'वर्षविवाह' भनिएको जेफ बेजोस र लरेन सान्चेजको बिहेबारे यस्ता छन् रोचक कुरा

जेफ बेजोस र लरेन सान्चेज
Published
पढ्ने समय: ५ मिनेट

एमजनका संस्थापक जेफ बेजोस र उनकी प्रेमिका लरेन सान्चेजले यसै साता तीनदिने भव्य समारोहबीच विवाह गर्दै छन्। दशौँ करोड डलर खर्च हुन लागेको वैवाहिक कार्यक्रम विरोध प्रदर्शनसहितका विवादबीच अगाडि बढ्दै छ।

दुई अर्बपति र फक्स टीभी अनि एबीसी टक शो 'द भ्यू'का पूर्वसहप्रस्तोताको यो दोस्रो बिहे हुने छ।

विवाहित जोडी बन्न लागेका यी दुई जना केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका थिए। सन् २०२३ को मेमा उनीहरूको 'इन्गेज्मेन्ट' भएको थियो।

विवाद र विरोध

भेनिसको एउटा होटलमा जेफ बेजोस र लरेन सान्चेज
तस्बिरको क्याप्शन, भेनिसको एउटा होटलमा जेफ बेजोस र लरेन सान्चेज

वैवाहिक कार्यक्रमबारे विस्तृत जानकारी दिइएको छैन, तर मूल योजनाअन्तर्गत सहरको केन्द्रमा रहेको ऐतिहासिक स्थल स्क्वोला ग्रान्ड डेला मिसेरिकोर्डिआमा आयोजना गरिने बताइएको थियो।

यद्यपि अर्बपतिहरूको बिहेले गराउने व्यापक खर्च र व्यवधानलाई लिएर नागरिकहरूबाट आएका प्रतिक्रियाले आयोजकहरूलाई विवाहस्थल परिवर्तन गर्न दबाव सिर्जना गरेको देखिएको छ।

बेजोसको वैवाहिक कार्यक्रमको विरोधमा प्रदर्शनकारीहरू
तस्बिरको क्याप्शन, बेजोसको वैवाहिक कार्यक्रमको विरोधमा प्रदर्शनकारीहरू

"हामीलाई यसमा गर्व छ! हामी कोही होइनौँ, हामीसँग पैसा छैन, केही पनि छैन," आफूलाई 'नो स्पेस फर बेजोस' (बेजोसलाई ठाउँ छैन) भनेर चिनाउने समूहका टोमासो कासिआरीले बीबीसीसँग भने।

"हामी नागरिक हौँ, जसले यो कार्यक्रम गर्न थाल्यौँ र हामीले संसारका अति शक्तिशालीमध्येका एक व्यक्तिलाई सहरबाट निकाल्न सफल भयौँ।"

भेनिसमा जेफ बेजोस
तस्बिरको क्याप्शन, भेनिसमा जेफ बेजोस

त्यस्ता उच्चस्तरका आगन्तुकहरू महत्त्वपूर्ण आम्दानीका स्रोत भएका भन्दै सहरका अधिकारीहरूले अभियानकर्मीहरूको चर्को आलोचना गरेका छन्।

"प्रदर्शनकारीहरूले यसरी व्यवहार देखाएका छन् कि मानौँ भेनिसमाथि उनीहरूकै स्वामित्व छ, तर त्यसो होइन," भेनिसका आर्थिक विकाससम्बन्धी काउन्सिलर सिमोन भेन्टुरिनीले बीबीसीसँग भने।

"कसको बिहे यहाँ हुन पाउँछ अथवा हुन पाउँदैन भन्ने कुरा कसैले निर्णय गर्न पाउँदैन।"

बेहुला-बेहुली को हुन्?

