एअर इन्डियाका पाइलटले गाँजा सेवन गरेको विवरण, यस्ता छन् अनुसन्धानबारे अनुत्तरित प्रश्नहरू

तस्बिर स्रोत, Bloomberg via Getty Images
- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता
- Published
- पढ्ने समय: ६ मिनेट
उडानपछि गरिएको परीक्षणमा एअर इन्डियाका एकजना पाइलटले गाँजा सेवन गरेको देखिएको विवरणले उडानको अनुसन्धान गरिरहेकाहरूलाई चकित पारेको छ।
यद्यपि उक्त परीक्षणको नतिजा आधिकारिक रूपमा पुष्टि भएको छैन। यदि पुष्टि भएमा समेत त्यही नै निर्णायक कारण नहुन सक्छ।
गत अगस्ट ४ मा थाईल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको एअर इन्डियाको एअरबस ए३२० विमानले अचानक करिब ३०० फिट उचाइ कम गर्दा १३ जना यात्रु र चार जना चालकदलका सदस्य घाइते भए।
कुल १३७ जना यात्रु र आठ जना चालकदलका सदस्य लिएर उडेको उक्त विमान सुरक्षित रूपमा दिल्लीमा अवतरण गरेको थियो। उक्त उडानबारे अनुसन्धान भइरहेको छ।
भारतको उड्डयन मन्त्रालयले सो उडानपछि दुवै पाइलटको मादक पदार्थको नियमित परीक्षण गरिएको जनाएको छ।
मन्त्रालयले क्याप्टेनको प्रारम्भिक परीक्षण पुष्टिका लागि दोस्रो परीक्षण गर्नुपर्ने आवश्यक भएको भन्दै अनुसन्धान पूरा नभएसम्म दुवैजनालाई उडानमा रोक लगाइएको जनाएको छ।
केही सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै दोस्रो परीक्षणमा क्याप्टेनले गाँजा प्रयोग गरेको पुष्टि भएको दाबी गरेका थिए। एअर इन्डियाले यसको पुष्टि गरेको छैन।
यी समाचारसँगै भारतमा पाइलटहरूको लागुऔषध परीक्षण र उड्डयन सुरक्षाबारे व्यापक बहस सुरु भएको छ।
अहिलेसम्म विमानको उचाइ अचानक कम गरिएको घटना र पाइलटको लागुऔषध परीक्षणको नतिजाबीच सम्बन्ध पुष्टि भएको छैन।
अनुसन्धानमा संलग्नहरूले व्यापक दायराबाट यसलाई हेरिरहेका छन्। जसमा प्राविधिक कारण, सञ्चालनसम्बन्धी कारण, स्वास्थ्य तथा मानवीय पक्षहरूबारे अध्ययन भइरहेको छ।
त्यसमा गाँजा पनि कारण थियो कि थिएन भन्ने स्वाभाविक प्रश्न छ।
तर अर्को पनि प्रश्न छ: गाँजा सेवन देखिनुले त्यसको केही घण्टाअघि पाइलटको मानसिक अवस्था कस्तो थियो भन्नेबारे के थाहा हुन्छ?
गाँजाको असरबारे अध्ययनले के देखाए?

तस्बिर स्रोत, Getty Images
गाँजाले जटिल काम गर्ने क्षमतामा कस्तो असर पार्छ भन्नेबारे कैयौँ अध्ययनहरू भएका छन्।
तर गाँजा सेवन गरेको परीक्षणमा देखिएका व्यक्तिको तत्कालीन कार्यक्षमता कस्तो हुन्छ भन्ने भरपर्दो जानकारी कम छ।
यसबारे एक प्रारम्भिक अध्ययन सन् १९७६ मा गरिएको थियो। परीक्षणका लागि १० जना पाइलटहरूले थोरै मात्रामा गाँजा सेवन गरेर उडान सिमुलेटर प्रयोग गरेका थिए।
अध्ययनले उनीहरूको उचाइ नियन्त्रण, दिशा निर्धारण र रेडिओ नेभिगेसनमा त्रुटि बढेको देखायो।
यी असर कम्तीमा दुई घण्टासम्म देखिएका थिए र सामान्यतया चारदेखि छ घण्टापछि हराएका थिए।
एक दशकपछि अनुसन्धानकर्ताहरूलाई गाँजाको मुख्य असर कम हुँदै जाँदा कस्तो असर पर्छ भन्ने बुझ्न मन लाग्यो।
