अमेरिकी बोर्डर पट्रोल कमाण्डर तथा ट्रम्पको निर्वासन अभियानका प्रमुख ग्रेग बोभिनो को हुन्?

मुकुण्डोधारी एजेन्टहरूका बीचमा बोभिनो
तस्बिरको क्याप्शन, ग्रेग बोभिनोले उनका गतिविधिका कारण जनमानसका ध्यान खिचेका छन्
    • Author, बीबीसी विश्व सेवा
  • Published
  • पढ्ने समय: ६ मिनेट

सघन उपचार कक्षमा काम गर्ने पुरुष नर्स एलेक्स प्रेटी यसै महिना इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समन्ट (आइस) का अधिकारीहरूले सञ्चालन गरेको कारबाहीका क्रममा ज्यान गुमाउने दोस्रो अमेरिकी नागरिक हुन्।

गत ७ ज्यानुअरीमा मिनिसोटा राज्यको मिनियापोलिसमै एक अमेरिकी आप्रवासन अधिकारीले चलाएको गोली लागेर ३७ वर्षीया रेनी गुडको मृत्यु भएको थियो।

यी दुई अमेरिकी नागरिकको मृत्युका घटनाले बोर्डर पट्रोल कमाण्डर ग्रेग बोभिनोमाथि सार्वजनिक ध्यान केन्द्रित गराएको छ।

उनी अहिले राष्ट्रपति डोनल्ड ट्रम्पको ठूलो स्तरमा देश निकाला गर्ने नीति कार्यान्वयन अभियानको सार्वजनिक मुहारका रूपमा देखा परेका छन् जुन ट्रम्पको चुनावी अभियानको मुख्य वाचा थियो।

सामाजिक सञ्जालमा तथा प्रदर्शनकारीविरुद्ध मैदानमा देखिएको उनको सक्रियताले उनलाई जनमानसको आँखामा पर्न मद्दत गरेको छ।

प्रेटीले सङ्घीय अधिकारीहरूको "नरसंहार" गर्न चाहेको दाबी गर्ने बोभिनोलाई धेरैले गोलीकाण्डपछि घटनास्थलको वातावरण झन् बिगार्ने व्यक्तिका रूपमा लिएका छन्।

उनले अब मिनिसोटा छाड्ने ठानिएको छ जसले आप्रवासनको कडाइबारे प्रशासनिक दृष्टिकोणमा सम्भावित परिवर्तनको सङ्केत दिन सक्छ।

एलेक्स प्रेटीको सम्झनामा भेला भएका मानिसहरू
तस्बिरको क्याप्शन, एलेक्स प्रेटीको सम्झनामा भेला भएका मानिसहरू

'टर्न एन्ड बर्न'

हालैका दिनमा बोभिनोले अमेरिकाको उत्तरी भागमा अवस्थित र मुख्यतया: डेमोक्र्याटहरूको बाहुल्यता रहेको सहर मिनियापोलिसमा गरिएका कारबाहीहरूको बचाउ गरेका छन्। "सीमा सुरक्षा अधिकारीहरू यहाँका पीडित हुन्," सीएनएनको एउटा कार्यक्रममा उनको भनाइ उद्धृत गर्दै समाचार संस्था रोएटर्सले जनाएको छ।

केही सोमाली आप्रवासी राज्यको कल्याणकारी कार्यक्रमहरूमा ठगी गरेको मुद्दामा दोषी ठहरिएपछि डिसेम्बरमा मिनियापोलिसमा उक्त कारबाही थालिएको थियो। उक्त राज्यमा देशकै सबैभन्दा ठूलो सोमाली आप्रवासी समुदायको बसोबास छ र उनीहरूमध्ये अधिकांश अमेरिकी नागरिक हुन्।

पचपन्न वर्षजतिको उमेरका बोभिनोले गत वर्ष लस एन्जलस र सिकागो लगायतका ठाउँहरूमा चलाइएका उच्च स्तरका अध्यागमन कारबाहीको पनि नेतृत्व गरेका छन्।

उनी आफ्नो "टर्न एन्ड बर्न" रणनीतिका लागि परिचित छन्, जसमा प्रदर्शनकारीहरू आइपुग्नु अगावै कारबाही चलाएर तत्काल त्यो ठाउँ छाड्ने गरिन्छ।

