युद्धबन्दी सवार विमान कसले र किन खसाल्यो? यस्ता छन् रुस र युक्रेनका दाबी

भिडिओ क्याप्शन सुरु हुँदैछ, विमान खसेको देखिने यो भिडिओ वास्तविक भएको बीबीसीले पुष्टि गरेको छ
Published

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधवार खसालिएको भनिएको विमानबारे अन्तर्राष्ट्रिय छानबिनको माग गरेका छन्।

उनले रुसमाथि युक्रेनी युद्धबन्दीहरूको जीवनसँग खेलबाड गरेको आरोप समेत लगाएका छन्।

आफ्नो जन्मदिनको अवसरमा बिहीवार युद्धग्रस्त क्षेत्रमा जाने तयारी स्थगित गर्दै जेलेन्स्कीले यसबारे “स्पष्ट तथ्यहरूको खोजी गरिनुपर्ने” बताएका छन्।

उक्त विमानमा सवार ६५ युक्रेनी युद्धबन्दी र चालकदलका छ सदस्य गरी सबै जनाको मृत्यु भएको रुसी पक्षले जनाएको छ।

उक्त प्रकरणबारे रुस र युक्रेनले आआफ्नै दाबी गरेका छन्।

किएभस्थित बीबीसी संवाददाता सारा रेन्स्फर्डको टिप्पणी

देशहरूबीच चल्ने लडाइँ दुई प्रकारका हुन्छन् - सशस्त्र युद्ध र सूचनाको युद्ध। अहिले युद्धरत देशहरूले दुवै माध्यमको लडाइँ गरिरहेका छन्।

बाँकी हामी सबैलाई वास्तविकता के हो त्यो पुष्टि गर्न निकै कठिन छ।

रुस र युक्रेनबीच चलिरहेको युद्धमा पनि यो लागु हुन्छ। तर हामीले के सम्झिनुपर्छ भने रुसले खुलेआम झुटो बोल्ने र भ्रामक सूचना फैलाउने गरेको छ।

यो कुरा सन् २०१४ मा झन्डै ३०० जनाको ज्यान जाने गरी एमएच१७ विमान विमान खसालिएको घटना र सन् २९१८ मा एक पूर्वगुप्तचरलाई नोभिचोक विष प्रयोग गरी आक्रमण गरिएकोघटनामा उजागर भएका थियो।

युक्रेनमा पूर्ण स्तरको रुसी आक्रमणका रुसले देखाएको कारण पनि साँचो थिएन। रुसले युक्रेनको “नाजी” सत्ताले रुसीभाषीहरूमाथि “नरसंहार” गर्ने जोखिम भएको भन्दै आक्रमण सुरु गरेको थियो।

रुसी सेनाको विमान

तर यसको अर्थ रुसको रक्षा मन्त्रालय, क्रेम्लिन वा रुसी सांसद र सरकारी सञ्चारमाध्यमका सबै कुरा असत्य हुन्छन् भन्ने होइन। तर प्रायः ती असत्य हुन सक्छन्। तसर्थ ती कुरालाई दोहोर्‍याउनुअघि राम्रोसँग तथ्यजाँच गर्न आवश्यक हुन्छ।

यस पटक पनि रुसी इल्यूशिन-७६ विमान दुर्घटना भएको समाचार सबैभन्दा पहिले रुसी सरकारी सञ्चारमाध्यममा देखा पर्‍यो।

रुसको दाबी

रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आएका समाचारमा दुर्घटनामा बन्दी आदानप्रदानका लागि बेल्गोरोद क्षेत्रतर्फ जाने क्रममा उक्त विमान दुर्घटनामा परेको र कम्तीमा ६५ जना युक्रेनी युद्धबन्दीहरू मारिएको उल्लेख छ।

किएभले रुसी दाबी पुष्टि गरेको छैन। रुस पनि आफ्नो दाबी पुष्टि गर्ने कुनै प्रमाण दिएको छैन।

बरु रुसका एक सांसदले रुसी विज्ञप्तिलाई अझ व्याख्या गर्दै युक्रेनले उक्त विमान खसाल्न ‘प्याट्रिअट’ क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन्।

रुसी विमान
तस्बिरको क्याप्शन, फाइल तस्बिर

पश्चिमा देशहरूले युक्रेनलाई दिएको क्षेप्यास्त्र प्रयोग भएको भन्नु आफैँमा ठूलो दाबी हो। तर त्यसलाई पुष्टि गर्ने पनि कुनै प्रमाण देखिएको छैन।

यसबारे विश्वभरि चर्चा हुन थाल्दा पनि युक्रेनले तत्काल कुनै दिएको थिएन। अनि यो शून्यतामा रुसको दाबी चर्को हुँदै गएको थियो।

युक्रेनको प्रतिक्रिया

युक्रेनका राष्ट्रपतिले बुधवार अबेर उक्त घटनाबारे टिप्पणी गर्दै रुसले युक्रेनी बन्दीहरूको जीवनमाथि खेलबाड गरेको आरोप लगाए।

युक्रेनी सेनाको गुप्तचर विभागले पनि आफूलाई हवाईमार्ग सुरक्षित राख्न नभनिएको जनाएको छ।

त्यसको अर्थ युक्रेनी सेनाले घुमाउरो पाराले विमानमाथि आफूले आक्रमण गरेको स्वीकार गरेको हो।

