तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनियाँ पाठकहरूलाई प्रश्न सोध्ने अवसर दिएका पुस्तक पसलहरू किन बन्द हुँदै छन्
- Author, अबेल यू
- Role, बीबीसी चिनियाँ, हङ्कङ
- Published
- पढ्ने समय: ७ मिनेट
चेन जू हरेक महिना चीनको मुख्य भूभागबाट हङ्कङ जाँदा उनी सधैँ पुग्ने ठाउँ भनेको 'हन्टर बुकस्टोर' हो।
एक भूतपूर्व काउन्सिलरद्वारा चार वर्षअघि स्थापित यो स्वतन्त्र पुस्तक पसल अधिकारीहरूले संवेदनशील ठानेका पुस्तकहरू भण्डारण गर्नका लागि प्रसिद्ध छ- हङ्कङका लोकतन्त्र समर्थक कार्यकर्ताहरूका विवरणदेखि लिएर जर्ज ओर्वेलको 'एनिमल फार्म' वा हाजिमे इसायामाको महँगा शृङ्खला 'अट्याक अन टाइटन' जस्ता अधिनायकवादका प्रसिद्ध कथाहरूसम्म त्यहाँ पाइन्छन्।
चीनको दक्षिणी तटमा रहेको ग्वान्जोस्थित जूको घरदेखि हङ्कङको शाम शुई पो जिल्लाको भिडभाडयुक्त सडकसम्मको यात्रा छोटो छ। कपडा बेच्ने पसलहरू, गराजहरू र चल्तीका क्याफेहरूको बीचमा हन्टर घेरिएको छ।
तर २३ वर्षीया जूका लागि यो एउटा फरक, बढी स्वतन्त्र संसारको प्रवेशद्वार पनि हो, जहाँ उनी प्रतिबन्धित प्रश्नहरूको जवाफ पाउन सक्छिन्।
जुन महिनाको अन्त्यमा प्रहरीले पुस्तक पसलमा छापा मारेको सुनेपछि उनी रोइन्। "म पूर्ण रूपमा स्तब्ध भएँ।"
अस्तित्व कठिन बन्दै
हङ्कङमा सन् २०१९ मा लोकतन्त्रको पक्षमा व्यापक स्तरमा प्रदर्शनहरू भएपछि त्यहाँ स्वतन्त्र पुस्तक पसलहरूको सङ्ख्यामा तीव्र वृद्धि देखियो। तर चीनले उक्त सहरमाथि आफ्नो नियन्त्रण कडा पार्दै जाँदा तिनीहरूको अस्तित्व कठिन बन्दै गएको छ।
बेइजिङले टाढासम्म प्रभाव पार्ने आफ्नो राष्ट्रिय सुरक्षा कानुनलाई स्थिरताका लागि आवश्यक भएको भन्दै प्रतिरक्षा गर्ने गरेको छ भने धेरै हङ्कङवासी र मानव अधिकार समूहहरू त्यसले अभिव्यक्ति स्वतन्त्रतालाई दबाएको तर्क गर्छन्।
नयाँ कडा सुरक्षा कानुनहरूले धेरै गिरफ्तारी र दोषी ठहराएको कारण हालैका वर्षहरूमा कार्यकर्ता र भूतपूर्व सांसदहरूसहित हजारौँ स्थानीयवासीहरू सहर छोडेर अन्त्यत्र गएका छन्।
जुन २४ मा प्रहरीले हन्टर बुकस्टोरको खानतलासी गर्दा उनीहरूले ३३ वर्षीय पसल सञ्चालक लोटिशा वोङ र एक ३२ वर्षीय पुरुषमाथि कानुनहरू उल्लङ्घन गरेको आरोप लगाए अनि उनीहरूलाई देशद्रोह एवं सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरे। उनीहरूले ती आरोपहरू अस्वीकार गरे र पछि जमानतमा रिहा भए।
मार्च महिनामा प्रहरीले 'बुक पन्च'का सञ्चालक तथा तीन जना कर्मचारीलाई सोही प्रकृतिका आरोपमा पक्राउ गर्यो र कारागारमा रहेका लोकतन्त्र समर्थक कार्यकर्ता जिमी लाईको जीवनीको प्रतिलिपि जफत गरेको बताइएको छ।
