'शी इन' लाई सफल बनाउने चिनियाँ कपडा कारखानाहरूभित्र लुकेको सत्य

ग्वान्जावस्थित पान्यूमा रहेको "शीइन भिलेज" मा रहेको कपडा उद्योग
तस्बिरको क्याप्शन, बीबीसीले ग्वान्जाउस्थित पान्यूमा रहेको "शी इन भिलेज" भनिने कारखानाका कामदारहरूसँग कुराकानी गरेको छ
    • Author, लउरा बिकर
    • Role, चीन संवाददाता
    • Reporting from, ग्वान्जाव, चीन
  • Published
  • पढ्ने समय: ८ मिनेट

दक्षिणी चीनको पर्ल नदी तटस्थित एक चहलपहलयुक्त शहर ग्वान्जाउको केही भागमा कपडा सिलाउने मसिनबाट निस्कने आवाज एकनासले निरन्तर आइरहन्छ।

विश्वका १५० भन्दा धेरै देशमा टीसर्ट, शोर्टस्, ब्लाउज, प्यान्ट र पौडी खेल्दा लगाउने लुगाहरू धमाधम बनेर तैयार भैरहँदा यी कारखानाहरूबाट निसक्ने आवाज खुला झ्यालहरूबाट विहान सबेरै देखि राती अबेरसम्म जारी नै रहन्छ।

पान्यूमा रहेको यो ठाउँलाई "शी इन भिलेज" भनिन्छ, जहाँबाट विश्वकै सबैभन्दा ठूलो 'फास्ट फेशन' कम्पनीलाई चलायमान बनाउने कारखानाहरू रहेका छन्।

" यदि एक महिनामा ३१ दिन हुन्छ भने म ३१ दिन नै काम गर्छु," बीबीसीसँग त्यहाँका एक कामदारले भने।

धेरैले आफूहरूले महिनामा एक दिनमात्रै बिदा पाउने बताए।

बीबीसीले यो क्षेत्रमा कैयौँ दिन बितायो: हामीले १० वटा कारखानाहरू हेर्‍यौँ, चारजना मालिकहरूसँग र २० जनाभन्दा बढी कामदारहरूसँग कुरा गर्‍यौँ।

हामीले श्रम बजारमा र कपडा आपूर्तिकर्ताहरूसँग पनि समय बितायौँ।

हामीले के पत्ता लगायौँ भने यो व्यापारिक साम्राज्यको मुटुको धड्कन भनेको, चिनको श्रम कानुनहरू विपरित, हप्तामा झण्डै ७५ घण्टा सिलाइ मसिनहरूका पछाडि बसेर काम गर्ने मजदुरहरू हुन्।

तर बढी पारिश्रमिकको खोजीमा रहेका ग्रामिण कामदारहरूको औद्योगिक केन्द्र ग्वान्जाउमा र विश्ववकै प्रतिद्वन्द्वीविहीन कारखानाको रूपमा रहेको चीनकै लागि पनि यसरी धेरै घण्टा काम गर्नु असामान्य होइन।

तर यसले शीइनबारे उठेका विभिन्न प्रश्नहरूको सूचीमा यो प्रश्न पनि थपिदिएको छ।

"शी इन" कुनै बेला त्यति नाम नसुनिएको चीनमा स्थापित त्यस्तो कम्पनी हो जसले केवल पाँच वर्षमै विश्वव्यापी रूपमा विशाल आकार लिन सफल भएको छ।

अझै पनि निजी स्वामित्वमा रहेको यो कम्पनीको मूल्य सन् २०२३ तिर करिब ६६अर्ब डलर बराबरको आकलन गरिएको थियो। र अब यसले लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुन खोजिरहेको छ।

यद्यपि यसको वृद्धि भने उक्त कम्पनीले आफ्ना कामदारलाई गर्ने व्यवहार र जबरजस्ती श्रम गराएको आरोपका कारण विवादास्पद छ।