तर उसले विमानमा को थिए भन्ने आफूलाई थाहा नभएको दाबी गरेको छ।

जेलेन्स्की
तस्बिरको क्याप्शन, युक्रेनी राष्ट्रपतिले रुसले युक्रेनी युद्धबन्दीहरूको जीवनसँग खेलबाड गरेको आरोप लगाएका छन् (फाइल तस्बिर)

किएभमा हामीले कैदी आदानप्रदान हुन लागेको हल्ला सुन्यौँ। एक स्रोतबाट त्यसो हुन लागेको हो भन्ने पनि थाहा पायौँ। तर किएभमा कसैले पनि त्यो औपचारिक रूपमा पुष्टि गर्न खोजेनन्।

हामीले सूचनाका लागि आग्रह गरेका अधिकारीहरूले यसबारे अहिल्यै प्रतिक्रिया दिने अवस्था नरहेको, आफूहरूले बुझिरहेको वा केही समय पर्खनुपर्ने जबाफ दिएका छन्। आठ घण्टासम्म पनि केही जानकारी आएन।

त्यसो हुँदा युक्रेनले जानीजानी आफ्नै सैनिकहरूको हत्या गरेको भन्ने दाबीसहित अरू किसिमका अनुमानहरू पनि रोकिएनन्।

त्यस्तो दाबीको उद्देश्य यति दूषित छ कि त्यसलाई दोहोर्‍याउनु उचित हुँदैन।

बेल्गोरोद

तर त्यस्तो चर्चाको खण्डन गर्नु भनेको युक्रेनले भयानक गल्ती गर्न सक्दैन भन्ने कदापि होइन। युक्रेनसँग यस्तो विमान खसाल्न सक्ने क्षमता पनि छ।

युक्रेनको एउटा समाचार वेबसाइटले युक्रेनी सेनामा रहेका एक स्रोतले "त्यो आफूले गरेको" र उक्त विमानमा रुसका एस३०० क्षेप्यास्त्र रहेको बताएको भन्दै विवरण प्रकाशित गरेको थियो। अर्को शब्दमा भन्दा युक्रेनी सेनाका लागि त्यो एउटा सफलता थियो।

युक्रेन्स्का प्राभ्दाले पछि उक्त विवरणपछि सच्च्यायो र स्रोतले भनेको कुरा पुष्टि नभएको स्पष्टीकरण दियो।

युक्रेनी सेना के भन्छ

यसअघि रुस र युक्रेनबीच भएको कैदी आदानप्रदान
तस्बिरको क्याप्शन, ज्यानुअरी पहिलो साता रुस र युक्रेनबीच अहिलेसम्मकै सबैभन्दा ठूलो कैदी आदानप्रदान भएको थियो

बुधवार साँझ दुईवटा विज्ञप्ति आए। जेनरल स्टाफ र युक्रेनी सैन्य गुप्तचरबाट सँगसँगै आएका दुई विज्ञप्तिमा युक्रेनले विमान खसालेको हुन सक्ने बताइएको छ।

तर त्यसलाई स्पष्ट शब्दमा सीधै स्वीकार गरिएको छैन।

युक्रेनले विमानमा को सवार थिए भन्नेबारे विश्वसनीय सूचना नभएको दाबी गरेको छ। तर उसले कैदी आदानप्रदान बुधवारका लागि तय भए पनि त्यो काम अघि नबढेको पुष्टि गरेको छ।

युक्रेनका अनुसार सुरक्षा सुनिश्चितताका लागि रुसले त्यसका लागि प्रयोग गरिने मार्गलगायतका बारे सूचना दिने गरेको थियो।

तर यो पटक त्यसबारे सूचना नआएको युक्रेनको दाबी छ।

जेनरल स्टाफको विज्ञप्तिमा विमानलाई लक्ष्य बनाई आक्रमण गर्नुको औचित्यबारे चर्चा गरिएको छ। तर प्रत्यक्ष रूपमा आफैँले आक्रमण गरेको स्वीकार गरिएको छैन।

रुसले बोल्गोरोदमा विशेष गरी खार्किभ क्षेत्रलाई निसाना बनाई क्षेप्यास्त्र आक्रमण बढाएको छ। त्यस्ता आक्रमणमा परि दर्जनौँ सर्वसाधारण मानसको ज्यान गएको छ।

बुधवार खसालिएको भनिएका जस्ता विमानहरूले साधरणतया सीमापार प्रहार गर्न मिल्ने किसिमका हतियार ओसारप्रसार गर्छन्।

तर उक्त विमान दुर्घटनाबारे केही सङ्केतहरू सार्वजनिक भए पनि कैयौँ प्रश्नहरू अझै अनुत्तरित छन्।

खसालिएको विमानमा वास्तवमा के थियो वा को थिए भन्ने अझैसम्म स्पष्ट भइछैन। हामीलाई किएभका अधिकारीहरूलाई कति कुरा थाहा भइसक्यो वा हुन बाँकी छ भन्ने पनि थाहा छैन।

यदि उक्त विमानमा युक्रेनी बन्दीहरू थिए भने रुसले पक्कै पनि भविष्यमा त्यसको प्रमाण सार्वजनिक गर्ला। अनि युक्रेनले पनि त्यसबारे स्पष्ट जबाफ देला।

रुसमा युद्धबन्दी बनाइएका हजारौँ युक्रेनी सैनिकका परिवार यसबारे चिन्तित छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।