के डेटिङहरू निरस हुन थालेका हुन्?

अनलाइन डेटिङ एपहरूमा कमी हुँदै गएको छ
तस्बिरको क्याप्शन, एउटा सर्वेक्षणले जनाएअनुसार १८ वर्षमाथिका करिब आधा अमेरिकीहरू पछिल्लो दशकमा डेटिङ झन् चुनौतीपूर्ण बन्दै गएको बताएका छन्
    • Author, अज्के ओज्डमेअर
    • Role, बीबीसी न्यूज टर्किस
  • Published
  • पढ्ने समय: ५ मिनेट

टर्कीको राजधानी इस्तानबुलकी एक ३४ वर्षीया हाजल सिरिनका लागि डेटिङ भनेको रोलर कोस्टर चढ्नु जस्तै अर्थात् निकै उतारचढावपूर्ण कुरा हो।

"तपाईँ धेरै अपेक्षाहरू एवं खुशीका साथ शुरूवात गर्नुहुन्छ र पछि निराशा आउँछ," उनी भन्छिन्। "यो सबैको कथा हो।"

हाजलका अनुसार उनी चार वर्षदेखि एक्लै छिन् र त्यसयता सक्रिय रूपमा उनले प्रेमी खोजिरहेकी छिन्। तर डेटिङहरूमार्फत् उनको प्रयास सफल हुन सकेको छैन।

त्यस्तै दिक्कलाग्दो अनुभव आफ्ना साथीहरूले पनि आफूसँग साझा गर्ने गरेको उनी बताउँछिन्।

केही समयसम्म डेटिङ गरिसकेपछि कतिपय मानिस साँच्चिकै रुचि देखाउन अथवा ख्याल गर्न विफल हुन्छन्।

केही पनि नभनीकन अचानक टाढिने घटना आफूसँग कैयौँ पटक भएको बताउने उनी त्यस्तो कदमलाई नबुझ्ने अथवा समानुभूति नभएको रूपमा लिन्छिन्।

आफ्ना डेटिङ अनुभवबाट असन्तुष्ट हाजल केही मानिस मात्रै साँच्चिकै सम्बन्ध स्थापनाका लागि प्रतिबद्ध हुन्छन् भन्ने कुरामा ढुक्क भएकी छिन्।

तनावमा देखिएकी एक युवती
तस्बिरको क्याप्शन, डेटिङ् तनावपूर्ण हुँदै गएको युवाहरू बताउँछन्

कफी पसलमा होओस् कि सामाजिक सञ्जालमा; डेटिङबारे निराशा व्यक्त गर्ने क्रम आधुनिक जीवनमा दैनिक कुराकानीको एउटा महत्त्वपूर्ण चर्चाको विषय बन्ने गरेको छ।

सन् २०१९ मा पीयू रिसर्च सेन्टरले गरेको एउटा सर्वेक्षणले जनाएअनुसार १८ वर्षमाथिका करिब आधा अमेरिकीहरू पछिल्लो दशकमा डेटिङ झन् चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

त्यस्तो हुनुका पछाडि उल्लेख गरिएका कारणमा प्रविधि र डेटिङ प्लेटफर्महरूको बढ्दो प्रयोग, शारीरिक र मानसिक जोखिम, डेटिङ अनात्मीय हुँदै जानु, आकस्मिक प्रकृतिका हुनु र सामाजिक अपेक्षाहरू बदलिनु, नैतिक अथवा लैङ्गिक भूमिकाहरू रहेका छन्।

उक्त सर्वेक्षणको नतिजाअनुसार अधिकांश मानिसहरू डेटिङबाट असन्तुष्ट पाइएका छन् र सम्भावित प्रेमी वा प्रेमिका पाउन गाह्रो हुने गरेको बताएका छन्।

डेटिङ एपहरूमा कमी

नयाँ मान्छेहरूबीच मिलजुल गराउने दाबी गर्ने गरेका डेटिङ एपहरूले शुरूवाती चरणका आकर्षण गुमाउँदै गएका छन्।

उदाहरणका लागि टिन्डरको वार्षिक डाउनलोड सन् २०१४ मा उच्च रहेको बेलाको भन्दा एक तिहाइले घटिसकेको छ।

आफ्ना प्रयोगकर्ताहरू कम दबाव महसुस हुने खालका डेटिङमा इच्छुक देखिने गरेका अर्को लोकप्रिय डेटिङ एप बम्बल बताउँछ।