गत वर्ष चीनमा आफ्नो उद्योगमा बालबालिका काम गरिरहेको कुरा पत्ता लागेपछि शीइनले त्यसलाई स्वीकार गरेको थियो।

बीबीसीले अन्तर्वार्ताका लागि गरेको अनुरोध उक्त कम्पनीले अस्वीकार गरेको छ तर एउटा विज्ञप्तिमा बीबीसीलाई उसले भनेको छ ""शीइन हाम्रो आपूर्ति प्रणालीका सबै कामदारहरूलाई निष्पक्ष र सम्मानजनक व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध छ" र सुशासन र मापदण्डहरूको पालनालाई सुदृढ गर्न करोडौँ डलर लगानी गर्दै छ।"

उसले थप लेखेको छ: "हामी तलबको लागि उच्चतम मापदण्डहरू तय गर्न प्रयास गर्छौँ र हामी सबै आपूर्ति प्रणालीका साझेदारहरूले हाम्रो आचार संहिताको पालना गर्न आवश्यक छ। यसबाहेक, शीइनले मापदण्डहरूको पालनालाई सुनिश्चित गर्न लेखा परीक्षकहरूसँग काम गर्दछ।"

शीइनको सफलता परिमाणमा निहित छ - अनलाइनमा सयौँ हजार सामानहरू किन्न सकिन्छ - र तिनीहरूमा पाइने छुटहरू पनि ठूलै छ: १० पाउन्डमा ड्रेस पाइन्छ, ६ पाउन्डमा स्वेटरहरू, अन्य सामानको मूल्य पनि औसतमा ८ पाउन्डभन्दा कम नै हुन्छन्।

आम्दानी बढेको छ , एचएन्डएम, जारा र प्राइमार्कजस्ता विक्रेताहरूलाई पनि पछि पार्ने गरी। र यसरी सस्तो मूल्यमा लत्ताकपडाहरूको विक्री गर्न सकिने क्षमता ' शीइन भिलेज' जस्ता ठाउँहरूका कारण सम्भव भएको हाो जहाँ करिब ५,००० भन्दा बढी कारखानाहरू रहेका छन्। र, तीमध्ये अधिकांश शीइनकै आपूर्तिकर्ताहरू हुन्।

सिलाई मसिन, कपडाको रोलहरू र कपडाको टुक्राले भरिएका बोराहरू राख्नका लागि भवनहरूलाई फराकिलो तुल्याइएको छ। तिनीहरूको भुमिगत तलाका कोठाका ढोकाहरू डेलिभरी र सङ्कलनको अनन्त: चक्रको लागि सधैँ खुला रहन्छन्

दिन बित्दै जाँदा यहाँका दराजका तख्ताहरू गोदाममा पठाइने पारदर्शी प्लास्टिकका झोलाहरूले भरिन्छन् जसमा अब स्पष्ट चिनिने पहिचान बनाइ सकेको शीइनको अंग्रेजी नामको पाँचवटा अक्षरको लेबल लगाइएको हुन्छ।

तर कारखानाका भुईँमा नै लत्रिनेगरी बोराहरूले भरिभराउ ट्रकहरूमा थप कपडाहरू आउँदै गर्दा, रातिको १० बजिसक्दा पनि सिलाई मसिनहरू र तिनीहरूलाई चलाउने मानिसहरू रोकिँदैनन्।

ट्रकबाट विभिन्न रङ्गका कपडाहरूको खातअगाडि एक युवक
तस्बिरको क्याप्शन, कपडाहरू जति आइपुग्छ त्यही अनुसार उद्योगहरू पनि चलिरहन्छन्...