जुलाई १५ तारिखमा हङ्कङको वार्षिक पुस्तक मेला सुरु हुँदा राष्ट्रिय सुरक्षा प्रहरीले थप दुई स्वतन्त्र पुस्तक पसलहरू 'ग्रीनफील्ड बुकस्टोर' र 'ह्याभ अ नाइस स्टे'मा खानतलासी गर्यो अनि देशद्रोहको आरोपमा पाँच जनालाई पक्राउ गर्यो। उनीहरूलाई पनि जमानतमा रिहा गरिएको छ।
महिनाको अन्त्यमा ग्रीनफील्डले सामाजिक सञ्जालमा पोस्ट गर्यो, "हाम्रो पसल घरभाडाको म्याद सकिएपछि बन्द हुने छ। सञ्चालनको ५० वर्षदेखि अनेक उतारचढावका बीच हामीलाई साथ दिनुभएकामा तपाईँहरूलाई धन्यवाद।" एक महिनाभित्र बन्द हुने यो तेस्रो स्वतन्त्र पुस्तक पसल थियो।
यी पुस्तक पसलहरूमा हङ्कङमा मात्र नभई चीनको मुख्य भूभागका समेत लामो समयदेखि बफादार ग्राहकहरू छन्। एउटा किताब किन्नलाई पनि जूजस्ता कतिपय व्यक्तिहरू सहरसम्मको यात्रा गर्छन्।
आफ्नो नाम नखुलाएकी शाङ्घाईकी १९ वर्षीया लीका निम्ति यी त्यस्ता ठाउँ हुन्, जहाँ उनी "धेरै सम्भावनाहरू देख्छिन् र विद्यमान विचारहरूलाई चुनौती दिन सकिन्छ" भन्ने ठान्छिन्।
अरूले ती ठाउँहरूलाई चीनको मुख्य भूभागमा महसुस गर्न नपाइने स्वतन्त्रता र समुदायको भावना प्रदान गर्ने स्थानका रूपमा हेर्छन्।
चीनले हङ्कङमा पनि यसलाई सिध्याउन लागेको छ भन्ने डर अहिले उनीहरूलाई भइरहेको छ।
'आफ्नोपनको गहिरो भावना'
सन् २०२१ मा विश्वविद्यालयमा भर्ना हुँदा जूमा कम चर्चा हुने सन् १९८९ को तिआन्आन्मेन स्क्वेअरको घटनालगायत चिनियाँ इतिहासबारे जिज्ञासा बढ्यो।
विद्यार्थी नेतृत्वको व्यापक विरोध प्रदर्शन रक्तपातपूर्ण सैन्य कारबाहीमा परिणत हुँदा त्यसमा ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या अझै पनि विवादित छ।
बेइजिङले त्यति बेला २०० जना मारिएका बताएको थियो। तर ब्रिटिश गोप्य कूटनीतिक दस्तावेजहरूका अनुसार कम्तीमा १०,००० व्यक्ति मारिएका थिए।
जूले त्यो युगान्तकारी घटनामा आधारित चलचित्रहरू खोजिन्। तर न त भव्य प्रेमकथा 'समर प्यालेस' न त गोप्य रूपमा छायाङ्कन गरिएको समलिङ्गी नाटक 'लान यू" ले नै उनको जिज्ञासा मेट्न सक्यो।
उनले ताइवानी कवि याङ डूद्वारा लिखित 'द अन्बर्न्ड बुक' खोज्ने निधो गरिन्, जसमा पछि निर्वासनमा गएका प्रदर्शनकारीहरूको मार्मिक तर मीठो प्रतिबिम्ब छ।
सन् २०२३ मा महामारीपछि चीन-हङ्कङ सीमा पुन: खोलिएको केही समयपश्चात् उनी हङकङ गइन्।
यो त्यस्तो समय थियो, जब सहरका स्वतन्त्र पुस्तक पसलहरू फस्टाइरहेका थिए।
