देशको प्रजातन्त्रका लागि 'सङ्घर्ष जारी राख्ने' भेनेजुएलाका निर्वासित विपक्षी नेताको वाचा

भेनेजुएलाका विपक्षी नेता एडमुन्डो गन्जालिज
Published
पढ्ने समय: ३ मिनेट

स्पेनमा शरण पाएका भेनेजुएलाका विपक्षी नेता एडमुन्डो गन्जालिजले आफ्नो देशको प्रजातन्त्रका लागि "सङ्घर्ष जारी राख्ने" वाचा गरेका छन्।

गत जुलाईको आमनिर्वाचनमा राष्ट्रपति निकोलास मदुरोलाई चुनौती दिएका गन्जालिजले गत आइतवार देश छाडेका थिए।

कराकस स्थित स्पेनी दूतावासमा एक सातासम्म लुकेर बसेका उनी सोमवार म्याड्रिड पुगेका छन्।

गन्जालिज सहित कैयौँ अन्तर्राष्ट्रिय समुदायले अस्वीकार गरेको जुलाईको निर्वाचन परिणामको विषयलाई लिएर देशमा अशान्ति सुरु भए पछि ७५ वर्षका नेताले देश छोडेका थिए।

एडमुन्डो गन्जालिज
तस्बिरको क्याप्शन, एडमुन्डो गन्जालिज

बिहीवार भेनेजुएलाका विपक्षी नेता मारिआ कोरिना मचाडोले विश्वभरका देशहरूलाई गन्जालिजलाई उनले प्रतिस्पर्धा गरेको निर्वाचनको विजेताका रूपमा स्विकार्न आह्वान गरेकी थिइन्।

विपक्षीहरूले मतको विस्तृत बाँडफाँड प्रस्तुत गरेका छन् जसमा गन्जालिजले ठूलो अन्तरले जित हासिल गरेको देखाउँछ।

एकजना विपक्षी राजनीतिज्ञ पाओला बाउटिस्टा डे अलेमानले गन्जालिजको देश छाड्दैमा उनले निर्वाचन जितेको तथ्य नफेरिने जनाइन्।

जुलाईमा भएको राष्ट्रपतीय निर्वाचनको नतिजालाई विपक्षीहरूले विवादित बताएसँगै गन्जालिज लुकेर बसिरहेका थिए। उनका लागि पक्राउ पुर्जी समेत जारी गरिएको थियो।

तर सो निर्वाचनमा सरकार नियन्त्रित न्याश्नल इलेक्ट्रोरल काउन्सिलले मदुरोलाई विजेता घोषणा गरेको थियो।

स्पेन के भन्छ?

हाल आर्जेन्टिनाको दूतावासमा राष्ट्रपति मदुरोका छजना राजनीतिक प्रतिद्वन्द्वीहरूले आश्रय लिइरहेका छन्

स्पेनका विदेश मन्त्री होसे म्यानुअल अल्बरिसले गन्जालिज आफू स्वयंको आग्रहपछि स्पेनको वायु सेनाको विमानले भेनेजुएलाबाट ल्याएको बताए।

उनले सबै भेनेजुएलाका नागरिकको राजनीतिक अधिकारका लागि स्पेन सरकार प्रतिबद्ध रहेको बताए।

एल पाइस पत्रिकाका अनुसार गन्जलिजलाई स्पेनमा राजनीतिक शरण दिइएको छ।

गन्जलिजका वकिलले एएफपी समाचार संस्थासँगको कुरा गर्दै उनी स्पेन जानका लागि देश छाडेको पुष्टि गरे तापनि त्यसबारे थप जानकारी दिएनन्।

उनले देश छाड्ने क्रममा भेनेजुएलाका सुरक्षा बलले राजधानी कराकसमा आर्जेन्टिनाको राजदूतावास घेरेका थिए।

उक्त दूतावासमा राष्ट्रपति मदुरोका छजना राजनीतिक प्रतिद्वन्द्वीहरूले आश्रय लिइरहेका छन्।

भेनेजुएलाको विदेश मन्त्रालयले दूतावासभित्र आतङ्कवादी गतिविधिको योजना बनिरहेको आरोप लगाएको छ।

'त्रासको वातावरण'

मदुरो
तस्बिरको क्याप्शन, राष्ट्रपति मदुरो

अधिकारीहरूले २८ जुलाईमा भएको आमनिर्वाचनमा राष्ट्रपति मदुरोलाई विजेता घोषित गरेसँगै भेनेजुएला राजनीतिक सङ्कटमा छ।

विपक्षीहरूले गन्जालिजले सहज अन्तरले जितेको प्रमाण आफूहरूसँग भएको दाबी गरेका छन्।

उनीहरूले इन्टरनेटमा राखेको मतको विस्तृत गणनामा समेत गन्जालिजले सहज रूपमा मदुरोलाई पराजित गरेको देखिन्छ।

अमेरिका, युरोपेली सङ्घ र कैयौँ ल्याटिन अमेरिकी देशहरूसहितका विभिन्न राष्ट्रहरूले कराकसले मतदानको विस्तृत विवरण सार्वजनिक नगर्दासम्म मदुरोलाई राष्ट्रपतिका रूपमा मान्यता नदिने बताएका छन्।

राष्ट्रपति मदुरोको सरकारले उक्त निर्वाचनयता २,४०० भन्दा धेरै मानिसहरूलाई पक्राउ गरेको छ।

त्यसले उक्त देशमा "त्रासको वातावरण" सिर्जना गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।