नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा छापिनु संयोग कि स्वाभाविक

नेपालको नयाँ नक्सामा कालापानी क्षेत्र देखिने भाग, नेपाली नोट, नेपाल राष्ट्र ब्याङ्क अनि नेपाल र चीनका झण्डा देखिने तस्बिर
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

भारतसँग विवादित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूमि समेटिएको नेपालको नयाँ नक्सा अङ्कित नोट चीनमा छाप्नका लागि सम्झौता गर्ने अन्तिम प्रक्रिया सुरु भएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय बोलकबोलबाट छनोट भएको 'चाइना ब्याङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन'सँग छपाइको सम्झौता गर्न नेपाल राष्ट्र ब्याङ्कले सूचना जारी गरेको छ।

कुनै दाबी वा विरोध नपरेको अवस्थामा अबको एक वर्षसम्म नेपालको पछिल्लो नक्सा अङ्कित १०० रुपैयाँ दरका नयाँ नोट चीनमा छापिएर आउने अधिकारीहरूले बताएका छन्।

भारतले असन्तुष्टि व्यक्त गरेको उक्त नोटको छपाइ चीनमा गर्ने निर्णय भूराजनीतिक विषय नभई नियमित प्रक्रिया भएको राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलले बताए।

“देशभन्दा पनि कम्पनीका आधारमा छपाइको ठेक्का दिइने हो। जसको योग्यता पुग्छ, जसले बोलकबोलमा प्रतिस्पर्धात्मक प्रस्ताव गर्छ, गुणस्तर कायम गर्छ त्यही कम्पनी छानिने हो। देशसँग यहाँ सरोकार छैन,” प्रवक्ता पौडेलले भने।

“यसमा के बुझ्नुपर्‍यो भने यसमा नक्सा र छिमेकी देशहरू भन्ने कुनै कुरै हुँदैन। हामीले मापदण्डका आधारमा योग्य कम्पनी छान्ने हो।”

सार्वजनिक खरिद कानुनअनुसार महँगोमा अर्को प्रतिस्पर्धीसँग वस्तु वा सेवा लिन नपाइने नियमका कारण प्रतिस्पर्धी मूल्यकै आधारमा चीनको कम्पनी छानिएको राष्ट्र ब्याङ्कका प्रवक्ताको दाबी छ।

चीनमा छापिए पनि ती नोटहरू भारतकै बाटो हुँदै नेपाल आइपुग्ने उनले बताए। चीनमा छापिने नेपाली नोटहरू भारतको कोलकाता बन्दरगाह हुँदै सडक मार्गबाट नेपाल ल्याउने गरिएको छ।

नेपालले अधिकांश नोटहरू चीनमा छपाइ गर्दै आएको छ। रु १०० दरका नोट भने यसअघि यूकेमा छापिए पनि सन् २०१६ मा एक पटक चाहिँ चीनमा छापिएको राष्ट्र ब्याङ्कले जनाएको छ।

नेपालमा सेक्युरिटी प्रिन्टिङ नभएका कारण सबै नोटहरू अन्तर्राष्ट्रिय टेन्डरबाट विदेशमा नै छापिने राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेलले जानकारी दिए।

एउटा नोट छाप्न कति लागत?

नेपालको नक्सा र सय रुपैयाँको नोट

आर्थिक वर्ष २०७८/७९ मा १०० रुपैयाँ दरका १६ करोड थान नोट छपाइ भएर ब्याङ्कको ढुकुटीमा दाखिला भएको केन्द्रीय ब्याङ्कको एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो पटक नेपालले रु १०० दरका ३० करोड थान नोट छपाइका लागि ठेक्का आह्वान गरेको थियो। तीस अर्ब रुपैयाँ मूल्यका ३० करोडवटा नोट छाप्न ८९ लाख ९६ हजार ५२९ अमेरिकी डलर अर्थात् एक अर्ब २१ करोड २६ लाख नेपाली रुपैयाँ बराबर लागतमा ठेक्का सम्झौता गर्न चिनियाँ कम्पनीलाई आह्वान गर्दै राष्ट्र ब्याङ्कले सूचना प्रकाशित गरेको छ।

त्यसअनुसार एउटा नोटको छपाइ मूल्य चार रुपैयाँ चार पैसा हुन आउने राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्।

नेपालमा पाँच रुपैयाँ देखि १,००० रुपैयाँसम्म सात दरका नोटहरू प्रचलनमा छन्। त्यसबाहेक एक र दुई रुपैयाँका सिक्काहरू प्रचलनमा छन्।

एक र दुई रुपैयाँको सिक्कामा भने नेपालले विसं २०७७ बाटै कालापानी क्षेत्र स्पष्टसँग देखिने गरी चुच्चो भाग भएको नयाँ नक्सा छाप्दै आएको छ। एक र दुई दुवै दरका सिक्काहरू यसअघि पोलन्डमा छापिएका थिए।

युरोपमा छापिने एक रुपैयाँको सिक्का पनि भारतको बाटो हुँदै नेपाल आउँछ।

चिनियाँ कम्पनी कसरी छानियो?