सन् २०२३ मा जेफ बेजोस र लरेन सान्चेज
तस्बिरको क्याप्शन, सन् २०२३ मा जेफ बेजोस र लरेन सान्चेज

यो वर्ष फोर्ब्सले ६१ वर्षीय बेजोसलाई संसारको तेस्रो सर्वाधिक धनी व्यक्ति घोषित गरेको छ। उनीसँग अनुमानित २२७ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ।

उनी विशाल ईकमर्स कम्पनी एमजन र अन्तरिक्ष प्रविधि कम्पनी ब्लू ओरिजिनका संस्थापक हुन्।

यसअघिका बिहेबाट यी दुईका कुल सातजना सन्तान छन्। बेजोसकी पूर्वपत्नी मक्केन्जी स्कटबाट तीन छोरा र एक धर्मपुत्री रहेका छन्।

पच्चीस वर्ष लामो वैवाहिक सम्बन्धलाई टुङ्ग्याउँदै उक्त जोडीले सन् २०१९ मा ट्विटर (अहिलेको एक्स) मार्फत् सम्बन्धविच्छेदको घोषणा गरेका थिए।

बेजोस र उनकी पूर्वपत्नी मक्केन्जी
तस्बिरको क्याप्शन, बेजोस र उनकी पूर्वपत्नी मक्केन्जी

सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको थियो।

पारपाचुकेपछि मक्केन्जीसँग एमजनको चार प्रतिशत शेअर हुने सहमति पनि भएको थियो।

पचपन्न वर्षीया लरेन सान्चेज लाइसन्सप्राप्त हेलिकोप्टर पाइलट र ब्ल्याक ओप्स एभिएशनकी संस्थापक हुन्।

ब्लू ओरिजिनको एक्स खातामा उल्लेख गरिएअनुसार महिला मालिक र सञ्चालक रहेको ब्ल्याक ओप्स एभिएशन पहिलो एरिअल फिल्म तथा उत्पादन कम्पनी हो।

पूर्वपार्टनर तथा न्याश्नल फुटबल लीगका भूतपूर्व खेलाडी टोनी गोन्जालेजबाट सान्चेजका एउटा छोरा छन् भने पहिलो श्रीमान्‌ मिडिआ इग्जे्कयटिभ प्याट्रिक ह्वाइटसेलबाट उनका दुई सन्तान छन्। उनीहरूबीच १४ वर्षसम्म वैवाहिक सम्बन्ध थियो।

विवाहस्थलबाहिर

विरोधमा कसले प्रदर्शन गरिरहेका छन्?

विरोधमा भेनिसमा देखिएको ब्यानर
तस्बिरको क्याप्शन, विरोधमा भेनिसमा देखिएको ब्यानर

ठूला हस्तीहरू सहभागी हुने वैवाहिक कार्यक्रमले विभिन्न समूहबाट विरोध निम्त्याएको छ। यसमा भेनिसमा आवश्यकताभन्दा बढी पर्यटनको विरोध गर्ने स्थानीय बासिन्दाहरू, जलवायु परिवर्तनको विषयलाई उठाउने अभियानकर्मीहरू र डोनल्ड ट्रम्पलाई बेजोसको समर्थनको विरोध गर्नेहरू रहेका छन्।

सहरका कैयौँ हिस्सा बन्द गराउन सक्ने चिन्ताबीच भेनिसमा अभियानकर्मीहरूले बेजोसको वैवाहिक कार्यक्रमविरुद्ध शृङ्खलाबद्ध प्रदर्शनको आयोजना गरेका छन्।

कतिपय स्थानीय बासिन्दाले यो समारोहलाई भेनिसमा आवश्यकताभन्दा बढी पर्यटन र स्थानीयवासीलाई अन्यत्र स्थानान्तरण गर्ने अर्को सङ्केतका रूपमा लिएका छन्।

भेनिसको अहिलेको जनसङ्ख्या ४९ हजारभन्दा कम रहेको छ जबकि सन् १९५० मा एक लाख ७५ हजार थियो।

वातावरणवादी समूह ग्रीनपीसले बेजोसलाई "विशेषाधिकार र प्रदूषण" का प्रतीक भनेका छन्, जसले "अतिधनाढ्य र बाँकी मानिसबीचको असमानता एवं जलवायु परिवर्तनका प्रभावबीचको खाडललाई अझ बढाउने छ"।

सोमवार ग्रीसपीसका अभियानकर्मीहरू र आफूलाई 'एभ्रिवन हेट्स इलोन' (इलोनलाई सबैले घृणा गर्छन्) भनेर चिनाउने समूहले सेन्ट मार्क स्क्वेअरस्थित पिज्जा सान मार्कोमा बेजोसको एउटा विशाल चित्र सार्वजनिक गरे।