"अमेरिकामा बम्बलका तीनमध्ये एकजना प्रयोगकर्ता 'धीमा डेटिङ' गर्ने गरेको र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै थोरै मात्र डेटिङमा जाने गरेका बताउँछन्," बिम्बल भन्छ।

सामाजिक सञ्जाल चलाउँदै गरेका युवक
तस्बिरको क्याप्शन, जेन जी पुस्तामा अन्तर्क्रियासम्बन्धी सामाजिक क्षमता विकास गर्ने अवसर कम भएको बताइन्छ

डेटिङ एपहरूसँग भावनात्मक रूपमा युवाहरू थकित हुन थालेका पनि अध्ययनहरूले सङ्केत गरेका छन्।

नब्बे प्रतिशतभन्दा बढी जेन जी (जेनेरेशन जेड) का व्यक्तिहरू डेटिङ एपहरूदेखि दिक्क बनेका युवासम्बन्धी रिसर्च संस्था सभान्ताले जनाएको छ।

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका व्यक्तिहरू जेनेरेशन जेड भनेर चिनिन्छन्।

"अजिब कुरा के छ भने हामी जुन एपमा छौँ ती एपहरू कम्तीमा सांस्कृतिक रूपमा अधोगतिमा छन्, तर तिनलाई विस्थापन गर्ने विपल्पहरू पनि आइसकेका छैनन्," इन्टरनेट ट्रेन्ड तथा कल्चर राइटर क्याथ्रीन लिन्डसे भन्छिन्।

सामाजिक जमघट र शारीरिक लगावले पनि जेन जीलाई सघाउन नसक्ने उनी तर्क गर्छिन्।

भौतिक उपस्थितिमा गरिने अन्तर्क्रियाका लागि चाहिने सामाजिक क्षमता विकास गर्ने अवसरको अभावबीच महामारीले यो विषयलाई झन् नराम्ररी प्रभावित पारेको लिन्डसे बताउँछिन्।

शीघ्र समाधान गर्ने इन्फ्लुएन्सरहरूको दृष्टिकोण

मानिसहरूले डेडिङ निरस हुँदै गरेको बताउने क्रम बढिरहँदा सामाजिक सञ्जालहरूमा डेटिङ र सम्बन्धबारे सल्लाह अनि जुक्तिहरू व्यापक आउने गरेका छन्।

इन्फ्लुएन्सरहरूले प्रेमीप्रेमिका खोज्ने झटपट उपाय सुझाउने दाबी गर्छन्।

"डेटिङका बाह्रवटा नियम जसले मेरो जिन्दगी बदलिदियो" अथवा "डेटिङमा पृथक देखिने तीन रहस्य" जस्ता शीर्षकसहितका सुझावहरू देखिन्छन्।

कतिपयले अनुदारवादी सम्बन्धका मूल्यमान्यतालाई प्रवर्द्धन गर्छन् र पहिले डेटमा पुरुषले पैसा तिर्नुपर्छ भन्ने जस्ता लैङ्गिक भूमिकाबारे अथवा महिलाले परम्परागत भूमिका निर्वाह गर्नुपर्छ भन्ने जस्ता कुराहरू सिकाउँछन्।

उदाहरणका लागि यूट्यूबमा १५ लाख फलोअर भएका रिलेशनशीप कोच स्टेफन लबोसिएर "डेटिङमा नौवटा गल्ती जसले मानिसहरूलाई अनिच्छुक बनाउँछ" अथवा "महिलाहरूलाई चाहिने एक मात्र डेटिङ सुझाव" जस्ता शीर्षकमा भिडिओ बनाउँछन्।

लन्डनमा अवस्थित कन्टेन्ट क्रिएटर ताम कौरले "स्वाभिमानपूर्ण डेटिङ र राजकुमारीको जस्तो कसरी व्यवहार पाउने" भन्नेबारे "महिलाका निम्ति कसरी सफलतापूर्वक डेट गर्ने" भन्ने उपयुक्त शीर्षकमा भिडिओ बनाएकी छन्।

अनलाइन डेटिङ् एपमार्फत् सन्देश पठाइरहेकी युवती
तस्बिरको क्याप्शन, सोसल मिडिया इन्फ्लुअन्सरहरू डेटिङ्बारे ज्ञान दिएर हजारौँ लाइक पाउने गरेका छन्