"हामी सामान्यतया दिनको १०, ११ वा १२ घण्टा काम गर्छौँ," जियाङ्सीकी आफ्नो नाम बताउन नचाहने ४९ वर्षकी एक महिलाले भनिन्। "आइतबार हामी करिब तीन घण्टा कम काम गर्छौँ।"

उनी एउटा गल्लीमा छिन्, जहाँ एक दर्जन मानिसहरू बुलेटिन बोर्डभन्दा तल उभिएररू बोर्डमा राखिएको ठेक्काको विज्ञापन पढिरहेका छन्।

यो शीइनको आपूर्ति गर्ने क्षेत्र हो। यी उद्योगहरू अर्डर अनुसार लुगा बनाउने सम्झौतामा हुन्छन् र केही साना र केही ठूला लुगा बनाउँछन्।

यी लुगा मन पराइयो भने बजारमा माग धेरै हुन्छ र उत्पादन पनि बढी गरिन्छ। त्यसपछि कारखानाहरूले स्थायी कर्मचारीहरूले पूरा गर्न नसक्ने माग पूरा गर्न अस्थायी कामदारहरू राख्छन्।

ज्याङ्सीका आप्रवासी कामदारहरू छोटो अवधिको सम्झौताको खोजीमा छन् - र नयाँ डिजाइनका चिनो कपडाका लुगाहरू बनाउनु उनीहरूका लागि एउटा विकल्प हो।

पान्यूको व्यस्त सडकमा रातको समयमा काममा व्यस्त एक पुरुष
तस्बिरको क्याप्शन, रातिको समयमा पनि काममा व्यस्त पान्यूमा कामदार

"हामीले थोरै कमाउँछौँ। जीवनयापनको खर्च अहिले धेरै बढेको छ," उनी भन्छिन्।

आफ्ना हजुरबा हजुरआमासँग बस्दै आएका आफ्ना दुई छोराछोरीलाई पैसा पठाउन सकिने उनको आशा छ।

"हामीले लुगाको प्रति गोटाका दरले पारिश्रमिक पाउँछौँ," उनी भन्छिन्। "उक्त लुगा बनाउन कत्तिको गाह्रो छ भन्ने कुरामा भर पर्छ। टी-सर्ट जस्तो सरल चीज एक-दुई युआन [एक डलर भन्दा कम] प्रति गोटा हुन्छ र म एक घण्टामा एक दर्जनभन्दा बढी बनाउन सक्छु।"

त्यो निर्णय लिनको लागि लुगाको सिलाइको जाँच गर्नु महत्त्वपूर्ण छ। उनको वरिपरि कपडाको प्रत्येक टुक्रा बनाउँदा कति पारिश्रमिक पाइन्छ र एक घण्टामा कति बनाउन सकिन्छ भनेर कामदारहरू गणना गरिरहेका छन्।

पान्यूका गल्लीहरू श्रम बजारको रूपमा रहेका छन्। बिहानै खाजाको ठेला र भटमासको दूधका कप अनि कुखुरा र हाँसको अण्डा बेच्ने आशावादी किसानहरूको छेउमा कामदारहरू दौडिरहेका हुन्छन्।

पसलअगाडि उभिएका एक पुरुष
तस्बिरको क्याप्शन, जागिरको विज्ञापनसँगै कपडाका नमुनाहरू प्रदर्शन गरिएको उद्योग...

बीबीसीले पत्ता लगाए अनुसार काम गर्न तय गरिएको समय भनेको ८ बजेदेखि राति १० बजेसम्म रहेको हुन्छ।

स्विस एड्भोकेसी समूह पब्लिक आइको प्रतिवेदन अनुसार यो समय युक्तिसङ्गत देखिन्छ। उक्त प्रतिवेदन शीइनका लागि कपडा उत्पादन गर्ने उद्योगका १३ जना कामदारहरूसँग गरिएको कुराकानीमा आधारित थियो।

उनीहरूले थुप्रै सङ्ख्यामा कामदारहरूले समयभन्दा अत्यधिक धेरै काम गरेको पाएका थिए।

कपडा हेर्दै एक महिला
तस्बिरको क्याप्शन, कामदारहरू घन्टामा कति कमाइ हुन्छ भनेर हिसाब गर्दै