उक्त परीक्षणका लागि १० जना अनुभवी निजी पाइलटलाई गाँजा सेवन गरेको २४ घण्टापछि सिमुलेटर प्रयोग गर्न लगाइयो।
उनीहरूले सटीक रूपमा गराउने अवतरण, यन्त्र नियन्त्रण तथा उडान मार्ग कायम राख्ने क्षमतामा कमी देखिएको थियो। पाइलटहरूले आफ्नो प्रदर्शन खराब भएको कुरा नै महसुस नगरेको विषयले अनुसन्धानकर्मीलाई थप झस्कायो।
त्यसपछि सन् १९९१ मा गरिएको अर्को चरणको अध्ययनले पनि यस्तै निष्कर्ष निकाल्यो।
गाँजामा हुने तत्त्व मिसाएर तयार गरिएको चुरोट सेवन गरेको १५ मिनेट, चार घण्टा, आठ घण्टा र २४ घण्टापछि गरिएको परीक्षणमा पनि उनीहरूको प्रदर्शन कमजोर देखिएको थियो।
सेवनको २४ घण्टापछि पनि परीक्षणमा सहभागी नौ जनामध्ये सात जनामा अलिअलि असर देखिएको थियो। उनीहरूमध्ये एक जनाले मात्र नसाको असरबारे आफूलाई जानकारी भएको बताएका थिए।
यद्यपि यी अध्ययनहरू पुराना हुने र थोरै मानिसहरूमा गरिएको परीक्षणमा आधारित हुन्।
त्यसबेला आधुनिक विमानमा नभई सिमुलेटरमा गरिएको अध्ययन भएका कारण एअर इन्डियाको ककपिटमा के भयो भन्ने यसले नबताउन सक्छ।
तर विज्ञहरू यसले गाँजाले हाम्रो एकाग्रता र उडानका क्रममा आवश्यक विषयमा असर पर्ने थाहा पाउन यो अध्ययन सहयोगी हुने बताउँछन्।
अस्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोका उड्डयन चिकित्सा विशेषज्ञ डेभिड न्यूम्यानले गरेको समीक्षाले पनि समान किसिमको निष्कर्ष निकालेको छ।
गाँजाले आनिबानी, सोच्ने–बुझ्ने क्षमता तथा मनोक्षमतामा सेवनको मात्राअनुसार असर गर्छ।
विमान उडाउनुजस्ता जटिल कार्यहरू गाँजा सेवनपछि संवेदनशील हुन्छन्। उनको समीक्षाले गाँजाको केही प्रभाव २४ घण्टासम्म रहन सक्ने कुराको प्रमाण पनि फेला पारेको छ।
तर गाँजाको प्रयोग विश्वका धेरै ठाउँमा व्यापक बन्दै जाँदा विज्ञान थप जटिल बनेको छ।
गाँजाको असर कति समयसम्म रहन्छ?
क्यालिफोर्निआ विश्वविद्यालयका अनुसन्धानकर्ता थोमस मार्कोटको नेतृत्वमा सन् २०२२ मा १९१ जना नियमित गाँजा प्रयोगकर्तामाथि एक अनुसन्धान गरिएको थियो।
अध्ययनले गाँजा सेवनपछि उनीहरूको कार्यक्षमता सुरुआतमा कमजोर भएको देखायो। तर करिब साढे चार घण्टापछि उनीहरूको कार्यप्रदर्शन गाँजा सेवन नगर्ने व्यक्तिसँग करिब समान स्तरमा पुगेको थियो।
यो निष्कर्षले उड्डयन परीक्षणमा ठूलो महत्त्व राख्छ।
कहिलेकाहीँ गाँजा सेवनपछि पनि यसको अवशेष रगतमा हप्तौँसम्म देखिन सक्छ। त्यस्तव विशेष गरी नियमित प्रयोगकर्ताहरूमा हुन्छ। तर सामान्यतया गाँजा सेवनपछि हुने कार्यक्षमतासम्बन्धी असर तीनदेखि पाँच घण्टासम्म रहने अध्ययनहरूले देखाएका छन्।
धूमपानको माध्यमबाट लिइने गाँजाजन्य पदार्थ भन्दा खानेकुराको रूपमा लिइने गाँजाको असर अझै लामो समयसम्म रहन सक्छ।
खाएको गाँजाको असर सामान्यतया छ देखि आठ घण्टासम्म र त्यो भन्दा लामो समयसम्म पनि रहने अध्ययनहरूले देखाएका छन्।
यही कारण गाँजा सेवनको परीक्षणबारे विश्वव्यापी स्वीकार्य मापदण्ड बन्न सकेको छैन।
