वजन घटाउने सुईबाट तौल त घट्यो तर छाला पनि खुकुलो भयो

सेल्फी खिच्दै गरेकी एमिली
तस्बिरको क्याप्शन, खुकुलो छालाले आफ्नो आत्मविश्वासमा कमी ल्याएको एमिली बताउँछिन्
    • Author, ग्रेस डिन र जोर्ज स्यान्डम्यान
  • Published
  • पढ्ने समय: ५ मिनेट

वजन घटाउने सुईको मद्दतले डिसेम्बरयता लगभग साढे छ किलोग्राम वजन घटाएपछि, एमिली मुर्रे आफ्नो पहिलाको शरीरबारे नचाहिँदो सम्झना गर्छिन् - त्यो हो खुकुलो छाला।

'म जे लगाउन चाहन्छु, त्यो लगाउन सक्दिनँ,' लिभरपुलकी ३५ वर्षीया उनले भनिन्।

"म मेरो खुट्टाबाहिर निकाल्न सक्दिनँ। किनकि छाला मेरो घुँडामाथि झोलिन्छ।

जबकि उनी आफ्नो स्वास्थ्यको फाइदाका लागि वजन घटाएकोमा पछुतो मान्दिनँ। तर तिघ्राको खुकुलो छालाले "वास्तवमै आत्मविश्वासमा कमी ल्याउँछ"। किनभने यसले उनलाई आत्मसचेत महसुस गराउँछ।

"यो सबै लुगाले छोप्दा ठीक देखिन्छ, तर त्यसपछि मलाई लाग्छ, जब म मेरो कपडा फुकाउल्छु, म ९० वर्षीया महिला जस्तो देखिन्छु। यो एकदमै डरलाग्दो हुन्छ।"

इङ्गल्यान्ड, वेल्स र स्कटल्यान्डमा तौल घटाउने क्लिनिकहरूमा विशेष बिरामीहरूका लागि एनएचएसमा वजन घटाउने इन्जेक्सन वेगोभी उपलब्ध भएको दुई वर्ष पूरा भएको छ। सन् २०२३ देखि निजी तवरमा यो उपलब्ध हुँदै आएको छ।

अर्को तौल घटाउने औषधि मौन्जारो सन् २०२४ को फेब्रुअरीमा निजी तवरमा र जूनमा एनएचएसमार्फत्‌ उपलब्ध भयो। भोक मारेर काम गर्ने औषधिहरू सबैका लागि उपयुक्त हुँदैनन् र यिनका गम्भीर असरहरू हुन सक्छन्।

एमिली मुर्रे ऐना अगाडि सेल्पी खिच्दै
तस्बिरको क्याप्शन, एमिली खुकुलो छालाले आफूलाई आत्मसचेत महसुस गराउने बताउँछिन्

धेरै व्यक्तिहरूले घरमै लगाउन सकिने खोपले छिटो वजन घटाउन मद्दत गर्ने बताउँछन्। तर केहीले उनीहरूको हात, पेट, स्तन र तिघ्रा हरू अब कस्तो देखिन्छन् भनेर उनीहरूको आत्मविश्वासमा कमी आएको महसुस गरिरहेका छन्।

केहीले उनीहरूको गाला र घाँटीमा छाला खुकुलो भएको याद गर्छन् जसलाई सामाजिक सञ्जालमा "ओजेम्पिक अनुहार" भनेर चिनिन्छ।

जब कसैको वजन बढ्छ उनीहरूको छालाले त्यसलाई स्वीकार्ने र तन्किने, तर जब उनीहरूले वजन घटाउँछन्, उनीहरूको छाला तन्किरहने र पहिलाको अवस्थामा नफर्किने ब्रिटिश असोसिएशन अफ एस्थेटिक प्लास्टिक सर्जन (बीएएपीएस) की अध्यक्ष नोरा नुगेन्ट बताउँछिन्।

उनले भनिन्, "जति छिटो [तौल घट्छ], छाला त्यति नै खुकुलो हुन्छ।"

केही अवस्थाहरूमा खुकुलो छालाले जलन र सङ्क्रमण निम्त्याउन सक्छ भने धेरै व्यक्तिहरूका लागि प्रभावहरू कम गम्भीर र अनावश्यक झिँजो लाग्दो बढी हुन्छ।

