अहिले किन बढ्यो वायु प्रदूषण, बिरामी नपर्न के गर्ने

स्वयम्भूनाथमाथि सूर्य
तस्बिरको क्याप्शन, काठमाण्डू उपत्यकामा आइतवार वायु प्रदूषणको मात्रा धेरै बढेको थियो
Published

राजधानी काठमाण्डू उपत्यकासहित नेपालका विभिन्न भागमा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सक तथा अधिकारीहरूले सावधानी अपनाउन आग्रह गरेका छन्।

केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा आइतवार साँझ एकाएक उच्च तहमा पुगेको वायु गुणस्तर मापन गर्ने निकायहरूले जनाएका छन्।

वातावरण विभागका अनुसार आइतवार साँझ काठमाण्डू उपत्यकामा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०० पुगेको थियो।

सोमवार अपराह्ण विभिन्न समयमा पनि राजधानीमा त्यस्तो सूचकाङ्क १०० भन्दा माथि पुगेको थियो।

नेपालमा एक्यूआई ४० भन्दा तल भएको अवस्थालाई सामान्य मान्ने गरिएको विभागका अधिकारीहरू बताउँछन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई १५० भन्दामा माथि पुग्दा वायुलाई "अस्वस्थ" मान्छ। उक्त अङ्क ३०० भन्दा माथि पुगे त्यसलाई "खतरनाक" मानिन्छ।

विगतमा नेपालमा पनि एक्यूआई ३०० भन्दा माथि पुग्दा विद्यालयहरू बन्द गर्ने लगायतका कदम चालिएको थियो।

डढेलो निभाउने प्रयास गर्दै नेपाली सेनाको एउटा टोली
तस्बिरको क्याप्शन, देशका विभिन्न भागमा अहिले डढेलो लागेको छ
काठमाण्डूको वायु प्रदूषण
तस्बिरको क्याप्शन, वायु प्रदूषणका कारण काठमाण्डू उपत्यकामा तुवाँलो लागेको छ

तत्काल पानी पर्ने सम्भावना कम

मौसमविद्‌ तथा जानकारका अनुसार यसरी वायु प्रदूषण बढेका बेलामा वर्षा भए त्यसले प्रदूषण न्यूनीकरणमा सहयोग गर्छ।

तर नेपालमा केही दिन खासै वर्षा हुने सम्भावना छैन।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।

स्वयम्भूनाथमा मास्क लगाएर ध्यान गर्दै एक भिक्षुणी
तस्बिरको क्याप्शन, वायु प्रदूषण बढेको बेलामा बाहिर जानुपरे मास्क लगाउनुपर्ने चिकित्सक र जनस्वास्थ्यविद्हरू बताउँछन्

नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

पानी परेमा प्रदूषित वायु कम हुँदै जाने भए पनि तत्काल त्यस्तो अवस्था नदेखिएकाले वायुको गुणस्तरमा तुरुन्तै सुधार हुने अवस्था नरहेको जानकारहरू बताउँछन्।

वायु प्रदूषण बढ्नुको कारण

अधिकारीहरूका अनुसार नेपालमा हिउँद तथा सुक्खा याममा प्राय: वायु प्रदूषण बढ्ने गर्छ।

सवारीसाधनबाट हुने वायु प्रदूषण, निर्माणकार्यबाट उत्पन्न हुने र सडकबाट उड्ने धुलो, कलकारखाना र डढेलोबाट निस्किने धुवाँ वायु प्रदूषणका मुख्य कारण हुन्।

तर अहिले बढेको प्रदूषणको मुख्य कारण डढेलो भएको वातावरण विभागका उपमहानिर्देश तारादत्त भट्ट बताउँछन्।

"अहिले देशैभरि डढेलो लागेको छ। त्यसले गर्दा वायु प्रदूषण बढेको हो," उनले भने।

उनका अनुसार डढेलो नियन्त्रणमा नआईकन वायुको गुणस्तर सुधार हुने जस्तो देखिएको छैन।

फोक्सोको एक्सरे

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार विगत एक सातामा देशभरि १०५ वटा आगलागीका घटना भएका छन्।

त्यसमध्ये वनजङ्गलमा लागेको डढेलोका घटना ४२ वटा छन्।

स्वास्थ्य समस्याको जोखिम

अहिलेको वायु प्रदूषणले विशेष गरी मानिसको फोक्सो र आँखामा समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै मुटुका रोगीहरूको समस्या पनि बढ्न सक्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एक चिकित्सकको भनाइ समेटिएको भिडिओ सामाजिक सञ्जालमा राख्दै सचेत रहन आग्रह गरेको छ।

"कुनै पनि कडा वायु प्रदूषणमा सामना भएमा मुटुरोगीको समस्या अझ बढ्छ," उक्त भिडिओमा डा गरिमा श्रेष्ठले भनेकी छन्। उनले वायु प्रदूषणले श्वासप्रश्वासमा पनि समस्या हुन सक्ने बताएकी छन्।

अर्का छाती तथा फोक्सो रोग विशेषज्ञ डा पङ्कजकुमार देवले अहिलेको प्रदूषणले मुख्य रूपमा दीर्घरोगीहरूलाई बढी असर गर्ने बताए।

"दम तथा अन्य खालका फोक्सो र श्वासप्रश्वाससम्बन्धी रोगीहरूलाई खराब वायुले सबैभन्दा धेरै असर गर्छ भने स्वस्थ व्यक्तिलाई पनि विभिन्न सङ्क्रमण निम्त्याउन सक्छ," उनले भने।

उनले वायु प्रदूषणका कारण सुक्खा खोकी लाग्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासका समस्याहरू देखिन सक्ने बताए।

राजधानीको एउटा शिक्षण अस्पतालमा कार्यरत उनले भने, "त्यस्ता बिरामीको सङ्ख्या पछिल्ला दिनमा बढी पनि रहेको छ।"

उनले लामो खोकी लागेर आउने बिरामीको सङ्ख्या अहिले ह्वात्तै बढेको बताए।

त्यस्तै छाला, नाक र आँखा चिलाउने खालका समस्या पनि देखिन सक्ने उनले बताए।

डढेलो
तस्बिरको क्याप्शन, अहिले बढेको प्रदूषणको मुख्य कारण भनेको नै डढेलो रहेको वातावरण विभागका उपमहानिर्देश तारादत्त भट्ट बताउँछन्

जोगिन के गर्ने?

वायु प्रदूषणको दुष्प्रभावबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिएका छन्।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्नका लागि घरभित्रै बस्नु उपयुक्त हुने डा. देवको भनाइ छ।

प्रदूषणको मात्रा बिहान र साँझ बढी हुने भएकाले त्यो अवधिमा बाहिर ननिस्किन उनी श्वासप्रश्वासका रोगीलाई सुझाव दिन्छन्।

त्यस्तै बाहिर निस्किनु नै पर्ने अवस्थामा मास्क लगाउन उनी सुझाव दिन्छन्।

घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न तथा धूमपान नगर्न पनि चिकित्सकहरू सुझाव दिन्छन्।

सुक्खा खोकी लाग्ने, टाउको दुख्ने र वाकवाक लाग्ने जस्ता समस्या देखा परे चिकित्सकको राय लिन पनि देवले आग्रह गरे।

वायु प्रदूषण र त्यसको प्रभाव

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।