समयभित्र काम गर्ने मानिसहरूको तलब ३२७ डलर अर्थात् २४ सय युआन हुन्छ। 'एसिया फ्लोर वेज अलायन्स'का अनुसार सहज जीवन चलाउनका लागि न्यूनतम ६,५१२ युआान आवश्यक पर्छ। तर हामीले कुरा गरेका कामदारहरूले प्रति महिना ४,००० देखि १०,००० को बीचमा कमाउन सकेको बताए।

"यो सामान्य होइन तर यो गैरकानुनी हो भन्ने स्पष्ट छ र यसले आधारभूत मानवअधिकार उल्लङ्घन गरेको छ," उक्त समूहका डेभिड ह्याचफिल्डले बताए। "यो चरम अवस्थाको शोषण हो र यो बाहिरका मानिसले थाहा पाउनु आवश्यक छ।"

चीनको श्रम कानुन अनुसार हप्तामा ४४ घण्टाभन्दा धेरै काम गर्नु हुँदैन। त्यसबाहेक हप्तामा कम्तीमा एक दिन आराम पनि गर्न पाउनुपर्छ। यदि रोजगारदाताले समय बढाउन चाहने हो भने त्यसका लागि विशेष कारणहरू पनि चाहिन्छ।

शीइन उद्योगमा सँगसँगै काम गरिरहेका एक महिला र एक पुरुष
तस्बिरको क्याप्शन, कामदारहरूलाई जतिवटा लुगा बनाइन्छ त्यही अनुसार ज्याला दिइन्छ। एउटा सर्ट सिलाएको एक डलर भन्दा कम आम्दानी हुन्छ

शीइनको मुख्यालय अहिले सिङ्गापुरमा भए पनि अधिकांश उत्पादनहरू चीनमा बन्छन् भन्ने कुरालाई अस्वीकार गर्न सकिँदैन।

र शीइनको सफलताले वासिङ्टनको ध्यान खिचेको छ, ऊ चिनियाँ कम्पनीहरूतर्फ बढ्दो सावधानी अपनाइरहेको छ।

हालका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पदभार ग्रहण गर्नुअघि जुन महिनामा नै शीइनको "जनवादी गणतन्त्र चीनसँगको गहिरो सम्बन्ध" बारे उनी "गम्भीर नैतिक चिन्ता" मा रहेको बताएका थिए।

"दासका रूपमा गराइने श्रम, श्रमिकहरूको लागि काम गर्ने खराब वातावरण र व्यापारिक चलाखीहरूका कारण शीइनले सफलता पाएको हो," उनले लेखेका थिए।

शीइनको आपूर्तिबारेको अवस्थालाई लिएर उनले प्रयोग गरेको शब्दको छनोटमा धेरैले सहमति जनाउँदैनन्। तर अधिकारवादी समूहहरूले लामो समय काम गर्ने अवधि अनुचित र शोषण भएको बताएका छन्।

टीसर्ट पट्याउँदै एक महिला

मसिनहरूले दिनको लय निर्धारण गर्दछन्।

कामदारहरू बिहान र बेलुकीको खाना खानका लागि धातुका प्लेट र चपस्टिक हातमा बोकेर क्यान्टिनमा खाना किन्न गएका बेला मात्रै ती मसिनहरूले विश्राम पाउँछन्। त्यहाँ बस्ने ठाउँ छैन भने उनीहरू साँघुरो बाटोमा नै उभिएर खान्छन्।

"म यी कारखानाहरूमा ४० वर्षभन्दा बढी समयदेखि काम गरिरहेको छु," आफ्नो खाना खान जम्मा २० मिनेट मात्रै बिताएकी एक महिलाले भनिन्।

हामीले भ्रमण गरेका कारखानाहरू भित्र साँघुरो छैन। त्यहाँ पर्याप्त उज्यालो छ र कामदारहरूलाई गर्मी नहोस् भनेर औद्योगिक आकारका फ्यानहरू राखिएका छन्। ठूला पोस्टरहरूले कर्मचारीहरूलाई कम उमेरका कामदारहरूबारे जानकारी गराउने गरेका छन् - सम्भवतः गत वर्ष बाल श्रमका दुई घटनाहरू फेला पारेको प्रति कम्पनीले जनाएको यो एउटा प्रतिक्रिया हो।