उदार छुटहरूका लागि परिचित व्यस्त मङ ककमा 'लक विन' थियो भने भुइँदेखि छतसम्म सामानले भरिएका र्याकहरूका भएका 'ग्रीनफील्ड' थियो।
भूतपूर्व पत्रकारहरूले स्थापना गरेको अलि टाढा आरामदायी 'ह्याभ अ नाइस स्टे' थियो। त्यसले लोकप्रिय 'लेट-नाइट' पठन सत्रहरू आयोजना गर्थ्यो।
'एल्मबुक'का साँघुरा तर आकर्षक शेल्फहरूले नियमित ग्राहकहरूलाई खजाना खोजिरहेको जस्तो महसुस गराउँथ्यो।
त्यसपछि चल्तीको ताई नान स्ट्रीटमा 'बुक पन्च' थियो, जसको सङ्ग्रह त्यसको आदर्श वाक्य "पाठकलाई जगाउनका निम्ति एक मुक्का" जत्तिकै अभूतपूर्व थियो। खानाका पारखीहरूले मन पराउने वान चाईमा 'वर्ड बाइ वर्ड' र हन्टरको बाहिर सोफा थियो, जहाँ यात्रुहरूले आराम गर्न सक्थे।
जूले 'द अन्बर्न्ड बुक' त्यहीँ भेट्टाइन्। उनले अन्य पसलहरूमा प्रयास गरेकी थिइन्, तर त्यसमा उनी विफल भएकी थिइन्। त्यसैले अन्ततः फेला पार्दा उनी छक्क परिन्।
सन् १९८९ पछि चीनबाट भाग्नेहरूका लागि शरणस्थान रहेको हङ्कङले नरसंहारको सम्झनामा प्रत्येक वर्ष मैनबत्ती बाल्ने कार्यक्रम आयोजना गर्थ्यो। तर नयाँ कानुन लागु भएपछि र राजनीतिक जमघटमा प्रतिबन्ध लागेपछि यी जुलुसहरू बिस्तारै बन्द भए।
तर जब २० वर्षीय क्रिस (परिवर्तित नाम) ले जुन महिनाको सुरुमा हङ्कङको भ्रमण गरे, उनले सान्दर्भिक पुस्तकहरू, सेता मैनबत्तीहरू र रोमन अङ्कहरू ६-४ (VI-IV) छापिएका मास्किङ टेपको रोलले भरिएको एउटा पुस्तक पसल देखे, जसले प्रतीकात्मक रूपमा जुन ४ को वार्षिकोत्सवलाई प्रतिनिधित्व गर्छ।
यी युवाहरू हङ्कङका नहुन सक्छन्, तर उनीहरूले ती पुस्तक पसलहरूमा आफ्नोपनको गहिरो भावना अनुभूत गर्छन्। ती राजनीतिक रूपमा जीवन्त ठाउँहरू हुन्, जुन तिनीहरूका सरकारहरूले बिर्सन चाहने इतिहाससँग जोडिएका छन्।
तर यो केवल पुस्तकहरूका बारेमा होइन।
पूर्वोत्तर ताई पो जिल्लामा ठूलो अपार्टमन्टमा आगलागी हुँदा १६८ जनाको ज्यान गएको केही महिनापछि लीले यस वर्षको सुरुमा चन्द्रमानको नयाँ वर्षको समयमा हङ्कङको भ्रमण गरेका थिए।
हन्टर बुकस्टोरमा उनले काला स्टिकी नोटहरूले ढाकिएको भित्ता देखे, जहाँ त्रासदीबाट प्रभावितहरूका लागि आगन्तुकहरूले प्रोत्साहनका सन्देशहरू छोडेका थिए।
यस प्रकारको सामुदायिक भावना चीनमा पाउन गाह्रो रहेको ली सुनाउँछिन्। उनका अनुसार सन्देश बोर्डहरू भए तापनि तिनीहरू कुनै पनि विशेष घटनाका पीडितहरूसँग ऐक्यबद्धतामा ध्यान दिँदैनन् किनभने अधिकारीहरू "भावनाको सार्वजनिक प्रदर्शन"बाट सतर्क छन्।
"मानिसहरूले अप्रत्यक्ष रूपमा मात्र आफ्ना भावना व्यक्त गर्न सक्छन्," ली अगाडि भन्छिन्।