क्यानडाले रमाइलो प्रयोजनका लागि गाँजा वैधानिक बनाएपछि वायुसेवा क्षेत्रका कर्मचारी र उडान नियन्त्रकलाई काममा जानु भन्दा २८ दिन अघिसम्म गाँजा प्रयोग गर्न नपाइने कडा नियम लागु गरेको छ।
गाँजाले पुर्याउने अनिश्चितताका कारण यस्तो नियम लागु गरिएको क्यानडाको नियामक निकायको भनाई छ।
अमेरिकाको न्याश्नल ट्रान्सपोर्ट सेफ्टी बोर्डले सन् २०२६ मा गरेको अध्ययनमा सन् २०१८ र २०२२को बीमा भएका उड्डयन दुर्घटनामा मारिएका पाइलटमध्ये ५२ प्रतिशतमा कुनै न कुनै लागुऔषध प्रयोगका अवशेष भेटिएका थिए।
तर उक्त अध्ययन पाइलटहरूमा त्यसको असर बाँकी नै थियो कि थिएन भन्नेमा केन्द्रित थिएन।
कसैको शरीरमा गाँजाको तत्त्व भेटिँदैमा कुनै पनि घटना वा दुर्घटनाको कारण त्यही हो भनेर ठोकुवा गर्न कठिन हुन्छ।
थप अनुसन्धानले उठाएका प्रश्न

तस्बिर स्रोत, LightRocket via Getty Images
अनुसन्धानकर्ताहरू त्यसभन्दा पनि अगाडी बढेर खोज गरेका छन्।
सन् २०११ मा क्यानडाको एक विमान दुर्घटनामा पाइलटको रगतमा ५०.१ नानोग्राम प्रतिमिलिलिटर गाँजामा पाइने तत्त्व भेटिएको थियो।
यो मात्रा ती पाइलटको उडान योजना र क्षमतामा असर पार्न पर्याप्त रहेको त्यहाँको यात्रा सुरक्षा निकायले जनाएको थियो। तर यसको ठिक उल्टो पनि परिणाम भएका छन्।
सन् २०१७ न्यूजिल्यान्डको एक हेलिकप्टर दुर्घटनापछि भएको अनुसन्धानले पइलटले गाँजा सेवन गरेको दुई दिन पछिसम्म पनि उनको रगतमा गाँजाको तत्त्व रहेको देखाएको थियो।
त्यसपछि गरिएका फरेन्सिक जाँचहरूले उनमा गाँजाको असर नरहेको र दुर्घटनामा पनि गाँजा सेवन कारण नरहेको देखाएका थिए।
रगतमा गाँजाको मात्रा देखिँदैमा त्यसको असर शरीरमा हुन्छ भन्ने अवस्था नरहने विगतका अध्ययनहरूले देखाएका छन्।
एअर इन्डियाको हकमा सबैभन्दा पहिले अनुसन्धानकर्ताहरूले दोस्रो पटकको जाँचमा पनि गाँजाको मात्रा रहेको पुष्टि गर्नु पर्छ।
उनीहरूले परीक्षण गरेको नमूना र त्यसमा रहेका अवशेषबाट प्रयोगको समयबारे पत्ता लगाउनु पर्छ।
अनि एअर इन्डियाले पनि आफ्ना सबै पाइलटहरूलाई परीक्षण गराउनु पर्छ। अहिले १० प्रतिशत पाइलटको जाँच गरे पुग्ने दायरा फराकिलो बनाउनु पर्छ।
मार्कोटका अनुसार पिसाब, रगत र र्यालबाट पनि गाँजाको तत्त्वबारे थाहा हुन सक्छ। तर त्यो कति समय अघि प्रयोग गरिएको थियो भन्ने पत्ता लगाउन कठिन हुन्छ।
र्यालबाट केही घण्टा अघिसम्म गाँजा प्रयोग भएको पत्ता लाग्न सक्छ।
तर विज्ञहरू ती पाइलटले गाँजा सेवन गरेका थिए वा थिएनन् भन्ने प्रश्नको उत्तर मात्रै सबैथोक नरहेको बताउँछन्।
यसका तीन वटा पक्ष छन्। के गाँजा प्रयोग भएको थियो? उडानका समय पाइलटमा त्यसको असर बाँकी थियो? अनि विमानको उचाइ अचानक कम हुनुमा त्यसको असर थियो?
पहिलो प्रश्नको उत्तर सहजै भेटिन पनि सक्छ तर बाँकी दुई प्रश्नको उत्तर पाउन जटिल छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















