यू-१९ महिला क्रिकेट विश्वकपमा जितनजिक पुगेको नेपाल स्कटल्यान्डसँग पराजित

नेपालको यू-१९ महिला क्रिकेट टोली विश्वकपमा स्कटल्यान्डविरुद्ध खेल्दै
तस्बिरको क्याप्शन, जारी यू-१९ महिला क्रिकेट विश्वकपमा आफ्नो पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा प्रदर्शन सुधारेको देखिएको थियो
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published
  • पढ्ने समय: ३ मिनेट

मलेशियामा सञ्चालन भइरहेको आइसीसी यू-१९ महिला विश्वकपमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ।

यो हारसँगै नेपालको 'सूपर सिक्स'मा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएको छ।

सोमवार भएको अत्यन्त रोमाञ्चक खेलमा नेपालले जितको सङ्घारमा पुगेर पनि हार बेहोरेको हो।

जम्मा ७३ रनको लक्ष्य पार गर्न आएको स्कटल्यान्डको अन्तिम विकेट लिन नसक्दा नेपाली टोलीले खेल गुमाउन पुगेको थियो।

सोमवार यूकेएम ओभल मैदानमा नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

तर ब्याटरहरूले फेरि सङ्घर्ष गरेपछि नेपालले १८.५ ओभरमा सबै खेलाडी गुमाई ७३ रन मात्र जोड्न सक्यो।

जबाफमा स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

अन्तिम विकेट लिन नसक्दाको चोट

नेपालको यू-१९ महिला क्रिकेट टोली विश्वकपमा स्कटल्यान्डविरुद्ध खेल्दै

स्कटल्यान्डका लागि जिताउन पिपा स्प्रोलले ३५ रनको महत्त्वपूर्ण पारी खेलिन्।

चौधौँ ओभरको अन्तिम बलमा २५ रन बनाएर खेलिरहेकी पिपाको सामान्य क्याच नेपालकी किरण कुँवरले फुत्काउनु नेपालको हारको कारण बन्न पुग्यो।

सीमाना केसीको बलमा कुँवरको हातमा आएको बल फुत्किएको थियो।

यद्यपि १७ औँ ओभरमा रचना चौधरीले पिपाको विकेट लिन सफल भइन्। उक्त ओभरमा रचनाले पिपा सहित मेसी माकेइराको गरी दुई विकेट लिएसँगै खेल नेपालको पक्षमा ढल्किएको थियो।

तर अन्तिम विकेट लिन भने नेपाली टोली असफल रह्यो र खेल गुमाउन पुग्यो।

नेपालको इनिङ्स

नेपालको यू-१९ महिला क्रिकेट टोली विश्वकपमा स्कटल्यान्डविरुद्ध खेल्दै
तस्बिरको क्याप्शन, टस जितेर ब्याटिङ गरेको नेपालले ७२ रन बनाएको थियो

नेपालबाट कप्तान पूजा महतोले सबैभन्दा बढी २७ रन जोडिन्। दुई रनमा खेलिरहेका बेला बोल्ड हुन पुगेकी उनले विकेटको बल नझरेका कारण जीवनदान पाएकी थिइन्।

सो क्रममा उनले तीन चौका प्रहार गरेकी थिइन्।

ओपनर सावित्री धामीले पनि १० रन बनाएकी थिइन्। अन्य खेलाडीहरूले भने दोहोरो अङ्कमा स्कोर जोड्न सकेनन्।

यसअघि पहिलो खेलमा पनि नेपाल बाङ्ग्लादेशसँग ५२ रनमा नै अलआउट हुन पुगेको थियो।

स्कटल्यान्डको तर्फबाट मैसी म्याकिराले सबैभन्दा बढी ५ विकेट लिएकी थिइन्।

नेपाल रहेको समूह 'बी'मा अस्ट्रेलिया र बाङ्ग्लादेश बलिया टोली हुन्।

नेपालले अब आगामी बुधवार अस्ट्रेलियासँग खेल्ने छ भने स्कटल्यान्डले बाङ्ग्लादेशको सामना गर्ने छ।

'सूपर सिक्स' पुग्ने बाटो

स्कटल्यान्डको विकेट लिएपछि नेपाली यू-१९ महिला टोली

'सूपर सिक्स'को समीकरण यस्तो खाले छ कि कुनै टोली एउटा खेल जित्न सकेमा पनि 'सूपर सिक्स'मा पुग्न सक्ने छ।

आइसीसीले युवा खेलाडीहरूले बढीभन्दा बढी खेल खेल्न सक्ने गरी तालिका बनाएको छ।

विश्वकपमा १६ राष्ट्र सहभागी छन् र तिनलाई चार समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहमा चार टोली छन्, जसबाट तीन टोली 'सूपर सिक्स'मा प्रवेश गर्ने छन् भने एउटा टोली लीग चरणबाटै बाहिरिने छ।

नेपालको यू-१९ महिला क्रिकेट टोली विश्वकपमा स्कटल्यान्डविरुद्ध खेल्दा उपस्थित नेपाली समर्थक
तस्बिरको क्याप्शन, मलेशियामा भएको खेलमा नेपालका समर्थकहरूको उपस्थिति थियो

प्रत्येक समूहबाट तीन राष्ट्र छनोट हुँदा 'सूपर सिक्स'मा १२ टोली हुने छन्।

यसमा छछ टोलीको दुई समूह बन्ने छ। त्यहाँ समूहका प्रत्येक टोलीले आफ्ना समूहका अन्य दुई टोलीसँग प्रतिस्पर्धा गर्ने छन्। यसबाट शीर्ष चार टोली सेमिफाइनल पुग्ने छन् भने आठ टोली बाहिरिने छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।