वजन घटाउने औषधिहरूमा काम गर्ने अनलाइन प्ल्याटफर्महरूमा मानिसहरूले मांसपेशी निर्माण गरेर, कोलाजेन सप्लिमेन्टहरू लिने र लोशन प्रयोग गरेर कसरी खुकुलो छाला कम गर्ने भन्नेबारे सुझावहरू दिन्छन्।

शार्मेन हाइन्स
तस्बिरको क्याप्शन, शार्मेन हाइन्स केही मानिसहरू वजन घटाउने परिणाम "परीको कथा" जस्तै हुने ठान्छन्

तर न्यूजेन्ट "उल्लेख" वजन घटाएपछि एक मात्र प्रभावकारी विकल्प शल्यक्रिया हुने बताउँछिन् र जसले तौलको समस्याहरूमाथि जित हासिल गरेका छन्, उनीहरूका लागि शल्यक्रियाका लागि लाग्न खर्च अर्को चुनौती हुने गर्छ।

त्यहाँ खुकुलो छाला हटाउन धेरै प्रकारका प्रक्रियाहरू छन्, जसमा पूरै शरीरलाई एउटा आकार दिने हुन्छ। तर यदि बिरामीहरूले विशिष्ट मापदण्डहरू पूरा गर्छन् भने तिनीहरू एनएचएसमा विरलै उपलब्ध हुन्छन्।

एनएचएसका लागि काम गर्ने प्लास्टिक सर्जन मार्क सोल्डिन उनीहरूले खुकुलो छालाले धुने र लुगा लगाउने जस्ता दैनिक कामहरूमा उल्लेखनीय हस्तक्षेप गरिरहेको देखाउनुपर्ने बताएका छन्।

मोटोपनको सामना गर्नु स्वास्थ्य सेवाका लागि प्राथमिकता हो। किनकि वजन घटाउँदा मोटोपनासँग सम्बन्धित गम्भीर रोगहरू देखापर्ने जोखिम कम गर्न सकिन्छ। यसमा क्यान्सर र मुटु रोग पनि पर्छन् जसको उपचारका लागि एनएचएसलाई प्रति वर्ष करिब ११ अर्ब पाउन्ड खर्च हुने अनुमान गरिएको छ।

तर सोल्डिन शरीरलाई आकार दिनका लागि धेरै हदसम्म कस्मेटिक सर्जरीको रूपमा हेरिने र एनएचएस प्रबन्धकहरूको लागि यो कम प्राथमिकता भएको र त्यसले सीमित सरकारी कोष कसरी प्रयोग गर्ने भनेर निर्णय गर्नुपर्ने बताउँछन्।

"एनएचएसका लागि सामना गर्न थप महत्त्वपूर्ण कामहरू छन् - खुट्टा भाँचिएको छ, हृदयाघात र यस्तैयस्तै आघात भएका व्यक्तिहरू," उनले भने।

शर्माइनको पेट
तस्बिरको क्याप्शन, आठ महिनामा ३८ किलोग्राम घटाएपछि शर्माइनको पेटको छाला खुकुलो भएको छ

उनी लन्डन र नजिकैको ठाउँका केही बिरामीहरूले एनएचएसमा शल्यक्रिया गर्न सकेनन् र निजी जाने छनौट गरे भने ४० हजार पाउन्डसम्म खर्च हुनसक्ने बताउँछन्।

यद्यपि यो उनीहरूसँग भएको छालाको मात्रा र उनीहरूले चाहेको विशेष प्रक्रियाहरूमा निर्भर गर्छ। अनुहार, पेट, तिघ्रा र स्तनका लागि सबैभन्दा सामान्य हुन्छ।

एमिलीले अर्को वर्षसम्ममा शल्यक्रियाको लागि पर्याप्त पैसा जम्मा गर्ने लक्ष्य राखेकी छिन्। "म बचत गर्न कोसिस गर्दैछु, तर मैले पनि ऋण वा क्रेडिट कार्डहरू हेर्नुपर्छ।"

शेफिल्डमा बस्ने ग्रेस पार्किनले आफूले चाहेको प्रक्रियाका लागि पर्याप्त पैसा बचत गरेकी छिन् र सस्तो हुने भएकाले उनी शल्यक्रियाका लागि विदेश जाँदै छिन्।

