भारतीय युवाहरू पनि युक्रेन युद्धमा, कसरी पुगे रुसी सेनामा

भारतीय युवा
    • Author, अमरेन्द्र यारलगड्डा
    • Role, बीबीसी संवाददाता
  • Published

भारतीय नागरिकहरू पनि रुसी सेनामा भर्ती भएको विवरण प्राप्त भएको छ। लाखौँ रुपैयाँ कमाउने आशामा भारतबाट रुस पुगेका युवाहरू समस्यामा परेपछि यो जानकारी सार्वजनिक भएको छ।

कामको प्रलोभनमा आफूलाई एजेन्टहरूले रुस बोलाएर सेनामा भर्ती गराएको केही युवाहरूको दाबी छ। एजेन्टहरूले सेनामा नभई हेल्पर र सुरक्षागार्डको जागिर दिने भनेर आफूहरूलाई रुस पुर्‍याएको उनीहरूले बताएका छन्।

पछिल्लो समय भारतको कर्नाटक, गुजरात, महाराष्ट्र, जम्मू तथा कश्मीर र तेलङ्गानाबाट १६ जना रुस पुगेका छन्।

उनीहरूलाई रुस पुर्‍याउने केही एजेन्टहरू भारत, यूएई र रुसमा रहेर काम गरिरहेको दाबी गरिएको छ।

हेल्परको काम दिने आश्वासनमा रुस पुर्‍याइएका उनीहरूलाई केही दिनको लागि तालिमलगत्तै सन् २०२३ को डिसेम्बरबाट रुसी सेनामा भर्ती गरिएको परिवारका सदस्यहरूले बताएका छन्।

रुसी सेनामा भारतीय युवाहरूलाई पुर्‍याउन यूएईमा बसेर काम गरिरहेको आरोप लागेका बाबा भ्लग चलाउने फैसल खानसँग बीबीसीले कुरा गरेको छ।

उनले आफूले रुसी सेनाको सहयोगीको जागिर भन्ने जानकारी दिएरै युवाहरूलाई रुस पठाएको दाबी गरेका छन्।

"मैले जागिर खोज्ने उम्मेदवारहरूलाई यो सेनामै हेल्परको जागिर हो भनेको थिएँ,” उनले भने।

घटना कसरी बाहिर आयो?

रुसी सैनिक

रुस पुगेका भारतीय युवाले लामो समयसम्म आफ्नो परिवारसँग सम्पर्क गर्न नसकेपछि यो कुरा बाहिर आएको थियो।

पछिल्लो समय उनीहरूका केही भिडिओहरू पनि बाहिर आएका छन् जसमा उनीहरू हताश भएर सहयोग मागिरहेको देखिएको छ।

भाइरल भएकामध्ये एउटा भिडिओमा तेलङ्गानाका दुई जनाले आफूहरूलाई झुक्क्याइएको दाबी गरेका छन्।

"हामीलाई सुरक्षा हेल्परको काम भनिएको थियो तर रुसी सेनामा भर्ती गरियो। रुसी अधिकारीहरूले युद्धको अग्रमोर्चामा ल्याए। हामीलाई युद्ध क्षेत्रको एउटा जङ्गलमा तैनाथ गरिएको छ। बाबा भ्लगका एजेन्टले हामीलाई धोका दिए," उनीहरूले भनेका छन्।

अर्को एउटा भिडिओमा उत्तर प्रदेशका एक जनाले हातमा चोट देखाउँदै आफू रणभूमिबाट भाग्न सफल भएको भन्दै आफ्नो जीवनरक्षाका लागि गुहार मागेका छन्।

'कागजमा हस्ताक्षर गर्न लगाइयो'

रुसी सेना

भारतीय युवाहरूले रुस पुगेपछि त्यहाँका अधिकारीले तालिम लिनुअघि एउटा कागजमा हस्ताक्षर गराएको बताएका छन्। त्यो कागज रुसी भाषामा लेखिएको भए पनि आफूहरूले एजेन्टलाई विश्वास गरेर हस्ताक्षर गरेको उनीहरूले बताएका छन्।

