अमेरिका-क्यानडा विवाद: ट्रम्पसँगको सम्झौता अस्वीकार गरेपछि अब कार्नीको परीक्षा

डोनल्ड ट्रम्प र मार्क कार्नी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिका र क्यानडा निकट आर्थिक साझेदार रहँदै आएका छन्
    • Author, जेसिका मर्फी
    • Role, क्यानडा डिजिटल सम्पादक, टोरन्टो
  • Published
  • पढ्ने समय: ४ मिनेट

अमेरिका र क्यानडा अनिश्चयपूर्ण क्षेत्रमा प्रवेश गरेका छन्।

लामो समयदेखिका मित्र तथा आर्थिक साझेदार यी दुई देशले दशकौँसम्म खुला व्यापार गरेका थिए। तर अब यी दुई देश कुनै निकास नदेखिएको व्यापार युद्धमा होमिन लागेका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीका निम्ति आधा रातमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुनै लागेको भनिएको व्यापार वार्ता तोडेर बदलाको कारबाहीमा उत्रने निर्णय एउटा जटिल राजनीतिक परीक्षा हुने छ।

अन्तिम घडीको निर्णय

ह्वाइटहाउससँगको वार्ताको टेबुलबाट फर्कने निर्णय गर्ने उनी पहिलोमध्येका विश्व नेतामा परेका छन्। अब यसको परिणामलाई धेरैले नियाल्ने छन्।

दुवै पक्षले अन्तिम घडीमा एक अर्काले गरेका परिवर्तनहरूका कारण हुनै लागेको व्यापार सम्झौता भाँडिएको भनेका छन्।

कार्नीले अमेरिकाले "अति धेरै माग राखेको" तर "अति कम माग मानेको" भनेका छन्।

अमेरिकासँग थप सहुलियतका निम्ति प्रयास गरिरहेको क्यानडाका जनतालाई अब कार्नीको निर्णयले केही आर्थिक पीडा पुग्न सक्ने चुनौती थपिदिएको छ।

ट्रम्पको चर्को दबाबपूर्ण नीतिलाई अस्वीकार गर्दै वृद्धि हुने आयात शुल्कको बदला लिने निर्णय गरेका कार्नीले क्यानडाका जनतालाई आगामी दिनमा आइपर्ने आर्थिक पीडा दीर्घकालमा राम्रो सम्झौता हासिल गर्नका निम्ति आवश्यक छ भनेर बुझाउन पर्ने हुन्छ।

शनिवार टिप्पणी गर्दै उनले भने: "क्यानडाको उत्तम स्वार्थका लागि अनुकूल भएको विश्वासमा हामीले यो कदम चालेका छौँ।"

साथै उनले अन्तिम घडीमा फेरबदल गर्न खोजेर "शक्ति प्रदर्शन" गर्न खोजेको अमेरिकामाथि आरोप लगाए।

व्यापार युद्ध

एकजना पत्रकारले के अब अमेरिका र क्यानडा व्यापार युद्धमा होमिएका हुन् भनेर सोध्दा कार्नीले भने: "तपाईँमाथि हमला भयो भने युद्धमा होमिनु पर्छ – (यहाँ) हामीमाथि हमला भएको छ।"

व्यापार विवाद आफ्नो रोजाइ नभएको भन्दै कार्नीले क्यानडा बलियो, तम्तयार र एकताबद्ध भएको पनि बताए।

पछिल्लो घटनाक्रमले दुवै देशलाई प्रभाव पर्नेमा दुविधा छैन। व्यापारहरूले अमेरिकी आयात शुल्क अनि तिनको बदलामा क्यानडाले लगाएका आयात शुल्क झेल्नु पर्ने छ।

क्यानडाले उसको ७० प्रतिशत निर्यात अमेरिकातर्फ गर्छ। मिशिगन, केन्टकी, इन्डियाना र ओहायोजस्ता कतिपय अमेरिकी राज्यहरूका निम्ति क्यानडा सबभन्दा ठूलो व्यापार साझेदार हो।

क्यानडेली प्रधानमन्त्री मार्क कार्नी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकासँगको व्यापार वार्ता भाँडिएपछि क्यानडेली नेताको पनि राजनीतिक परीक्षा हुने छ

ट्रम्पले अघि सारेको "अमेरिका पहिले" भन्ने नीति र त्यसअन्तर्गत अमेरिकाले अपनाउँदै आएको चर्को आर्थिक दबाबसँग जुझ्ने वाचा गर्दै कार्नी क्यानडाको सत्तामा आएका थिए।