सामाजिक सञ्जालमा करिब पाँच लाख फलोअर रहेका इन्फ्लुएन्सर कसाया वेस्टको सुझाव छः "यदि तपाईँ चाहनुहुन्छ कि कोही तपाईँको पछि लागिरहोस् भने उसप्रति तपाईँ अरुचि देखाउनूस्।"

क्याथ्रिन लिन्डसेका अनुसार कन्टेन्ट क्रिएटरहरू थप प्रगतिशील र समतावादी डेटिङ दृष्टिकोणको वकालत गर्छन्। तर सोसल मिडिआको एल्गोरिदमले पारम्परिक मापदण्डहरूलाई मजबुत बनाउँदै मानिसहरूलाई चिरपरिचित बाटोमै लग्छन्।

इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरहरू एक्लोपन अथवा तनावको भावनालाई पैसा कमाउन प्रयोग गर्छन्।

"यदि तपाईँ सजिलो क्लिक पाउन खोज्ने कन्टेन्टर क्रिएटर हुनुहुन्छ भने मानिसहरूको एक्लोपन अथवा तनावको भावनालाई जित्ने तरिका आफूसँग भएको दाबी गर्नुहुन्छ," उनी भन्छिन्।

डेटिङबारे सुझाव दिएका भिडिओहरू सामाजिक सञ्जालमा देख्ने गरेको हाजल सिरिन बताउँछिन्।

"यो साझा प्रवृत्ति हो मेकअप गरिरहँदा मानिसहरू डेटिङबारे सरसल्लाह गरिरहेका हुन्छन्,"उनी भन्छिन्।

"तीमध्ये कतिपय वाहियात हुन्छन्। तर कतिपय उपयोगी पनि हुन्छन्।"

डेटिङका कुरा गर्दा विश्वव्यापी नियमहरू अवलम्बन गर्नुपर्ने उनी बताउँछिन्।

"तपाईँले आफूबारे धेरै कुरा बाहिर ल्याउनु हुँदैन र पुरुषहरूसँग कुरा गर्दा केही जुक्तिहरू अपनाउनुपर्छ,"उनको तर्क छ।

'स्वखोजीको यात्रा'

के प्रेमीप्रेमिका खोज्ने कुनै झटपट उपाय छ त?

"दुःखका साथ भन्नुपर्दा छैन," साइकोथेरापिस्ट तथा लेखिका केटी गिलिस भन्छिन्।

"मायाका लागि केही एल्गरिदम हुँदो हो त गज्जब हुन्थ्यो। मलाई लाग्छ मानिसहरू त्यस्तो छ भन्ने महसुस गर्छन्। किनकि त्यसले उनीहरूमा आशा जगाउँछ।"

गिलिसका अनुसार डेटिङ तनावपूर्ण हुन्छ। असहजता महसुस नहोओस् भनेर मानिसहरूले अनलाइनमा उपायहरू हेर्छन्।

तर उनको विचारमा डेटिङ त खासमा तपाईँ को हो र आफ्नो प्रेमी वा प्रेमिकामा कसलाई चाहनुहुन्छ भन्ने कुराको स्वखोजी गर्ने एउटा यात्रा हुनुपर्छ।

एक जोडी
तस्बिरको क्याप्शन, डेटिङलाई लिएर हुने निराशालाई पन्छाउन मान्छे वास्तविक हुनुपर्ने विज्ञहरू सुझाउँछन्

उनका अनुसार मानिसले आफूलाई कस्तो सम्बन्ध चाहिने हो त्यो हेर्नुपर्छ न कि समाजले कस्तो भन्छ त्यो हेर्नुपर्छ।

"सम्बन्ध भनेको एउटा गणितीय हिसाब होइन जसलाई तपाईँले हल गर्नुपर्छ," विवाहसम्बन्धी परामर्शदाता तथा मनोविद्‌ शिवानी मिस्री साधू भन्छिन्।

"राम्रो सम्बन्धका लागि कुनै छोटो बाटो वा उपाय छैन। तपाईँ आफैँले गर्नुपर्छ," स्पष्ट संवाद र वास्तविक उद्देश्यको महत्त्वमाथि जोड दिँदै उनी थप्छिन्।

त्यसमा साइकोथेरापिस्ट केटी गिलिस पनि सहमत छिन्।

डेटिङलाई लिएर हुने निराशालाई पन्छाउन मान्छे वास्तविक हुनुपर्छ। "तपाईँ को हो भन्ने कुरा साँचोसाँचो भन्नुहोस्," उनी सुझाउँछिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।