कपडा सिलाउने मिसिन रहेको ठूलो कोठा
तस्बिरको क्याप्शन, भित्र गर्मी नहोस् भनेर राखिएका पङ्खा

लन्डन स्टक एक्सचेन्जमा जाने योजना सार्वजनिक गर्नुअघि शीइनले आफ्ना आपूर्तिकर्ताहरूलाई नजिकबाट हेरिरहेको छ।

"यो तिनीहरूको प्रतिष्ठाको विषय हो," डेलावेयर विश्वविद्यालयका फ्यासन एन्ड एपरल स्टडिजका प्राध्यापक शेङ लु भन्छन्। "यदि शीइनले सफलतापूर्वक आईपीओ हासिल गर्न सके यसको अर्थ त्यो सभ्य कम्पनीको रूपमा चिनिन्छ। तर यदि लगानीकर्ताहरूको विश्वास जित्ने हो भने केही जिम्मेवारी लिनुपर्छ।"

शीइनले सामना गर्नुपरेको सबैभन्दा ठूलो चुनौती भनेको चीनको सिनजियाङ क्षेत्रबाट उत्पादन भएको कपास प्रयोग गरेको भन्ने आरोप हो।

कुनै बेला विश्वको उत्कृष्ट भनेर चिनिएको सिन्जियाङको कपास मुस्लिम उइगर अल्पसङ्ख्यकहरूबाट जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएको आरोप लागेको थियो। यो आरोपलाई बेइजिङले निरन्तर अस्वीकार गर्दै आएको छ।

प्राध्यापक शेङका अनुसार उक्त आलोचनाबाट पार पाउने एउटा तरिका भनेकै पारदर्शी हुनु हो।

"जबसम्म तपाईँले आफ्नो कारखानाको सूची पूर्ण रूपमा जारी गर्नुहुन्न, जबसम्म तपाईँले आफ्नो आपूर्ति प्रणालीलाई अझ पारदर्शी बनाउनुहुन्न, तबसम्म मलाई लाग्छ कि शीइनका लागि यो धेरै चुनौतीपूर्ण हुनेछ।"

उनका अनुसार एउटा मुख्य फाइदा भनेको शीइनको आपूर्ति प्रणाली चीनमै हुनु हो।

"धेरै देशहरूसँग पूर्ण आपूर्ति प्रणाली छैन। चीनसँग यो छ - र कसैले प्रतिस्पर्धा गर्न सक्दैन।"

भियतनाम र बाङ्गलादेश जस्ता महत्त्वाकाङ्क्षी प्रतिस्पर्धीहरूले कपडा बनाउन चीनबाट कच्चा पदार्थ आयात गर्छन्। तर चिनियाँ कारखानाहरू कपडादेखि जिपर र बटनसम्म सबै कुराका लागि स्थानीय स्रोतहरूमा भर पर्छन्। त्यसैले विभिन्न प्रकारका कपडाहरू बनाउन सजिलो छ र उनीहरू यी काम चाँडै गर्न पनि सक्छन्।

मोटरबाइक चलाउँदै एक पुरुष
तस्बिरको क्याप्शन, पान्यूस्थित कपडा उद्योगहरू जुन चीनको आपूर्तिको अभिन्न हिस्सा हो

शीइनको एल्गोरिदमले लुगाकोअर्डरहरूको प्रकार निर्धारण गर्छ। यदि ग्राहकहरू बारम्बार कुनै निश्चित पोसाकमा क्लिक गर्छन् वा ऊनी स्वेटर हेर्न लामो समय खर्चन्छन् भने कम्पनीले कारखानाहरूलाई ती लुगाहरू धेरै बनाउन र छिटो गर्न भन्न सक्छन्।

