रवि लामिछानेको सांसद पद निलम्बित, रास्वपा कार्यवाहक सभापतिमा डीपी अर्याल

प्रतिनिधिसभामा तात्कालिक गृहमन्त्री रवि लामिछाने
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दर्ता भएपछि संसद् सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यको पदबाट निलम्बन गरेको छ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा प्रकाशित सूचनामा लामिछानेलाई सम्पत्ति शुद्धीकरण ऐनको दफा २२ बमोजिम मुद्दाको किनारासम्म निलम्बन गरिएको बताइएको छ।

लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ।

उता लामिछानेको पार्टीले सोमवार नै उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेको छ।

लामिछाने चितवनबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। उनी आफ्नो पार्टीको संसदीय दलका नेता पनि हुन्।

सम्पत्ति शुद्धीकरणको अभियोग लागेकाले प्रहरीले संसद्‌ सचिवालयमार्फत् सभामुखलाई त्यसबारे जानकारी दिएपछि संसद्को निर्णय अनुसार स्वत: सांसद पदबाट निलम्बित हुने तर्क अधिकारीहरूले गरेका थिए।

यद्यपि लामिछानेको दलले उनलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने तर्क गरेको छ।

यसबारेमा सभामुख देवराज घिमिरेले दिउँसो संसद्‍का महासचिवसहित अन्य अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए।

सभामुखसँग भेट्न रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसहित केही सांसद पनि संसद् सचिवालय पुगेका थिए।

रास्वपा सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरे - फाइल तस्बिर

सरकारी वकिल र प्रहरीबाट लामिछानेलाई निलम्बन गर्न भन्दै आएको पत्रप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि व्यक्त गरेको र लामिछाने निलम्बनमा पर्ने आधार नरहेको मत आफूले राखेको परियारले बताए।

"शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम त्यसो गर्न मिल्दैन। न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाहरूको स्वतन्त्रता कायम रहनुपर्छ भन्यौँ," परियारले बीबीसीसँग भने। "सभामुखज्यूले हाम्रा कुरा गम्भीरताका साथ लिएको बताउनुभयो।"

कास्कीमा बयान सुरु

सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले आयोजना गरेको विरोध प्रदर्शन
तस्बिरको क्याप्शन, सहकारी ठगी प्रकरणमा आफ्ना सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गर्दै आएका छन्

पोखरामा प्रहरीले सोमवार नै रास्वपाका सभापति एवं भूतपूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध फरकफरक कसुरमा सजाय माग गर्दै अभियोगपत्र दर्ता गरेको थियो। अदालतले लामिछानेलाई हिरासतमा राखेरै वा जमानतमा छोडेर मुद्दा अगाडि बढाउने भन्ने टुङ्गो लगाउने छ।

लामिछानेलाई उपस्थित गराइए पनि प्रतिवादीहरूको क्रमानुसार बयान गराइने भएकाले सोमवार छविलाल जोशीको मात्र पालो आएको जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले पत्रकारहरूलाई बताए।

लामिछानेसहित पाँच जनालाई सोमवार बयानका लागि भन्दै अदालत लगिएको थियो। जोशीको बयान सकिएपछि मात्र लामिछानेलगायत अन्य प्रतिवादीको बयान हुने छ।

लामिछाने गत कात्तिक २ गते काठमाण्डूमा पक्राउ परेका थिए। पक्राउ परेको ६६औँ दिनमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो। अभियोजनकर्ताहरूले उनीसँग सम्पत्ति शुद्धीकरण मामिलामा २७ करोड ८९ लाख ४४ लाख रुपैयाँ र पोखराको सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो माग गरिएको छ।

उनीविरुद्ध रूपन्देही, काठमाण्डू, चितवन र पर्सामा समेत अनुसन्धान भइरहेको छ। लामिछाने र उनको दलले राजनीतिक प्रतिशोधका कारण आफूलाई विभिन्न आरोप लगाइएको र पक्राउ गरिएको दाबी गर्दै आएका छन्।

अब राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व कसले गर्छ?

रास्वपाका दुई उपसभापति डीपी अर्याल (दायाँ)र स्वर्णिम वाग्ले (बायाँ) का बीच रवि लामिछाने
तस्बिरको क्याप्शन, रास्वपाको सचिवालय बैठकले डीपी अर्याल (दायाँ)लाई पार्टीको कार्यवाहक सभापति तोकेको छ

रास्वपाले सोमवार अपराह्ण बसेको सचिवालयको आकस्मिक बैठकले पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेको थियो।

भर्चूअल माध्यमबाट बसेको बैठकले यस्तो निर्णय गरेको अर्यालले बीबीसीलाई बताएका थिए।

यसअघि बीबीसीसँग कुरा गरेका पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टीले "घटनाक्रम यो हदसम्म अगाडि बढ्छ भन्ने" नसोचेको बताएका थिए।

यसअघि रास्वपाका केही नेताहरूले रवि लामिछानेको विकल्प नखोजिने र उनी नै निर्विकल्प नेता भएको धारणा व्यक्त गर्दै आएका थिए।

कस्तो अवस्थामा सांसद निलम्बनमा पर्छन्?

