कफी पिएपछि किन कसैलाई स्फूर्ति आउँछ र कसैलाई केही असर महसुस हुँदैन?

    • Author, जिम रीड
    • Role, स्वास्थ्य संवाददाता
  • Published
  • पढ्ने समय: ५ मिनेट

"कफीले मलाई खासै असर गर्दैन," सेन्ट्रल लन्डनको एउटा क्याफेबाट बाहिर निस्किँदै गर्दा २० वर्षीया एमिलीले भनिन्।

"म सामान्यतया दिनमा दुई कप कफी र सायद 'इनर्जी' दिने एउटा पेय पनि पिउँछु। त्यसपछि समेत म रातभरि कोक पिएर पनि ठिक महसुस गर्न सक्छु।"

हामी सबैको जीवनमा एमिलीजस्तै कुनै न कुनै साथी हुन्छन्, जो डबल सट एस्प्रेसो वा इनर्जी ड्रिङ्क पिए पनि एक घण्टापछि सहजै निदाउन सक्छन्।

तर धेरै मानिसका लागि कफीको असर लामो समयसम्म रहन्छ।

त्यसो भए किन केही मानिस सुत्नुअघि कफी पिए पनि शिशुझैँ मस्त निदाउन सक्छन्, जबकि केही भने रातभरि छटपटिँदै जागै बस्छन्?

क्याफिन खासमा के हो?

क्याफिन संसारमा सबैभन्दा व्यापक रूपमा प्रयोग गरिने 'साइकोएक्टिभ' पदार्थ हो।

हरेक दिन विश्वभर दुई अर्बभन्दा बढी कप कफी पिइन्छ। त्यसमाथि कोला, इनर्जी ड्रिङ्क, केही प्रकारका चकलेट, चुइङ्गम र खेलकुदका 'सप्लिमेन्ट'मा समेत क्याफिन पाइने भएकाले यसको प्रयोग निकै व्यापक छ।

क्याफिनले हामीलाई जागा रहन, एकाग्रता बढाउन र थकान कम महसुस गर्न मद्दत गर्न सक्छ। तर यसको अत्यधिक सेवनले टाउको दुख्ने, शरीर काम्ने वा छटपटी हुने, मुटुको धड्कन तीव्र हुने र राति निदाउन कठिन हुनेजस्ता समस्या निम्त्याउन सक्छ।

विज्ञहरूका अनुसार क्याफिनले शरीरलाई थप ऊर्जा दिँदैन, बरु केही समयका लागि थकानको अनुभूति कम गर्न मद्दत गर्छ।

क्याफिनले 'एडेनोसिन' नामक रसायनको प्रभावलाई रोक्ने भएकाले यस्तो हुन्छ। 'एडेनोसिन' त्यो तत्त्व हो जुन दिनभरि हाम्रो मस्तिष्कमा जम्मा हुँदै जान्छ र हामीलाई निद्रा तथा थाकेको महसुस गराउँछ।

मानिसहरूमा फरक-फरक असर किन?

यसको एउटा मुख्य कारण क्याफिन हाम्रो शरीरमा कति समयसम्म रहन्छ भन्ने हो।

एक कप कफी पिएपछि क्याफिन रगत हुँदै मस्तिष्कसम्म पुग्छ। त्यही समयमा शरीरले क्याफिनलाई टुक्र्याउने अर्थात् 'मेटाबोलाइज' गर्ने प्रक्रिया पनि सुरु गर्छ। कलेजोमा रहेको एउटा 'इन्जाइम'ले क्याफिनलाई टुक्र्याउँछ र अन्ततः शरीरले त्यसलाई पिसाबमार्फत् बाहिर निकाल्छ।

शिकागोस्थित नर्थवेस्टर्न युनिभर्सिटीकी पोषण विषयकी सहप्राध्यापक डा. मेरिलिन कर्नेलिसका अनुसार शरीरबाट क्याफिन पूर्ण रूपमा बाहिरिन ६ देखि २० घण्टासम्म लाग्न सक्छ। यो अवधि व्यक्तिअनुसार फरक हुन्छ।

"कफीको पहिलो कप पिएपछि त्यसको असर तत्कालै महसुस नहुन सक्छ," उनले भनिन्।

"तर दुई-तीन घण्टापछि पनि क्याफिन शरीरमा रहिरहेको हुन्छ। त्यसपछि दोस्रो कप कफी पिउँदा थप क्याफिन जम्मा हुन्छ, जसले यसको प्रभाव बढाउन सक्छ र तपाईँलाई केही बढी चिन्तित वा बेचैनी महसुस हुन सक्छ।"

कलेजोले क्याफिनलाई कति छिटो प्रशोधन गर्छ भन्ने कुरा 'सीवाईपीवनएटू' भनेर चिनिने एउटा 'जीन'सँग सम्बन्धित हुन्छ।

यो प्रक्रिया कम्तीमा केही हदसम्म व्यक्तिको पुर्ख्यौली/वंशीय पृष्टभूमिबाट प्रभावित हुन सक्छ।

यसै वर्ष प्रकाशित एउटा अध्ययनमा औसतमा युरोपेली र दक्षिण अमेरिकी मानिसमा क्याफिनलाई तुलनात्मक रूपमा छिटो पचाउने प्रवृत्ति देखिएको छ।

अन्य के कारण हुन सक्छन्?