ग्वान्जाउका कामदारहरूका लागि यो अवस्था चुनौतीपूर्ण हुनसक्छ।

"शीइनको फाइदा र बेफाइदा दुवै छ, "एक जना कारखाना मालिकले भने। "राम्रो कुरा भनेको अर्डर धेरै हुन्छ, तर नाफा कम र सीमित छ।"

आफ्नो व्यवसायको आकार र प्रभावका कारण शीइन कडा मोलमोलाइ गर्न सक्छ। त्यसैले आपूर्तिकर्ता कारखानाका मालिकहरूले अन्य ठाउँमा लागत कटौती गर्नुपर्ने हुन सक्छ र यस्तो अवस्थामा सामान्तयता कर्मचारीहरूकै तलब कम गर्ने गरिन्छ।

"शीइनअघि हामी आफैँले कपडा उत्पादन गर्ने र बेच्ने गर्थ्यौँ," तीन वटा कारखानाका एक मालिकले भने।

"हामीले लागत अनुमान गर्न सक्छौँ, मूल्य निर्धारण गर्न सक्छौँ र नाफा गणना गर्न सक्छौँ। अनि शीइनले मूल्य नियन्त्रण गर्छ र तपाईँले लागत घटाउने तरिकाहरू बारे सोच्नु पर्ने हुनजान्छ।"

साँझ अबेर कपडा उद्योगको एउटा भवनअगाडि एक महिला
तस्बिरको क्याप्शन, राति पनि धेरै उद्योगहरू खुला रहन्छन् र केही मानिसहरू मध्यरातसम्म पनि काम गर्छन्

"शीइन फ्यासन उद्योगको खम्बा हो," शीइनका आपूर्तिकर्ता कूअ चिङले भने।

"सुरुबाटै मैले शीइनमा काम गरेको हुँI यसको वृद्धि मैले प्रत्यक्ष देखेको छु। साँच्चै भन्नुपर्दा चीनमा शीइन एउटा उत्कृष्ट कम्पनी हो। मलाई लाग्छ यो अझै बलियो बन्नेछ किनभने यसले मानिसहरूलाई समयमा पैसा दिन्छ। त्यसैले यो एकदमै विश्वासयोग्य पनि छ।

"यदि हामीले १५ तारिखमा पैसा तिर्नुपर्नेछ भने चाहे त्यो लाखौँ होस् वा दशौँ लाख हामी समयमै पैसा तिर्छौँ।"

काम गर्ने कष्टप्रद समय र कहिलेकाहीँ कम ज्याला जस्ता कुराले गर्दा सबै कामदारहरू खुसी नहुन सक्छन्। तर कसैको लागि भने यो गर्वको विषय पनि हो।

"हामी चिनियाँहरूले संसारमा गर्न सक्ने यो योगदान हो," ग्वाङडोङकी ३३ वर्षिया एक सुपरभाइजरले भनिन् तर उनले आफ्नो नाम भने खुलाउन चाहिनन्।

बाहिर अँध्यारो छ र कामदारहरू अन्तिम चरणको कामका लागि बेलुकाको खानापछि कारखानाहरूमा फर्किरहेका छन्। काम गर्ने समय लामो भएको उनी स्विकार्छिन् र भन्छिन्, तर "हामी एक अर्कासँग राम्रोसँग मिल्छौँ। हामी परिवार जस्तै छौँ।"

घण्टौँपछि धेरै कामदारहरू घर फर्किसकेका भएपनि धेरै भवनहरूमा बत्तीहरू बलिरहेको देखिन्छ।

केही मानिसहरू मध्यरातसम्म काम गर्छन् एक कारखाना मालिकले हामीलाई बताए। उनी भन्छन् तिनीहरू अझ धेरै पैसा कमाउन चाहन्छन्।

अन्ततोगत्वा लन्डन, शिकागो, सिङ्गापुर, दुबई र अन्य धेरै ठाउँहरूबाट कोही न कोही शीइनमा सस्तो सामानको खोजी गरि नै रहेका हुन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।