सङ्घर्षपूर्ण खेलमा यूएईमाथि जितसँगै नेपाली महिला क्रिकेट टोली विश्वकपको 'ग्लोबल क्वालिफायर'मा

नेपाल र यूएई महिला टोलीबीचको खेल
तस्बिरको क्याप्शन, नेपालले जित्नैपर्ने दबावसहित यूएईसँग खेलेको थियो
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published
  • पढ्ने समय: ३ मिनेट

एक सङ्घर्षपूर्ण प्रतिस्पर्धामा यूएईलाई पाँच विकेटले हराउँदै राष्ट्रिय महिला क्रिकेट टोली टी२० विश्वकपको 'ग्लोबल क्वालिफायर'मा छनोट हुन सफल भएको छ।

थाईल्यान्डमा जारी प्रतियोगितामा टस जितेर पहिले फील्डिङ रोजेको नेपालले पहिले यूएईलाई ११४ रनमा रोक्यो भने ब्याटिङमा सङ्घर्ष गर्दै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

सिनिअर विश्वकपमा पुग्ने लक्ष्यका साथ मेहनत गरिरहेको महिला टोली यस जितसँगै उक्त यात्राको एक कदम नजिक पुगेको छ।

ग्लोबल क्वालिफायरतर्फको यात्रा नेपालका लागि संयोग र मेहनतको मिश्रण रह्यो।

पहिलो लीग चरणबाटै बाहिरिने खतरामा पुगिसकेको नेपाल वर्षाले साथ दिएकै कारणले मात्र 'सूपर थ्री'मा पुगेको थियो।

'सूपर थ्री'मा पुगेका नेपाल, थाईल्यान्ड र यूएईमध्ये दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुने थिए। त्यसमा थाईल्यान्डले यूएईलाई ५४ रनले पराजित गरेर ग्लोबल क्वालिफायरको स्थान सुरक्षित गरिसकेकामा नेपालले पनि यूएईलाई नै सिकार बनायो।

नेपालको जितमा ब्याटिङमा रुविना क्षेत्री बेलबासे, इन्दु बर्मा तथा सम्झना खड्का अनि बलिङमा मनीषा उपाध्यायको भूमिका महत्त्वपूर्ण देखियो।

कप्तान र पूर्वकप्तानको सानदार प्रदर्शन

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा
तस्बिरको क्याप्शन, कप्तान इन्दु बर्माले नेपालको जितमा महत्त्वपूर्ण योगदान दिइन्

थाईल्यान्डको राजधानी ब्याङ्ककस्थित तेरथाई क्रिकेट मैदानमा भइरहेको आइसीसी महिला टी२० विश्वकप एशिया छनोटअन्तर्गत सूपर थ्री मा नेपाललाई जिताउन पूर्वकप्तान रुविना क्षेत्री बेलबासे र कप्तान इन्दु बर्माले उल्लेख्य भूमिका खेले।

छैटौँ खेलाडीका रूपमा मैदान प्रवेश गरेकी रुविना सुरुवातदेखि नै आक्रामक देखिइन्।

उनले १८ बलमा फटाफट तीन चौका प्रहार गरेर २३ रन जोडिन् र नेपाललाई जिततिर डोहोर्‍याइन्।

तर १७.५ ‌ओभरमा रुविना आउट हुँदा नेपाल ९९-५ को अवस्थामा पुगेको थियो र टोलीलाई १३ बलमा १६ रन चाहिएको थियो।

त्यसपछि नेपाललाई जिताउने काम कप्तान इन्दुले गरिन्। अन्तिम समयसम्म क्रीजमा जमेकी उनले अविजित ३० रन बनाइन्।

उनले हानेको विजयी रनसँगै नेपाली खेलाडीहरू मैदानमा खुसीयाली मनाउन दौडिए।

सङ्घर्ष

विश्वकप एशिया क्वालिफायरको सूपर थ्रीअन्तर्गत नेपाल र यूएईको खेलअघि टस हुँदै
तस्बिरको क्याप्शन, टस जितेको नेपालले सुरुमा फील्डिङ रोजेको थियो

त्यसअघि भने नेपालले ब्याटिङमा सङ्घर्ष गरिरहेको थियो।

छैटौँ ओभरमा राजमती ऐरी (८ रन) 'डाइरेक्ट हिट' बाट आउट हुन पुगिन्। त्यसपछि क्रीजमा प्रभाव देखाइरहेकी सम्झना खड्का ( २१ रन) र कविता कुँवर ( ५ रन) आउट भएपछि नेपाल ३८-३ को दबावपूर्ण अवस्थामा पुगेको थियो।

वर्षा हुने खतराका माझ सम्भावित 'डीएल' समीकरण पनि नेपालको पक्षमा थिएन।

कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतोले स्थिति सम्हाल्ने प्रयास गरे। तर पूजा १२.३ ओभरमा आउट हुन पुगिन्। जम्मा १९ बल खेलेकी उनले १३ रन बनाएकी थिइन्।

नेपाली क्रिकेट खेलाडी मनीषा उपाध्याय
तस्बिरको क्याप्शन, पहिलो इनिङ्समा मनीषा उपाध्यायले नेपालका लागि चार विकेट लिइन्

यसअघि टस हारेर पहिलो ब्याटिङ पाएको यूएईले ११४ रनको चुनौतीपूर्ण स्कोर जोडेको थियो।

प्रारम्भिक जोडी इशा ओजा र थ्रीता सतीशले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेर आफ्नो टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए। इशाले मात्रै ३९ रन जोडिन्।

नेपालको लागि मनीषा उपाध्यायले चार विकेट लिइन्। अन्तिम ओभरमा कविता कुँवरले दुई विकेट लिइन्। राजमती ऐरीले एक विकेट लिइन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।