तर क्याफिनले व्यक्तिअनुसार फरक असर गर्नुको कारण 'डीएनए' मात्र भने होइन। धूम्रपानले (भेपिङले भने सम्भवतः होइन) कलेजोलाई क्याफिन छिटो 'मेटाबोलाइज' गर्न मद्दत गर्ने देखिन्छ। यसले शरीरले क्याफिनलाई प्रशोधन गर्ने गति ६५ प्रतिशतसम्म बढाउन सक्छ।

यसले धूम्रपान गर्ने मानिसहरूले किन तुलनात्मक रूपमा बढी कफी पिउँछन् भन्ने कुरा केही हदसम्म स्पष्ट पार्न सक्छ। त्यस्तै, धूम्रपान छाडेपछि उनीहरूले नियमित रूपमा पिउने एक कप कफीले पनि पहिलेभन्दा निकै कडा असर गरेको महसुस गर्न सक्छन्। यसको एउटा सम्भावित कारण धूम्रपानका कारण बढेको 'क्याफिन मेटाबोलिजम'को गति फेरि घट्नु हो।

केही एन्टिबायोटिक, गर्भनिरोधक चक्की तथा अन्य औषधिहरूले भने यसको विपरीत प्रभाव पार्न सक्छन्। यस्ता औषधिले क्याफिन शरीरमा लामो समयसम्म रहन सक्ने बनाउने भएकाले यसको प्रभाव पनि लामो समयसम्म रहन सक्छ।

गर्भवति भएको अवस्थामा पनि यस्तै हुन्छ किनभने त्यो समयमा हुने हर्मोन परिवर्तनले कलेजोमा क्याफिनलाई प्रशोधन गर्ने इन्जाइमको प्रक्रिया कम गर्छ।

नियमित रूपमा कफी पिउने मानिसको शरीर क्याफिनसँग अभ्यस्त हुँदै जान्छ र शरीरले जनाउने प्रतिक्रिया पनि कम हुँदै जान्छ।

तर त्यसपछि यदि तपाईँले केही साता कफी पिउनुभएन भने मस्तिष्कमा त्यसलाई बहन गर्ने प्रक्रिया उल्टिन थाल्छ। त्यसैले फेरि पहिलोपटक कफी पिउँदा तपाईँलाई सामान्य अवस्थामा भन्दा त्यसले बेचैन तुल्याएजस्तो महसुस हुन सक्छ।

विज्ञहरू के सुझाउँछन्?

निद्रासम्बन्धी अनुसन्धानकर्ताहरूले प्रायः सुत्नुभन्दा कम्तीमा छ घण्टा अगाडिदेखि क्याफिन सेवन नगर्न सुझाव दिन्छन्।

निद्राविज्ञ तथा मनोविद् डा. लिन्ड्से ब्राउनिङका अनुसार उपलब्ध प्रमाणहरूले क्याफिनले निदाउन कठिन बनाउने मात्र नभई निद्राको गुणस्तरमा समेत असर पार्न सक्ने देखाएका छन्।

"यदि तपाईँ राति करिब १० बजे सुत्न चाहनुहुन्छ भने दिउँसो दुई बजेपछि क्याफिन नलिन म सुझाव दिन्छु," उनले भनिन्।

"तर सबैका लागि एउटै नियम पनि उपयोगी हुँदैन किनभने यसले वास्तवमा प्रत्येक व्यक्तिको अवस्था र फरक फरक आवश्यकतालाई ध्यानमा राख्न सक्दैन।"

ब्रिटेनको 'एनएचएस'ले गर्भवती महिलाहरूलाई दिनमा २०० मिलिग्रामभन्दा कम क्याफिन खान सल्लाह दिन्छ। यो भनेको करिब दुई कप फिल्टर कफी बराबर हो। विभिन्न अध्ययनहरूले गर्भवतिले क्याफिन सेवन गर्दा बच्चा जन्मिँदा तौल कम हुन सक्ने वा अन्य जटिलता हुन सक्ने देखाएका छन्।

अन्य वयस्कहरूका लागि भने मुख्य सन्देश क्याफिनको सेवन सन्तुलित राख्नु हो। क्याफिनले व्यक्तिपिच्छे फरक प्रभाव पार्ने भएकाले आफूलाई कति र कुन समयमा सेवन गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ।

"क्याफिन तुलनात्मक रूपमा सुरक्षित हुन्छ," युनिभर्सिटी अफ ब्रिस्टोलका पोषणसम्बन्धी प्राध्यापक पिटर रोजर्सले भने।

"यदि तपाईँले धेरै पिउनुभयो भने त्यसले तपाईँलाई बेचैन बनाउँछ र नरमाइलो लाग्छ र तपाईँ आफैँ 'अब मैले रोक्नुपर्छ यो धेरै पिउनुको अर्थ छैन' भन्ने महसुस गर्न थाल्नुहुनेछ।"

कफीका पारखीहरूका लागि एउटा सुखद पक्ष के भने (महँगो भए पनि) बिहान नियमित रूपमा कफी पिउने बानीलाई राम्रो स्वास्थ्यसँग जोडिएको छ।

शोधकर्ताहरूले कफी नै यसको एकमात्र कारण हो भनेर प्रमाणित गर्न नसके पनि दशकौँदेखिका अध्ययनहरूले देखाएअनुसार ठिक्क मात्रामा कफी पिउने मानिसहरूमा केही प्रमुख रोगहरूको जोखिम कम हुने र कफी नपिउने मानिसहरूको तुलनामा उनीहरू केही बढी समय बाँच्न सक्ने सम्भावना देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।