उनले उक्त रणनीतिलाई यस प्रकारले वर्णन गरे: "हामी एउटा लक्षित स्थानबाट अर्को, त्यसपछि अर्को र अनि अर्को गर्दै अघि बढ्नेछौँ, र हामी रोकिने छैनौँ।" उनले गतवर्ष समाचार संस्था एपीलाई त्यसो भनेका थिए।

बोभिनो

विवादास्पद तरिका

बोभिनोले पूर्व सरकारी अभियोजकहरूबाट आलोचना खेप्नु परेको छ। इलिनोइ राज्यको कुक काउन्टीका पूर्व सहायक न्यायाधिवक्ताअर्भ मिलरले बीबीसीलाई बताएअनुसार उनी बोभिनोले "आफ्नो निकायका आन्तरिक नीतिहरूको उल्लङ्घन गरेको" ठान्छन् र प्रशासनद्वारा त्यसको छानबिन गरिनु पर्ने बताउँछन्।

हाल शिकागोको सीबीएस-टीभीका निम्ति कानुनी विश्लेषक रहेका मिलरले छानबिनमा "आफ्नो पदमा रहँदा नियम तथा कानुनहरू उल्लङ्घन गरेका पाइएमा" बोभिनोलाई बर्खास्त गरिनुपर्ने बताए।

त्यस्तै मिनिसोटाकी पूर्व अमेरिकी न्यायाधिवक्ता रचेल पाउलोजले बीबीसीसँग कुरा गर्दै उक्त कारबाहीले आफ्ना घोषित उद्देश्यहरू पूरा गर्न नसकेकोमा चिन्ता व्यक्त गरिन्।

"त्यसको केन्द्रमा बलात्कारी, हत्यारा, बाल यौनदुराचारी र मानव तस्करहरू थिए। ती अझै प्राथमिकतामा छन् भने त्यो सन्देश फैलाइनुपर्छ... तर त्यसो भइरहेको छैन भने चाहिँ हामी आफ्नो लक्ष्यबाट भड्किरहेका छौँ।"

शिकागोमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै सङ्घीय आप्रवासन अधिकारीहरू
तस्बिरको क्याप्शन, शिकागोमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिँदै सङ्घीय आप्रवासन अधिकारीहरू

प्रारम्भमा ट्रम्प प्रशासनले अध्यागमन कारबाहीमा आफ्नो समर्थन जनाइराख्यो।

ट्रम्पले २५ ज्यानुअरीमा द वाल स्ट्रिट जर्नललाई भने: "मलाई कुनै पनि किसिमको गोली चलेका घटना मन पर्दैन। त्यो म रुचाउँदिन।"

उनले थपे: "तर कुनै व्यक्ति पूरै गोलीले भरिएका म्यागजिनसहितको बन्दुक बोकेर विरोध प्रदर्शनमा जान्छ भने त्यो पनि मलाई मन पर्दैन। त्यो पनि राम्रो कुरा होइन।"

यद्यपि त्यस्तो दाबीलाई प्रत्यक्षदर्शी, स्थानीय अधिकारीहरू र प्रेटीको परिवारले चुनौती दिएका छन्।

भिडिओ फुटेजमा प्रेटीले आफ्नो मोबाइल फोनबाट 'आइस' एजेन्टहरूको भिडिओ खिचिरहेको र दुवैमाथि 'पेपर स्प्रे' प्रहार हुनुअघि ढलेकी एक महिलालाई मद्दत गरिरहेको देखिन्छ।

एलेक्स प्रेटी
तस्बिरको क्याप्शन, २४ ज्यानुअरीमा अध्यागमन अधिकारीले चलाएको गोली लागि मारिएका एलेक्स प्रेटी

प्रशासनले स्थितिलाई शान्त पार्न आफ्नो रणनीति बदल्न लागेको देखिन्छ। ट्रम्पले मिनिसोटाको कारबाही हेर्न भनेर उनका बोर्डर जार वा सीमा मामिला प्रमुख भनेर चिनिने टम होमनलाई पठाउँदै छन्।

उत्तर अमेरिकी संवाददाता एन्थोनी जर्कर लेख्छन्, होमनलाई "अधिक सन्तुलित र राजनीतिक रूपमा सजग अधिकारी" ठानिन्छ।

सोमबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले पनि उक्त मामिलामा पूर्ण छानबिन गरिने बताएकी छन्।