अतिधनाढ्यविरुद्ध गरिएको प्रदर्शनको नारा थियो, "यदि तपाईँ भाडामा भेनिस सहरलाई लिन सक्नुहुन्छ भने तपाईँ धेरै कर तिर्न सक्नुहुन्छ।"

गिर्जाघरबाहिर सुरक्षाकर्मी
तस्बिरको क्याप्शन, गिर्जाघरबाहिर सुरक्षाकर्मी

आगन्तुक र हप्तौँदेखि प्रदर्शन गर्दै आएका अभियानकर्मीहरू नमिसिऊन् भनेर भेनिस सिटी हलले बुधवार एउटा निर्देशन जारी गर्दै छेकबार लगाएको छ।

कसकसलाई आमन्त्रण गरिएको छ?

ट्रम्पकी छोरी र ज्वाइँ
तस्बिरको क्याप्शन, ट्रम्पकी छोरी र ज्वाइँ

करब २०० जना पाहुनालाई निम्त्याइएको छ। फ्याशन डिजाइनर डायन भान फर्स्टनर्बर्गका साथै डोनल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प, उनका श्रीमान् जारेड कूश्नरसहित कैयौँ पाहुनाहरू भेनिस पुग्न थालेका छन्।

मेमा प्यारिसमा गरिएको सान्चेजको 'ब्याचलरेट पार्टी'मा रियालटी टीभी स्टारहरू किम कार्डाशिअन र क्रिस जेनर, गायिका केटी पेरी, अभिनेत्री तथा निर्मात्री इभा लङ्गोरिआ, परोपकारी नताशा पूनावाला र फक्स स्पोर्ट्स प्रस्तोता करीसा थम्प्सन थिए।

सबै सामेल हुने अपेक्षा गरिएको छ।

हल्ला सुनिएअनुसार सहभागी हुने अरू ठूला हस्तीहरूमा टीभी प्रस्तोता ओप्रा विन्फ्री, रक पर्फर्मर माइक ज्यागर र अभिनेता लिओनार्दो डि क्याप्रिओ पनि छन्।

टेक्ससमा गायिका केटी पेरी र लरेन सान्चेजसहित
तस्बिरको क्याप्शन, टेक्ससमा गायिका केटी पेरी र लरेन सान्चेजसहित

इटलीका सञ्चारमाध्यमहरूका अनुसार वैवाहिक समारोहका लागि लगभग सबै विलासी होटेलहरू बुक गरिसकिएको छ भने थुपै 'वाटर ट्याक्सी'हरू पनि बुक गरिएका छन्।

निजी विमानहरूले भेनिस विमानस्थलमा जाम निम्त्याउने अपेक्षा गरिएको छ भने बन्दरगाहमा निजी पानीजहाजहरूको दबदबा रहने छ।

पाँचवटा होटेलहरू पूर्ण रूपमा बुक गरिएका छन् भने सुरक्षाका लागि पूर्वअमेरिकी जलसेनाहरूलाई भाडामा लिइएका विवरणमा जनाइएको छ।

भेनिस पनि पर्ने भेनेटोका क्षेत्रीय सरकार प्रमुख लुका जाइआका अनुसार वैवाहिक समारोहमा ५.५६९ करोड डलर खर्च हुने अपेक्षा गरिएको छ।

टीभी स्टार किम कार्डाशिअन
तस्बिरको क्याप्शन, टीभी स्टार किम कार्डाशिअन

भेनिसमा व्यापक स्तरमा आयोजना गरिएको जेफ बेजोसको वैवाहिक समारोह पहिलो होइन।

सन् २०१४ मा अभिनेता जर्ज क्लूनीले मानवअधिकार वकिल अमल अलामुद्दीनसँग भव्य समारोहबीच विवाह गरेका थिए, जति बेला भेनिसका नहरहरूमा ठूला हस्तीहरू ओर्लिएका थिए।

तर बेजोसको वैवाहिक समारोहको जस्तो क्लूनीको समारोहको विरोध भएको थिएन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।