नेपालका नोट र सिक्काहरू

राष्ट्र ब्याङ्कले करिब ११ वर्षयता चीनमा पनि मुद्रा छपाउँदै आएको छ।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलका अनुसार १०० दर रुपैयाँका नयाँ नोटहरू छपाइका लागि आह्वान गरिएको बोलकबोलमा चीनको 'चाइना ब्याङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन' कम्पनी छानिएको हो।

राष्ट्र ब्याङ्कले गत जुलाई २१ मा ३० करोड नोटको डिजाइन, छपाइ, आपूर्ति र हस्तान्तरणका लागि बोलकबोल आह्वान गरेको थियो। त्यसमा पूर्व योग्यता पूरा भएका सेक्युरिटी प्रिन्टिङ कम्पनीहरूले मात्रै भाग लिन पाउँथे।

राष्ट्र ब्याङ्कको नोट छपाइको मापदण्ड पुगेका सेक्युरिटी प्रिन्टिङ कम्पनीहरू राष्ट्र ब्याङ्कमा सूचीकृत भएको दुई वर्ष भएपछि मात्रै यस्तो बोलकबोलमा भाग लिन पाउँछन्।

राष्ट्र ब्याङ्कले ठेक्का प्रक्रियामा सहभागी हुन दिएको सेप्टेम्बर ४ सम्मको समयसीमामा भारतीय कम्पनी पनि सहभागी भएको बीबीसीले थाहा पाएको छ। तर राष्ट्र ब्याङ्कका प्रवक्ता पौडेललाई त्यस बारेमा सोधिएको प्रश्नमा उनले ठेक्का प्रक्रियामा कैयौँ कम्पनी सहभागी भए पनि ती कम्पनीबारे बताउन नमिल्ने उत्तर दिए।

“नेपाल राष्ट्र ब्याङ्कको आफ्नै विनियमावली र सार्वजनिक खरिद नियमावलीबमोजिम खर्चको आधार, आपूर्तिको आधार, आर्थिक मितव्ययिताको आधार र डिजाइनको आधारमा कम्पनी छनोट भएको हो। यसमा अरू धेरै योग्य कम्पनीहरूले पनि भाग लिएका थिए,” पौडेलले भने।

नेपालले इन्डोनेशिया, अस्ट्रेलिया, फ्रान्स, यूकेसहित विभिन्न देशहरूमा नोट छापेको इतिहास छ।

कसरी थपियो नयाँ नक्सा

नेपाल राष्ट्र ब्याङ्क

साधरणतया एउटा चक्रमा नोटको छपाइ गर्दा तीनदेखि साढे तीन वर्षसम्म पुग्ने हिसाबले छपाइ गर्ने गरिएको राष्ट्र ब्याङ्कका अधिकारीहरू बताउँछन्।

नेपालमा नयाँ नोटहरूको अभाव भए पछि यसपालिको दशैँमा राष्ट्र ब्याङ्कले नयाँ नोटहरू दिएको थिएन।

नेपाल राष्ट्र ब्याङ्क ऐन २०५८ ले ब्याङ्क नोट निष्कासन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा निर्धारण गरिनुपर्ने उल्लेख गरेको छ। त्यही व्यवस्थालाई ध्यान दिँदै मन्त्रिपरिषद्ले गत मे महिनामा १०० रुपैयाँको नोटमा रहेको नक्सा परिमार्जन गर्ने निर्णय गरेको थियो।

सरकारले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखी ब्याङ्क नोटको डिजाइन परिवर्तन गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

सरकारको निर्णयप्रति भारतका विदेशमन्त्री एस जयशङ्करले असन्तुष्टि जनाएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार समेत रहेका पूर्वगभर्नर चिरञ्जीवी नेपालले सरकारको कदम "परिपक्व नदेखिएको" भनी टिप्पणी गरेपछि उनको आलोचना भएको थियो। त्यही विवादका कारण नेपालले सल्लाहकार पदबाट राजीनामा दिएका थिए।

नेपालले विसं २०७७ जेठमा कालापानी, लिम्पियाधुरा र लिपुलेक सहित देखिने गरी नेपालको आधिकारिक नक्सा जारी गरेको थियो। त्यही महिना नेपालले संविधान संशोधन गरेर उक्त नक्सालाई निसानछापसहित देशका आधिकारिक दस्ताबेजहरूमा प्रयोग गर्दै आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।