बोभिनो

तीस वर्षको अनुभव

कारबाहीमा खटिने अधिकांश सङ्घीय अधिकारीहरूका विपरित बोभिनो प्रायः नकाब नलगाई देखा पर्छन्। उनले प्राय: लगाउने लामो र ओलिभ ग्रीन रङ्गको कोटले पनि उनलाई चर्चाको विषय बनाएको छ।

सीएनएनका अनुसार नर्थ क्यारोलिनाका बासिन्दा बोभिनो सन् १९९६ मा सीमा गस्ती गर्ने फौज बोर्डर पट्रोलमा भर्ती भएका थिए। ३० वर्षे करिअरमा उनले वासिङ्टन डिसीदेखि न्यू अर्लियन्सका साथै होन्डुरस र अफ्रिकाजस्ता विदेशी स्थलहरूमा समेत काम गरेका छन्।

सीएनएनका अनुसार सन् २०२० मा उनी दक्षिणी क्यालिफोर्नियाको अल सेन्ट्रो सेक्टरको चिफ पट्रोल एजेन्ट चुनिए। तर एपीको विवरणअनुसार सन् २०२३ मा विवादास्पद सोसल मिडिया पोस्टहरूका कारण उनलाई उक्त कमाण्डबाट हटाइयो र अवकाश लिन प्रोत्साहित गरियो।

तर सन् २०२५ मा ट्रम्प प्रशासनअन्तर्गत लस एन्जलसमा अध्यागमन कारबाहीको नेतृत्व गर्न उनी फेरि आए र उनले अन्य अमेरिकी सहरहरूमा भएका कारबाहीको पनि रेखदेख गरेका छन्।

न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्ताका अनुसार उनी भालुको शिकार गर्न रमाउँछन्।

"मानिसहरू कहिलेकाहीँ उनको स्वभावका कारण उनको बुद्धिमत्तालाई कम आँक्छन् तर उनी असाध्यै चतुर छन्," बोर्डर पट्रोलका पूर्वप्रमुख तथा बोभिनोका साथी जेसन अवेन्सले सोही लेखमा भनेका छन्।

"उनको स्वभाव ग्रामीण भेगको मान्छेको जस्तो छ। उनको लवजका कारण धेरैले उनलाई बेवास्ता गर्न सक्छन्। त्यसो गर्दा तिनैलाई समस्या हुन सक्छ।"

मिनियापोलिसमा रेनी गुडको ज्यान जाने गरी भएको कारबाहीपछि भएको विरोधमा उत्रिएका प्रदर्शनकारी र तिनलाई तान्दै सङ्घीय अधिकारी
तस्बिरको क्याप्शन, मिनियापोलिसमा रेनी गुडको ज्यान जाने गरी भएको कारबाहीपछि भएको विरोधमा उत्रिएका प्रदर्शनकारी र तिनलाई तान्दै सङ्घीय अधिकारी

'आइस' के हो?

'आइस' अध्यागमन कानून लागु गर्ने एउटा सङ्घीय निकाय हो। यसले कागजात नभएका आप्रवासीहरूको अनुसन्धान गर्छ।

यसले कागजात नभएका आप्रवासीहरूलाई अमेरिकाबाट हटाउन पनि भूमिका खेल्छ।

'आइस'ले अमेरिका भित्रै रहेर काम गर्छ तर यसका केही कर्मचारीहरू विदेशमा पनि छन्। यसको भगिनी निकाय 'यूएस कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन'ले चाहिँ प्राविधिक रूपमा देशभित्र नभइ देशको सिमानामा गस्ती गर्छ।

तर आप्रवासन नीति लागु गर्न ट्रम्प प्रशासनले विभिन्न सङ्घीय कानुन कार्यान्वयन निकायका अधिकारीहरूलाई परिचालन गर्न थालेपछि ती निकायका भूमिका थप अस्पष्ट भएको छ।

सीमा गस्ती अधिकारीहरूको अमेरिका भित्रै 'आइस'सँगको कारबाहीमा सक्रिय हुने क्रम बढ्दै गएको छ।

घातक गोलीकाण्डमा प्रेटीको ज्यान जानुभन्दा एक दिनअघि ज्यानुअरी २३ मा संयुक्त राष्ट्रसङ्घको मानवाधिकार कार्यालयले गत वर्ष 'आइस'को हिरासतमा कम्तीमा ३० जनाको मृत्यु भएको र यो वर्ष थप ६ जनाको मृत्यु भएको विवरण दिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।