"मैले प्रयास गरेको छु र ५७ किलोग्राम गुमाएको छु। आफू कस्तो देखिएँ भन्नेमा आफैँलाई घृणा गरेर वर्षौँ बिताएकी छु। म आफूले देखिन चाहेजस्तै आफूलाई देख्न चाहन्छु।"

यद्यपि शल्यक्रियाका लागि विदेश जान पनि होसियारीपूर्वक विचार गर्नुपर्छ।

अर्को वर्ष, ग्रेस छाला बनाउनका लागि विदेश जाँदैछिन्

न्यूजेन्ट भन्छिन्, "मलाई थाहा छ कि [केही] मानिसहरू कुनै समस्याबिना जान्छन्, तर हामी ती व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्दैछौँ, जो शल्यक्रियापछि विदेशबाट जटिलता लिएर फर्कन्छन्।"

उनको संस्था बाप्सले यूकेमा निजी रूपमा काम गर्ने प्लास्टिक सर्जनहरूको प्रतिनिधित्व गर्छ।

एनएचएसले विदेशमा शल्यक्रिया गर्ने विचार गरिरहेका व्यक्तिहरूले पहिले नै आफ्नो जीपी (जेनेरल फिजिसियन) सँग छलफल गर्नुपर्ने बताएको छ।

शर्माइन हाइन्सले शल्यक्रियाका लागि लाग्ने लागत र त्यसबाट बस्ने सम्भावित दागका कारण यसलाई "अन्तिम उपाय" को रूपमा हेर्छिन्।

र छाला हटाउने शल्यक्रियाका लागि छ घण्टा सम्म लाग्नसक्ने भएका कारण तिनीहरूले हाइपोथर्मिया र सङ्क्रमण जस्ता चिकित्सा जटिलताहरूको उच्च जोखिम निम्त्याउँछ।

एमिली जस्तै शर्माइनले लगभग ३८ किलोग्राम घटाए र उनको शरीर अहिले कस्तो देखिन्छ भनेर उनी पनि निराश छन्।

लरा ह्यूग्सको पहिले र अहिलेको तस्बिर
तस्बिरको क्याप्शन, वजन घटेपछि लुगाहरू लगाउन आफूलाई मजा आइरहेको लरा बताउँछिन्

"तपाईँको दिमागमा यो परी कथा भन्ने लागेको छ - तपाईँ अन्तमा पुग्न जाँदै हुनुहुन्छ र तपाईँसँग यो सुन्दर शरीर हुनेछ र तपाईँ ऐनामा हेर्न जाँदै हुनुहुन्छ र गज्जब महसुस गर्नुहुने छ," वेल्सको न्यूटाउनकी ३५ वर्षीयाले भनिन्।

"तर दुःखको कुरा, सत्य त्यो मात्रै होइन। किनभने खुकुलो छाला पनि तपाईँसँगै रहन्छ।"

यद्यपि सबैजना आफ्नो खुकुलो छालासँग त्यति दुःखी हुँदैनन्।

"मैले यसलाई स्वीकारेकी छु," एबरडीनकी ४७ वर्षीया लरा ह्युग्स भन्छिन्। "यसले मलाई चिन्तित बनाउँदैन।"

एक वर्षअघि तौल घटाउने औषधि सेवन गर्न थाल्दा उनको छाला खुकुलो हुने चिन्ता थिएन र त्यसयता उनको तौल १२ किलो घटिसकेको छ ।

त्यो समयमा उनले आफ्नो पाखुरामा छाला बिस्तारै खुकुलो बन्दै गएको देखिन्।

लौराका अनुसार औषधिले उनको जीवनलाई "पूर्ण रूपमा परिवर्तन गरेको छ"। किनकि उनी पहिले हिँड्न सक्दिन थिइन् र धेरै "बाहिर पनि निस्किन्न थिइन्।"

अहिले उनी सामाजिक सञ्जालमा सेल्फी पोस्ट गरिरहेकी छिन् र डीजे सिक्न सुरु गरेकी छिन्। उनलाई पहिला डीजेको कक्षा लिन कहिल्यै पर्याप्त आत्मविश्वास थिएन।

"म हराएको समयको भरपाई गरिरहेकी छु।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।