तेलङ्गानाकी नसीब बानोले रुसी सेनामा रहेका आफ्ना छोरासँग जनवरी १८ देखि सम्पर्क हुन नसकेको बीबीसीलाई बताएकी छन्। उनले आफ्ना छोरालाई स्वदेश फिर्ता ल्याइदिन सरकारसँग आग्रह गरिन्।

फैसल खानले बीबीसीसँग सातामा एक पटक उनीहरूलाई फोनमा कुरा गर्न अनुमति दिइने गरिएको बताए।

"युद्धको मैदानबाट फोन प्रयोग गर्दा युक्रेनी सेनाले सिग्नल पत्ता लगाएर ड्रोन आक्रमण गर्न सक्छ। त्यसैले युद्ध मैदानमा फोन प्रयोग गरिएको छैन," उनले भने।

फैसल खानका अनुसार रुस गएका १६ भारतीय युवामध्ये १० जनाको ठेगाना पत्ता लागेको छ। तर ६ जनाको अझै पत्ता लाग्न सकेको छैन।

उनीहरूलाई रुसी सेनामै भर्ना गरिएको एक जना भारतीय नागरिकलाई हस्ताक्षर गर्न लगाइएको कागजमा पाइएको परिवारले जनाएको छ।

बीबीसीले आफ्नो अनुसन्धानमा भारतीय नागरिकहरूलाई रुसी सेनामा लैजान कैयौँ एजेन्ट संलग्न रहेको पत्ता लगाएको छ। ती सबै भारतीय नागरिक रहेको र विभिन्न देशमा बस्ने गरेको पाइएको छ।

उनीहरूले सामाजिक सञ्जालमा राख्ने भिडिओहरूलाई विज्ञापनको रूपमा प्रयोग गरेर युवाहरूलाई आकर्षित गर्ने गरेको पाइएको छ।

‘भारु तीन लाख लिएर पठाइयो’

जागिरको प्रलोभनमा रुसमा पठाइएकाहरूलाई त्यहाँ मासिक भारतीय रुपैयाँ एक लाखदेखि डेढ लाख सम्म तलब पाइने आश्वासन दिइएको थियो।

रुस पुगेपछि प्रशिक्षणका क्रममा यी व्यक्तिलाई मासिक भारु ४०,००० देखि ५०,००० रुपैयाँ दिइएको थियो।

फैसल खानले उनीहरूलाई पछि तलब बढ्ने बताएका थिए। यूएईमा बस्ने खानले उनीहरू प्रत्येक व्यक्तिसँग भारु तीन लाख लिएको बताइएको छ।

उनले प्रक्रियाका लागि लाग्ने खर्चबापत आफूले त्यति रकम लिएको स्वीकार गरेका छन्।

“तर मैले ५०,००० रुपैयाँ मात्र लिएँ र बाँकी रुसमा रहेका एजेन्टहरूलाई बुझाएँ," उनले भने।

भारत सरकार के भन्छ

रुसी सैनिक

रुस र युक्रेनबीच जारी युद्धको रणभूमिमा भारतीय नागरिक पुर्‍याइएको विषयमा भारतीय विदेश मन्त्रालयले आफ्नो प्रतिक्रिया दिएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, "हामीले केही भारतीय नागरिकहरू रुसी सेनामा सपोर्ट स्टाफको रूपमा काम गरिरहेको जानकारी प्राप्त गरेका छौँ। उनीहरूलाई त्यहाँबाट चाँडै फिर्ता गराउन भारतीय दूतावास रुसी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ।"

उनले भारतीय नागरिकहरूलाई सावधानी अपनाउन र यस द्वन्द्वबाट टाढै रहन अपील गरेका छन्।

यस विषयमा थप जानकारीका लागि बीबीसीले रुसस्थित भारतीय दूतावास र भारतस्थित रुसी दूतावासलाई इमेलमार्फत् सम्पर्क गरेको थियो। तर अहिलेसम्म कतैबाट पनि प्रतिक्रिया आएको छैन।

रुसमा सम्पर्कविहीन भएका एक भारतीय नागरिकका दाजुले हैदराबादको नामपल्ली प्रहरी चौकीमा आफ्ना भाइको खोजी गरिदिन माग गर्दै उजुरी दिएका छन्।

उनको उजुरीका आधारमा नामपल्ली प्रहरीले फैसल खानविरुद्ध ठगीको मुद्दा दर्ता गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।