नेपालको संविधान २०७२ को धारा १०२ को उपधारा ६ मा फौजदारी अभियोगमा कुनै सदस्यलाई पक्राउ गरिएमा सम्बन्धित अधिकारीले त्यसको सूचना सभामुखलाई दिनुपर्ने प्रावधान छ।

संसद्को बैठक चलेको अवधिमा त्यसबारेको जानकारी सदनलाई तत्कालै दिनुपर्ने र नचलेको समयमा सूचना टाँसेर सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसअघि लामिछानेलाई पक्राउ गर्दा संसदले सूचनामार्फत् जानकारी गराएको थियो।

प्रतिनिधिसभा नियमावलीको दफा २४८ (३) मा लेखिएको छ: "प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने छ।"

कास्की जिल्ला अदालतको मूलद्वारअगाडि प्रहरी र अन्य व्यक्ति

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २७ मा भने 'प्रचलित कानुनबमोजिम स्थापित सङ्गठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने' लेखिएको छ।

उक्त ऐनको दफा २७ मा "सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरका सम्बन्धमा अनुसन्धान समाप्त भएपछि विभागको प्रमुखले आफ्नो रायसहित मुद्दा चल्ने वा नचल्ने निर्णयका लागि सम्बन्धित सरकारी वकिलसमक्ष मिसिल एवं प्रमाण पेस गर्नुपर्ने" भनिएको छ।

सम्पत्ति शुद्धीकरणको अभियोग लागेको अवस्थामा भने मुद्दा दर्ता हुनेबित्तिकै प्रतिवादी सांसद भए पनि निलम्बनमा पर्ने अधिकारीहरूले बताएका छन्।

"ऐनमा स्पष्ट रूपमा सार्वजनिक पद धारण गरेको व्यक्ति निलम्बन हुने व्यवस्था छ। अदालतमा मुद्दा दर्ता भएको नम्बरसहित हामीले सम्बन्धित अनुसन्धान गर्ने निकाय (प्रहरी) लाई जानकारी गराइसकेका छौँ," आइतवार कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बीबीसीसँग भनेकी थिइन्।

"उहाँहरूले संसद्‌ सचिवालयमार्फत् सभामुखज्यूलाई त्यसको जानकारी पठाएपछि स्वत: सांसद पद निलम्बन हुने छ।"

रवि लामिछाने पक्राउ परेपछि कहिले के भयो

रास्वपा केन्द्रीय कार्यालयमा प्रहरीहरू
तस्बिरको क्याप्शन, रवि लामिछाने कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए

कात्तिक २: काठमाण्डूमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ, पोखरा चलान

कात्तिक ४: कास्की जिल्ला अदालतद्वारा पक्राउ परेको दिनदेखि लागु हुने गरी ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति

कात्तिक ८: कास्कीमै दोस्रो पटक सात दिन म्याद थप

कात्तिक २०: कास्कीमै तेस्रो पटक १० दिन म्याद थप

कात्तिक २५: कास्कीमै चौथो पटक १३ दिन म्याद थप

कात्तिक २५: अनुसन्धानका लागि पोखराबाट भैरहवा लगेर बयान

मङ्सिर ९: कास्कीमै पाँचौ पटक १५ दिन म्याद थप

मङ्सिर १३: अनुसन्धानका लागि पोखराबाट काठमाण्डू लगेर बयान

मङ्सिर १८: अनुसन्धानका लागि काठमाण्डूबाट चितवन लगेर बयान

मङ्सिर २३: कास्कीमै छैँटौँ पटक चार दिनका लागि म्याद थप

मङ्सिर २४: अनुसन्धानका लागि पोखराबाट पर्सा लगियो

मङ्सिर २५: पर्सामा बयान

मङ्सिर २६: पर्साबाट काठमाण्डू हुँदै पोखरा लगियो

मङ्सिर २७: पाँच दिनका लागि कास्कीमा सातौँ पटक म्याद थप

पुस १: प्रहरीद्वारा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

पुस २: जिल्ला अदालत कास्कीद्वारा चार दिनका लागि आठौँ पटक म्याद थप

पुस ७: कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दायर

पुस ८ः थुनछेक बहस सुरु

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।