यू-१९ विश्वकप: नेपालको भारतसँग फेरि अर्को भेट, कस्तो रहला प्रदर्शन

नेपाली टोली
तस्बिरको क्याप्शन, यू-१९ विश्वकपमा नेपाली टोलीको अन्तिम खेल शुक्रवार भारतसँग हुँदै छ
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

एशिया कपमा छनोट भएको नेपाली क्रिकेटको सिनियर राष्ट्रिय टोलीले गत वर्ष भारतसँग खेलेको थियो। त्यसपछि एकपछि अर्को प्रतियोगितामा नेपाल र भारतको भइरहेको छ।

एशिया कपपछि सिनियर टोलीको भेट चीनको हान्चाउमा भएको एशियाली खेलकुदको क्वार्टर फाइनलमा भयो।

त्यसपछि युवा टोलीको भेट यू-१९ एशिया कपमा भयो र अहिले यू-१९ विश्वकपको सुपर सिक्समा पुगेपछि फेरि १९ वर्षमुनिको उमेर समूहका खेलाडीहरू बीच शुक्रवार भिडन्त हुँदै छ।

नेपाल र भारतको टोलीको सुपर सिक्सको यो भेट खेलको यस्तो दोबाटोमा पुगेर भएको छ जहाँबाट नेपाल घर फर्किने छ भने भारत प्रतियोगितामा सेमिफाइनलतर्फ अगाडि बढ्ने छ।

खेल हुनुअघि नै नेपालका लागि परिणाम स्पष्ट भएकाले नेपाली खेलाडीहरूलाई यो दबावमुक्त भई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर हुने छ। नतिजा जे आए पनि यो खेल भारतका लागि अन्तिम चारमा पुग्ने खुड्किलो मात्र हो।

भारतलाई हराएको सम्झना

नेपालले क्रिकेट इतिहासमा भारतलाई हराएको एकमात्र खेल १९ वर्षमुनि उमेर समूहको प्रतियोगितामा हो।

सन् २०१७ को यू-१९ एशिया कपमा कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो।

त्यतिबेला कप्तान ऐरीले ८८ रन बनाउनुका साथै चार विकेट पनि लिएका थिए। भारतलाई त्यो हारले यति पीडा दिएको थियो कि त्यसपछि भारतले नेपालसँग हारेका खेलाडीहरूलाई निकालेर नयाँ टीम बनाएको थियो।

त्यो मिठो सम्झना नेपाली युवा टोलीको लागि सधैँ प्रेरणा बन्ने गरेको छ।

नेपाली टोली
तस्बिरको क्याप्शन, नेपाली टोलीले जारी यू-१९ विश्वकपमा अफगानिस्तानलाई मात्र पराजित गरेको छ

यू -१९ विश्वकपमा भने यी दुई देशबीच दुई पटक भेट भएको छ। दुवै खेलमा भारत विजयी रह्यो। सन् २००० मा नेपाल आठ विकेटले र सन् २०१६ मा नेपाल सात विकेटले पराजित हुन पुगेको थियो।

नेपालको पछिल्लो भेट त झन बिर्सिनयोग्य छ। झन्डै दुई महिनाअघि दुबईमा यू -१९ एशिया कपमा नेपाल भारतसँग १० विकेटले हारेको थियो।

ब्याटिङ पूर्ण रूमा धराशायी भएको सो खेलमा नेपाली ब्याटरहरूले जम्मा ५२ रन बनाउन सकेका थिए।

नेपाली टोली
तस्बिरको क्याप्शन, यू-१९ विश्वकपको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा बाङ्ग्लादेशसँग नेपाल पराजित भएको थियो

बदला लिने मौका

त्यो पराजयको बदला लिने मौका शुक्रवार नेपाली टोलीलाई छ। तर त्यो सहज भने पक्कै छैन।

दुई महिनाअघि उक्त खेलमा नेपालविरुद्ध सात विकेट लिने भारतका तीव्र गतिका बलर राज लिम्बानी अहिले पनि भारतका मुख्य हतियार हुन्।

अहिलेसम्म कुनै पनि खेल नहारीकन सुपर सिक्समा छ अङ्कसहित शीर्ष स्थानमा रहेको भारतका केही खेलाडीहरू राम्रो फर्ममा देखिन्छन्।

तेस्रो नम्बरमा ब्याटिङ गर्ने मुशिर खानले जारी विश्वकपमा दुइटा शतक र एउटा अर्धशतक बनाइसकेका छन्।

उनले आयरल्यान्डसँग ११८ रन, न्यूजील्यान्डसँग १३१ रन र अमेरिकासँग ७३ रन बनाइसकेका छन्।

भारतीय कप्तान उदय शहारान, आदर्श सिंह र आशिन कुलकर्णीले पनि आफ्नो प्रभाव देखाइरहेका छन्।

नेपाली खेलाडीहरूले पनि दक्षिण अफ्रिकामा प्रभाव छोड्ने काम भने गरिसकेका छन्।

पहिलो खेलमा अर्जुन कुमालले न्यूजील्यान्डविरुद्ध ९० रन र कप्तान देव खनालले अफगानिस्तानविरुद्ध ५८ बनाए। यसअघिको खेलमा मैदानमा जाने अवसर पाएका विशालविक्रम केसीले ४६ रन बनाए।

भारतका राज लिम्बानी
तस्बिरको क्याप्शन, सुपर सिक्समा न्यूजील्यान्डविरुद्धको खेलमा बलिङ गर्दै भारतका राज लिम्बानी

आकाश चन्दले अफगानिस्तानसँगको महत्त्वपूर्ण खेलमा पाँच विकेट तथा बाङ्ग्लादेशसँग सुभाष भण्डारीले पाँच विकेटको उपलब्धि हात पारेका छन्।

यद्यपि नेपालको भरपर्दा खेलाडी गुलशन झाले अझै आशानुरूप ब्याटिङ गर्न सकेका छैनन्।

यी खेलाडीहरूले शुक्रवार प्रतियोगिताकै शीर्ष स्थानमा रहेको भारतविरुद्ध जित पाउन ब्लोम्फोन्टेनको मैदानमा अफगानिस्तानविरुद्धको खेलमा जसरी साहसिक खेल खेल्नुपर्ने हुन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।