जनमत सर्वेक्षणहरूमा कतिपय क्यानडाका नागरिकहरूले उनीहरू अमेरिकासँग जुझ्न तयार भएको बताइरहेका छन्।

अबेकस डेटाले गरेको एक ताजा सर्वेक्षणमा ३६ प्रतिशत क्यानडाका नागरिकहरू अमेरिकी शुल्कको बदला लिने नीतिको समर्थनमा देखिए।

त्यस्तै लेजरले गरेको सर्वेक्षणमा चाहिँ ५६ प्रतिशत क्यानडाका नागरिकहरू सङ्घीय सरकारले कडा नीति अङ्गीकार गर्नु पर्ने र अमेरिकालाई थप सहुलियत दिन नहुने पक्षमा देखिए।

अमेरिकी ट्यारिफका कारण निराश क्यानडेलीहरू धेरैले अमेरिका भ्रमण त्याग्न थालेका छन्। उनीहरूको बहिष्कारले अमेरिकालाई गत वर्ष झन्डै अढाई अर्ब डलर बराबरको पर्यटन आम्दानीमा घाटा लागेको बताइएको छ।

क्यानडाका अधिकांश प्रान्तहरूले तिनको पसलबाट अमेरिकी मदिरा हटाइदिएपश्चात् क्यानडामा अमेरिकी वाइनको निर्यात ७८ प्रतिशतले घटेर झन्डै ३६ करोड डलर बराबरको निर्यात मूल्यमा घाटा भएको अमेरिकी व्यापार आँकडामा देखिएको छ।

कुरा कहाँ बिग्रियो?

व्यापार वार्ताका अन्तिम घडीमा कसरी कुराकानी भाँडियो भन्ने प्रस्ट भइसकेको छैन।

अमेरिकाले पछिल्लो घडीमा अघि सारेका विषयलाई कार्नीले "अन्यायपूर्ण" अनि तिनमा अर्थतन्त्रसँग असम्बद्ध विषय रहेको भन्दै तिनले कुनै पनि सम्झौताको दिगोपनामाथि समेत प्रश्न उठाएको बताए।

अटोमोबाइल क्षेत्रमा गरिएका मागहरू अनि अन्य देशसँग क्यानडाका व्यापार सम्झौतामाथि थोपर्न खोजिएका "अस्वीकार्य" सर्तहरू आफू पछि हट्नु पर्ने कारण रहेको कार्नीले शनिवार बताए।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिअरले चाहिँ "क्यानडाले नयाँ मागहरू थोपरेको र अन्य प्रतिबद्धताहरूबाट पछि हटेको" आरोप लगाए।

अमेरिकाको डिस्टिल्ड स्पिरिट्स काउन्सिलले चाहिँ अमेरिकी मदिरालाई तिनको पसलमा राख्न क्यानडाका प्रान्तहरूले निरन्तर अस्वीकार गरेकाले यस्तो परिणाम आएको भनेको छ।

साथै अमेरिकी वाणिज्य मन्त्री हवार्ड लुटनिक सम्झौतासँग बेखुसी भएको क्यानडाका सञ्चारमाध्यमहरूले विवरण दिएका छन्। बीबीसीले यसबारे उनको कार्यालयसँग प्रतिक्रिया मागेको छ।

क्यानडाका कन्जर्भेटिभ विपक्षी नेता पियर पोइलिएभले क्यानडेली उद्योगहरूमाथि थोपरिने "एक पक्षीय" ट्यारिफ समेटिने कुनै पनि सम्झौता "खराब" हुने टिप्पणी गरे।

शनिवार बोल्दै उनले सम्झौताबाट तत्कालका निम्ति अलग्गिने कार्नीको निर्णयको बचाउ गरे। उनले भने: "हाम्रो देशलाई औद्योगीकरणबाट विमुख गराउने एक पक्षीय ट्यारिफ क्यानडाका निम्ति स्वीकार्य छैन।"

सम्झौता भाँडिएपछि अब उक्त व्यापार वार्ताका भविष्यमाथि तथा अमेरिका-मेक्सिको-क्यानडाबीचको स्वतन्त्र व्यापार सम्झौताको जारी समीक्षामाथि पनि प्रश्न उठेका छन्।

अब कार्नी – र क्यानडाले – ट्रम्पले कस्तो प्रतिक्रिया जनाउने छन् भनेर पर्खनु पर्नेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।