रवि लामिछानेः पार्टी सभापतिको पक्राउसँगै रास्वपाको भविष्य र भावी कदम के होला

तस्बिर स्रोत, RSS
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ भएसँगै सो पार्टीको भविष्य र भावी कदमबारे विभिन्न अड्कलबाजी शुरू भएको छ।
पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सहकारी ठगीसम्बन्धी अभियोगमा शुक्रवार साँझ काठमाण्डूबाट गिरफ्तार गरी प्रहरीले पोखरा पुर्याइसकेको छ।
उनको गिरफ्तारीलाई रास्वपा र स्वयं लामिछानेले “राजनीतिक रूपले अभिप्रेरित कदम” भनिरहेका छन्।
तर कतिपयले सहकारी संस्थाको चलाएको हिसाबले जोडिएकाले कानुनबमोजिम उनले पनि कारबाही भोग्नुपर्ने तर्क गरिरहेका छन्।
एकजना राजनीतिशास्त्रीले लामिछानेको गिरफ्तारीको समय “रणनीतिक हिसाबले चयन” गरिएको बताएका छन्।
रास्वपाले अब के गर्छ?
पार्टी सभापति गिरफ्तारीपछि अब के गर्ने भन्नेबारे रास्वपाले कुनै औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन।
तर सरकारको कदमविरुद्ध कानुनी लडाइँ गर्ने रास्वपाका प्रमुख सचेतक सन्तोष परियार बताउँछन्।
सभापति लामिछानेको गिरफ्तारीलाई उनले राज्यशक्तिको चरम दुरुपयोगको सङ्ज्ञा दिए।
“राज्यले गर्न नपर्ने कुरा गरिसक्यो। त्यसको हिसाबकिताब इतिहासले गर्ला। तर अब हामी अदालती न्याय प्रक्रियामा जान्छौँ र हाम्रो बाटो त्यही हुनेछ,” बीबीसीसँग परियारले भने।
“सरकारी कदमलाई कानुनी रूपमा चुनौती दिन्छौँ। सरकारले गलत गरेको छ भन्ने कुरा न्यायबाटै प्रमाणित गर्छौँ,” प्रमुख सचेतक परियारले थपे।
पार्टी सभापति लामिछाने थुनामै रहेमा र कानुनी लडाइँ लम्बिएमा रास्वपा कसरी अगाडि बढ्ला भन्नेबारे धेरैको चासो रहेको पाइन्छ।
के रास्वपाले लामिछानेको अनुपस्थितिमा कार्यवाहक तोकेर आफ्ना गतिविधि अगाडि बढाउला त?
प्रमुख सचेतक परियारले भन्छन्: “अदालती प्रक्रियामा गएपछि हाम्रो नेतृत्वमा केही रिक्तता अथवा केही त्यस्तो हुने भयो भने पार्टीले निर्णय गर्ला। तर अहिले हामीले त्यसबारे केही सोचिसकेका छैनौँ।”

