अमेरिकामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु, आवासीय भवनको दोस्रो तलासम्म बाढी

सुरक्षित स्थलतर्फ जाँदै गरेकाहरू
Published
पढ्ने समय: ३ मिनेट

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको पुष्टि भएको छ। उद्धारकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ।

बीस लाख घर तथा व्यवसायहरू अझै विद्युत्‌विहीन छन्। बाढीग्रस्त क्षेत्रबाट हजारौँको उद्धार गरिएको छ।

अधिकारीहरूले आउँदा दिनमा पनि बाढी आउने सम्भावना रहेको चेतावनी दिएका छन्।

फ्लोरिडा
तस्बिरको क्याप्शन, आँधीपछिको दृश्य

अपार्ट्मेन्टको दोस्रो तलासम्म पानी

मिल्टन आँँधी
तस्बिरको क्याप्शन, फ्लोरिडाको दृश्य

फ्लोरिडाको पश्चिम केन्द्रीय तटमा अवस्थित पिनेलस काउन्टी उद्धारकार्य चलिराखेको स्थानमध्येको हो।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार त्यहाँको एउटा आवासीय भवनको दोस्रो तलाको बार्दलीसम्म पानी भरिएको थियो। उक्त भवनबाट फसेका ४३० जनालाई बाढीबाट उद्धार गरिएको थियो।

आँधी आउनुअघि पिनेलस काउन्टीसहित तटीय क्षेत्रका मानिसहरूलाई अन्यत्र जान भनिएको थियो।

तस्बिरमा हेर्नुहोस् मिल्टनले निम्त्याएको विध्वंश

उक्त आँधी फ्लोरिडामा बज्रिँदा रातिको समय थियो। बिहीवार लिइएका तस्बिरहरूले उक्त आँधीको व्यापक प्रभाव र यसले पुर्‍याएको क्षतिलाई दर्साउँछन्। उद्धारकर्मीहरूले शुक्रवार पनि खोजी कार्य जारी राखेका छन्। सरसफाइ कार्यका निम्ति हप्तौँ वा महिनौँ लाग्न सक्ने बताइएको छ।

फ्लोरिडा
तस्बिरको क्याप्शन, आँधीले क्षतिग्रस्त तुल्याएको सेन्ट पिटर्स्बर्गस्थित एक रङ्गशालाको दृश्य
फ्लोरिडा
तस्बिरको क्याप्शन, फ्लोरिडास्थित एउटा घरको दृश्य
फ्लोरिडा
तस्बिरको क्याप्शन, आँधीको चपेटमा परेका फ्लोरिडास्थित साउथ डेटोनाका एक स्थानीयवासी
फ्लोरिडा
तस्बिरको क्याप्शन, फ्लोरिडास्थित साउथ डेटोनाको दृश्य
फ्लोरिडा
तस्बिरको क्याप्शन, कुकुर च्यापेर हिँड्दै गरेका फ्लोरिडास्थित साउथ डेटोनाका एक स्थानीयवासी

के छ मिल्टनको स्थिति?

फ्लोरिडा
तस्बिरको क्याप्शन, सेन्ट लुसी काउन्टीमा आफ्नो घर मर्मत गर्दै गरेका स्थानीयवासी

फ्लोरिडाबाट पूर्वतिर सर्दै एट्लान्टिक महासागर पुग्दा उक्त आँधीको गति तीव्र गतिमा कमजोर भइरहेको छ। 'ट्रपिकल' चक्रवातका सबै विशेषताहरू गुमाएको यसलाई अहिले 'पोस्ट-ट्रपिकल मिल्टन' भनिएको छ।

शुक्रबार विशेष गरी फ्लोरिडाको पूर्वी तटमा अलिअलि हावा चल्नेछ, तर दिउँसो कमजोर हुने बताइएको छ।

आगामी केही दिन राज्यका अधिकांश भाग सुक्खा रहने छन्, तर शुक्रबार पूर्वी र दक्षिणी फ्लोरिडामा पानी पर्ने सम्भावना छ।

तीमध्ये केही ठाउँमा चट्याङसहित ठूलो वर्षा हुन सक्ने ठानिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।