुन्डिएकी देखिइन् भने कहिले क्यालिफोर्नियाको होटेलबाट १२० फीट तल हाम फालिन्। "हो, [उनी] नारीत्वको प्रतिनिधित्व गर्दै थिइन्... हामी जेलाई नारीसुलभ शक्ति मान्थ्यौँ, त्यसलाई पनि अभिव्यक्त गर्दै थिइन्," गुडम्यान-ह्यूई भन्छिन्।

त्यस बेला 'पीपल' म्यागजीनलाई ओ'नीलले भनेकी थिइन्, "म पुरुषहरूसँग प्रतिस्पर्धा गर्न खोजिरहेकी छैन। म खालि मेरो आफ्नै काम गर्न खोज्दै छु।"

किटी ओ'नील र उनका प्रथम पति, ब्याङ्क कर्मचारी तथा स्टन्टम्यान डफी ह्याम्बल्टन
तस्बिरको क्याप्शन, किटी ओ'नील र उनका प्रथम पति, ब्याङ्क कर्मचारी तथा स्टन्टम्यान डफी ह्याम्बल्टन

एउटा विशेष टेलिभिजन कार्यक्रमका लागि आगोमा जलिरहेका बेला हाम फालेर पनि उनले कीर्तिमान तोडेकी छन्। साथै उनले प्रतिघण्टा ४४३ किमिको गतिमा जेट बोट चलाएकी पनि छिन्।

"म यदि उनीसँग हिँडिरहेको हुन्थेँ भने उनी मभन्दा १० पाइला अगाडि पुगिसकेकी हुन्थिन्," माइकल्सन भन्छन्।

सन् १९७६ मा किटी ओ'नीललाई 'एसएमआई मोटिभेटर' नामक प्रयोगात्मक चरणमा रहेको कार चलाउन लगाइयो। यो कार हाइड्रोजन पेरोक्साइड इन्जिनले चल्थ्यो र ४८,००० हर्सपावर शक्ति निकाल्न सक्थ्यो। त्यसका लागि आयोजकहरूसँग गरिएको सम्झौतामा उनले ४८३ किमि प्रतिघण्टाको महिला चालकको कीर्तिमान भङ्ग गर्ने प्रयास गर्ने उल्लेख गरिएको थियो।

तर सियोजस्तो आकृतिको उक्त कारमा चम्किलो पहेँलो जम्पशूट लगाएर बसेकी किटी ओ'लीलले ९८८ किमि प्रतिघण्टाको गतिमा कार चलाइन्। ।

किटी ओ'नील
तस्बिरको क्याप्शन, किटी ओ'नीलले आजीवन सीमा र पूर्वाग्रहहरूलाई चुनौती दिइन्

त्यसपछि उनले पुरुषको कीर्तिमान पनि भङ्ग गर्न चाहिन्। तर केही प्रायोजकहरूले उनलाई त्यसो गर्नु वाञ्छनीय नहुने भन्दै रोकेको बताइएको छ।

यसैबीच उनले स्पीडबोटको गतिको कीर्तिमान पनि भङ्ग गरिन्।

"मैले जीवनमा त्यसअघि अलिकति पनि डर नभएको कोही भेटेकै थिइनँ," माइकल्सन् भन्छन् , "तर उनमा डर थिएन। हुन त यो त्यति राम्रो कुरा होइन।"

बीबीसी रेडिओ ४ को 'किटी ओ'नील : हलिवुडकी वास्तविक वन्ड विमन' कार्यक्रममा आधारित

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।