वर्षकै विश्वको सबैभन्दा खतरनाक आँधीको सामना गर्दै जमैका

आँधीको स्याटलाइट तस्बिर

तस्बिर स्रोत, CIRA & NOAA/Reuters

Published
पढ्ने समय: २ मिनेट

यो वर्ष विश्वमा देखिएको सबैभन्दा शक्तिशाली आँधी 'मेलिसा'ले क्यारिबिअन क्षेत्रमा "विपत्ति निम्त्याउन सक्ने" चेतावनी अमेरिकी मौसमविद्ले दिएका छन्।

हावाको गति २८२ किलोमिटर प्रतिघण्टा रहेको यो आँधी अति खतरनाक मानिने क्याटगरी-५ तहको हो।

झन् झन् तीव्र हुँदै गइरहेको यो आँधी मङ्गलवार बिहान क्यारिबिअन टापुमा पुग्ने आकलन गरिएको छ। आँधीसँग सम्बन्धित घटनामा जमैकामा तीन जनाको मृत्यु भएको छ। त्यस बाहेक हेइटी र डोमिनिकन रिपब्लिकमा चार जनाको ज्यान गएको घटना पनि आँधीसँग सम्बन्धित रहेको बताइएको छ।

मेलिसाका कारण केही क्षेत्रहरूमा लामो समयसम्म मुसलधारे वर्षा हुन सक्ने र बाढी र पहिरोको जोखिम बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

अमेरिकाकाको राष्ट्रिय आँधी केन्द्र एनएचसीको तथ्याङ्कले अधिकतम हावा र न्यून केन्द्रीय चापका कारण मेलिसा यस वर्षकै विश्वको सबैभन्दा शक्तिशाली आँधी रहेको देखाएको छ।

अहिलेकै गतिमा अघि बढेर जमैकामा पुगे यो आँधी सन् १८५१ मा अभिलेख राख्न सुरु भएयता जमैकामा मापन गरिएको सबैभन्दा शक्तिशाली आँधी हुने बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएसले जनाएको छ।

जमैकाको स्वास्थ्य मन्त्रालयले आँधी जमिनमा पुग्नु अघिनै त्यसका कारण तीन जनाको मृत्यु भएको जनाएको छ। अमेरिकी आँधी केन्द्रले "विपत्तिजनक र ज्यान लिनसक्ने" आँधीको चेतावनी दिएको छ।

आँधी छ किलोमिटर प्रतिघण्टाको गतिमा "पश्चिम-उत्तर-पश्चिम" सरिरहेको उक्त केन्द्रले जनाएको छ। जोखिमयुक्त बाढी र पहिरोको सम्भावना औँल्याउँदै जमैकाबासीलाई घर बाहिर ननिस्कन चेतावनी दिइएको छ।

आगामी चार दिनमा जमैकाका केही भागहरूमा १०० सेन्टिमिटरसम्म वर्षा हुन सक्ने एनएचसीले चेतावनी दिएको छ।

जमैका सरकारले किङ्स्टनका केही भागहरू खाली गर्न आदेश दिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।