तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इन्धनको मूल्य घट्यो, सडक यातायातको भाडा 'घट्दै', हवाई भाडा के हुन्छ
नेपाल आयल निगमले गत मध्यरातदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएपछि सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि समायोजन गर्न लागेको जनाएको छ।
यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालका अनुसार इन्धनको मूल्यमा हुने हेरफेरका आधारमा स्वचालित प्रणालीबाट भाडा दर समायोजन हुन्छ।
"त्यसैअनुसार हिसाब गर्दै छौँ, साँझसम्ममा आउँछ," भुसालले बीबीसीलाई बताए।
उनका अनुसार भाडा दर समायोजनको निम्ति १३ वटा सूचकलाई आधार बनाउने व्यवस्था छ।
"सवारी साधन किन्दाको लगानी, चालक-परिचालकलाई दिँदा हुने खर्च, मर्मत खर्च, बिमा खर्च, इन्धन खर्च, मुनाफा लगायतको हिसाब गरेर समायोजनमा त्यसको भार निर्धारण गरिन्छ," भुसालले भने, "इन्धन मूल्य ५ प्रतिशत हेरफेर भएमा कूल खर्चमा त्यसको भार अनुसार समायोजन हुन्छ, अहिले ५ प्रतिशतभन्दा धेरै घटेकाले समायोजन गर्न लागिएको हो।"
घटाउँदा पुरानो हिसाबको 'दायित्व'
विभागले अन्तर प्रदेश सार्वजनिक यातायात र मालवाहक सवारी साधनको भाडा समायोजन गर्ने गर्दछ।
यसअघि विभागले वैशाख १६ गते भाडा दर समायोजन गरेको हो। त्यस बेला ५ प्रतिशत भाडा बढाइएको थियो।
अमेरिका र इजरेलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा द्वन्द्व चर्कँदा इन्धनको मूल्य वृद्धि भएसँगै नेपालमा पनि विभिन्न क्षेत्रमा त्यसको असर देखा परेको हो।
विभागका निर्देशक भुसालका अनुसार त्यस बेला ९.८ प्रतिशत भाडा बढ्ने अवस्था थियो।
"विषम परिस्थिति र जनजीविकालाई ख्याल गरेर त्यो बेला मन्त्रालयको सहमतिमा ५ प्रतिशत मात्रै बढाइएकाले त्यो पनि समायोजन हुँदा धेरै नघट्न पनि सक्छ," उनले भने, "हिसाब हुँदै छ, साँझसम्म सूचना निकाल्छौँ।"
त्यसअघि २०८२ सालको चैत २५ गते भाडा समायोजन गरिएको थियो। त्यस बेला यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत भाडा बढाइएको थियो। पहाडी बाटोमा गुड्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा गुड्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशत वृद्धि गरिएको थियो।
विभागले त्यसपछि पनि डिजेलको मूल्य प्रतिलिटर ५५ रुपियाँ बढेको भन्दै वैशाखमा ५ प्रतिशत समायोजन गरेको थियो।
अहिले निगमले डिजेलको मूल्य एकै पटक प्रतिलिटर ३० रुपियाँ घटाएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका पूर्वअध्यक्ष अर्जुन रानाभाटले पनि इन्धनको मूल्य वृद्धिको तुलनामा भाडा दर नबढेको बताउँछन्।
मध्यपूर्वमा चरण चरणमा द्वन्द्व हुँदा मूल्य वृद्धि हुनु भन्दा पहिलेको तुलनामा इन्धनको मूल्य निकै बढेको उनको भनाइ छ।
"अहिले ३० रुपियाँ घटे पनि पहिलेको तुलनामा अझैँ निकै महँगो नै हो," रानाभाटले भने, "तर हामीले स्वचालित रूपमा समायोजन हुने कुरामा सहमति जनाएका छौँ, सरकारले घटाउँदा नमान्ने कुरा हुँदैन।"
प्रदेशहरूले आफै समायोजन गर्ने, काठमाण्डूमा के हुन्छ?
प्रदेशभित्र चल्ने सवारी साधनको भाडा दर सम्बन्धित प्रदेश सरकारले निर्धारण र समायोजन गर्ने व्यवस्था छ।
विशेष गरी लाखौँ मानिसहरूले प्रयोग गर्ने काठमाण्डू उपत्यकाको सवारी साधनको भाडा दरबारे धेरैको चासो पाइन्छ।
बाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रदेश कार्यक्रम संयोजक तथा सूचना अधिकारी सागर विक्रम बस्नेतका अनुसार त्यसबारे मन्त्रालयमा छलफल भएको छैन।
इन्धनको मूल्य स्थिर हुने सङ्केतपछि त्यसबारे निर्णय हुने उनको आकलन छ।
"मध्यपूर्वको द्वन्द्वमा इन्धनको मूल्य निर्भर रहेको छ भने अझै पनि अन्योल अन्त्य भइसकेको छैन," उनले भने, "त्यसैले अब धेरै नै हेरफेर हुँदैन, मूल्य करिब स्थिर रहन्छ भन्ने भयो भने समय सापेक्ष समायोजन हुन्छ।"
कतिपयले अन्तर्राष्ट्रिय मूल्यअनुसार इन्धनको मूल्य आयल निगमले समायोजन नगरेको भन्दै असन्तुष्टि प्रकट गर्दै आएका छन्।
नेपाल आयल निगमका उपनिर्देशक तथा सूचना अधिकारी सुदनप्रसाद ढुङ्गानाले निगमले खरिद मूल्यको आधारमा मूल्य घटाइएको जानकारी दिए।
तर उनले अमेरिका-इरान युद्ध सुरु भएपछिको मूल्यमा उतारचढाव र अन्तर्राष्ट्रिय मूल्य अनुरूपका विषयमा प्रवक्तासँग जानकारी लिन आग्रह गरे। अधिकांश पेट्रोल पम्पहरू बन्द हुँदा चौतर्फी आलोचनामा परेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरसँग सम्पर्क हुन सकेन।
हवाई भाडा के हुन्छ?
इन्धनको मूल्य वृद्धिसँगै यसअघि हवाई भाडा ह्वात्तै बढेको थियो।
जहाजको आन्तरिक भाडा काठमाण्डूबाट दिल्ली पुग्ने हाराहारीमा पुगेको भन्दै आलोचना भएको थियो।
हवाई इन्धनको मूल्य पनि प्रतिलिटर ४० रुपियाँ घटेकाले भाडा पनि घट्ने कैयौँको आकलन छ।
तर वायुसेवा सञ्चालक सङ्घका महासचिव मुरलीधर जोशीले यसअघि नै भाडा समायोजन गरिएको बताए।
"इन्धन र भाडा गरेर कूल भाडा निर्धारण हुन्छ, त्यो स्वचालित रूपमा समायोजन हुने सूत्र छ," उनले भने, "यसअघि भाडा निकै महँगो भयो भन्ने गुनासो पछि केही भाडा घटाइसकिएको छ।"
त्यसैले सङ्घले यस पटक औपचारिक रूपमा निर्णय नलिने उनले सङ्केत दिए।
"अहिले भएको इन्धनको मूल्य समायोजनले पहिले विमान सेवा कम्पनीहरूले दिइसकेको सहुलियत भित्रै पर्छ कि पर्दैन त्यो कम्पनी पिच्छे फरक हुन्छ," जोशीले भने, "त्यसैले सङ्घले यसबारे बोल्दैन होला।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।