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
गिरफ्तारीविरुद्ध शनिवार साङ्केतिक विरोधका कार्यक्रम गर्ने उनले बताइरहँदा देशका विभिन्न ठाउँमा रास्वपाका कार्यकर्ता तथा समर्थकले गिरफ्तारीविरुद्ध प्रदर्शन पनि गरेका छन्।
शुक्रवार गिरफ्तार हुनुअघि पार्टी मुख्यालयमा पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफूलाई जेल पठाउन ठूला दलबीच सम्झौता नै भएको आरोप लगाए।
उनले भने: “जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, ‘रविलाई जसरी भए पनि जेल कोच्छौँ, तपाईँ चिन्ता नगर्नूस्’ भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मलाई छ।”
राज्यले दादागिरी गरेको र त्यसको डटेर सामना गर्ने साहस कार्यकर्ताहरूलाई मिलोस् भन्ने अभिव्यक्ति उनले दिए।
सो क्रममा लामिछानेले राज्यले आफूविरुद्ध सबै शक्ति नै लगाएर लागिपरेको आरोप लगाए।
आफूले कुनै पनि किसिमको अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउन प्रतिबद्ध रहेको दोहोर्याउँदै उनले भनेः “तर राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर जुन कार्य गरेको छ, त्यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास लिएको छु।”
राजनीतिशास्त्री के भन्छन्?
यसअघि पक्राउ गर्न लागिएको चर्चा भए पनि शुक्रवार आएर गरिएको लामिछानेको गिरफ्तारीलाई विभिन्न कोणबाट विश्लेषण गरिँदै छ।
केही दिनअघि व्यवसायी मीनबहादुर गुरुङले करोडौँ रुपैयाँ बराबरको जग्गा सत्तारूढ नेकपा एमालेलाई दान गरेपछि त्यसबारे सार्वजनिक वृत्तमा व्यापक टीकाटिप्पणी हुँदै आएको छ।
धेरैले त्यसको आलोचना गरिरहेको पृष्ठभूमिमा अहिले गरिएको लामिछानेको गिरफ्तारी संयोग मात्र नभएको राजनीतिशास्त्री कृष्ण पोखरेल बताउँछन्।
“भाटभटेनीका सञ्चालकबाट नेकपा एमालेले पार्टी कार्यालयका लागि जग्गा पाएपछि सरकार र खासगरी एमालेको विरुद्धमा जसरी एउटा माहोल बनिरहेको थियो त्यसबाट जनताको ध्यान अर्कोतिर मोड्नका लागि यो गिरफ्तारीको समय रोजियो जस्तो मलाई लाग्छ,” बीबीसीसँग उनले भने।
राजनीतिशास्त्री पोखरेलको बुझाइमा यदि त्यसरी समय नरोजिएको भए सोही प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरिएको समयमै लामिछानेलाई पनि गिरफ्तार गरिन्थ्यो।
रास्वपालाई फाइदा कि घाटा?
कतिपयले सभापति रवि लामिछानेको गिरफ्तारीसँगै रास्वपाको कान्ति घट्दै जाने बताउन थालेका छन्।
तर राजनीतिशास्त्री पोखरेलका अनुसार रास्वपाले कुन बाटो लिन्छ भन्ने कुरा अदालतको निर्णयमा निर्भर गर्नेछ।
“तल्लो अदालतबाट मात्रै यो टुङ्गिला जस्तो मलाई लाग्दैन। यो लम्बिन सक्छ, मुद्दा माथिल्लो अदालतसम्म पुग्न सक्ला,” उनले भने।
अर्कोतर्फ उक्त पार्टीले आफ्ना सभापतिको गिरफ्तारीको मुद्दालाई जनताबीच लगेर आफ्नो पक्षमा माहोल पनि सिर्जना गर्न सक्ने अवस्था रहेको पोखरेलको तर्क छ।
“हाम्रा नेतालाई अनावश्यक रूपमा फसाइयो भन्ने भाष्यलाई पुँजीकृत गर्न रास्वपाले कोशिश गर्ला भन्ने जस्तो लाग्छ र त्यसले जनमानसमा कत्तिको असर पार्छ भन्ने कुराले उसको रणनीति निर्धारण गर्ला,” उनले थपे।

तस्बिर स्रोत, RSS
कतिपयलले रास्वपामा विस्तारै वैकल्पिक नेतृत्वको विषयमा अब विवाद शुरू हुन सक्ने अड्कल गरिरहँदा राजनीतिशास्त्री पोखरेल तत्काल त्यो सम्भावना देख्दैनन्।
उनको बुझाइमा रास्वपा सभापतिको मुद्दा लम्बिँदै गयो भने पनि त्यो विकल्पमा उसका नेताहरू अहिले नै जान उपयुक्त नदेख्न सक्छन्।
“बरु मुद्दा धेरै लम्बिएमा कसैलाई कार्यवाहक तोकेर पार्टीका गतिविधि सञ्चालन गर्न सक्लान्। तर रवि लामिछानेको नेतृत्वलाई नै चुनौती दिएर अगाडि बढ्लान् जस्तो सम्भावना अहिले म देख्दिनँ,” राजनीतिशास्त्री पोखरेलले भने।
‘प्रतिकूल समयको प्रतिक्रिया’
आफ्ना सभापतिको गिरफ्तारीलाई लिएर रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको चर्को आलोचना गरिरहेका छन्।
अर्कोतर्फ उनीहरूले सभापति लामिछाने सहकारी प्रकरणमा “निर्दोष” भएको भन्दै उनको प्रतिरक्षा गरिरहेका छन्।
तर राजनीतिक विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतम रास्वपा र उसका नेताहरूको अहिलेको प्रतिक्रियालाई “अस्वाभाविक” ठान्दैनन्।
“यस्ता प्रकरणमा राजनीतिक दलहरूको आफू अनुकूल भर्सन हुने गर्छ। आफ्नो प्रतिरक्षामा आउने यो स्वाभाविक प्रतिक्रिया हो,” बीबीसीसँग उनले भने।
पछिल्लो आमनिर्वाचनपछि राजनीतिक दलहरूले एकअर्कालाई कुनै बेला जोगाउने र कुनै बेला सिध्याउन खोज्ने प्रवृत्ति झन् बढ्दै गएको पनि गौतम बताउँछन्।
“अहिले नेपालको राजनीति एउटा यस्तो भासमा छ कि जहाँ एकलाई अर्काको आवश्यकता पनि छ र एकले अर्कालाई सिध्याउनु पनि छ,” उनले थपे।
“उदाहरणका लागि अहिले नेपाली कांग्रेस र एमालेको गठबन्धन टुट्यो भने केपी ओलीलाई तुरुन्तै रास्वपा र माओवादीको साथ चाहिनेछ। अर्कोतर्फ कांग्रेसलाई माओवादी र रास्वपाको साथ चाहिनेछ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