अर्को सानो विवरणले पनि उनलाई उत्तिकै प्रभावित पार्यो - किताबहरूनजिकै कर्मचारीहरूले छोडेका हस्तलिखित टिपोटहरू। स्टिकी नोटहरू प्रयोग गरी पुस्तक विक्रेताहरूले आफूले पढेका पुस्तकहरूमा आफ्ना विचारहरू साझा गरे वा विशेष गरी अर्थपूर्ण लागेका अंशहरूलाई 'हाइलाइट' गरे। उनले आफ्नो देशमा यस्तो कहिल्यै देखेकी थिइनन्।
साँघुरिँदै अभिव्यक्ति स्वतन्त्रता
जूलाई पनि त्यस्तै लाग्छ। "हामी सबैलाई किताबहरू मन पर्छ। हामी सबै स्वतन्त्र पुस्तक पसलहरूलाई महत्त्व दिन्छौँ। त्यसैले हामी यहाँ किताबहरू किन्छौँ।"
किनमेल गर्दा उनी अपरिचितहरूसँग विरलै बोल्छिन्, तर उनी कहिल्यै एक्लो महसुस गर्दिनन्। पसलहरूमा उनले भेट्टाउने पुस्तकहरू र कार्यक्रमहरूले उनलाई "कम्तीमा केही अभिव्यक्ति स्वतन्त्रता" भएको ठाउँमा आएको जस्तो महसुस गराउँछन्।
"तपाईँले चीनको मुख्य भूभागलाई पछाडि छोड्नुभएको छ। तपाईँलाई अवश्य पनि थाहा छ कि यो स्वतन्त्रताका आफ्नै सीमाहरू छन्। तर यो अझै पनि केही भन्न नसक्नुभन्दा राम्रो हो।"
तर जूलाई यो स्वतन्त्रता साँघुरिँदै गएको महसुस हुन्छ।
मुख्य भूभाग चीनको तुलनामा हङ्कङमा अधिकारीहरूलाई उनी धेरै पटक भेट्छिन्। एउटा पुस्तक पसलको कार्यक्रममा उनी सरकारी अधिकारीहरू परिसरमा प्रवेश गरेको सम्झन्छिन्। "तिनीहरू हामीसँग बसे र हाम्रा कुरा सुने।"
नाम नलेख्न अनुरोध गरेका एक पुस्तक विक्रेताका अनुसार बढ्दो छापामारीका घटनाले राजनीतिक पसलहरूलाई मात्र लक्षित गरेको छैन।
"लक विन बुकस्टोर र एल्मबुक सधैँ धेरै शान्त रहेका छन्," ती पुस्तक विक्रेता भन्छन्।
"तिनीहरूले सार्वजनिक बयानबाजी विरलै गर्छन् अथवा कार्यक्रमहरूको आयोजना गर्छन्। तिनीहरूले सरकारलाई रिस उठ्ने केही गरेका थिए भन्ने मलाई पटक्कै लाग्दैन।"
यस वर्षको पुस्तक मेलाका अघिल्ला साताहरूमा हङ्कङमा बेइजिङका सम्पर्क अधिकारीहरूद्वारा नियन्त्रित अखबार 'वेन वेई पो'मा दुवै पसलहरूको आलोचना गरिएको थियो।
तैपनि चिनियाँ पाठकहरू हङकङबाट पुस्तकहरू घर ल्याउन उत्सुक छन्। तर भन्सार अधिकारीहरूले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा वा एकताका लागि हानिकारक ठानेका पुस्तकहरू जफत गर्न सक्छन्।
प्रतिरोधको मौन रूप
के हङकङबाट फर्किँदा हरेक पटक चिन्ता गर्छन्। भिडभाड भएको सीमा पार गर्ने ठाउँहरू उनी रोज्छन्, राजनीतिक रूपमा संवेदनशील व्यक्तित्वहरू भएका पुस्तकहरूबाट उनी टाढा रहन्छन् र आफ्ना लुगाभित्र वा आफ्ना सामानभित्र उनी पुस्तकहरू लुकाउँछन्।
तर अब त्यो मात्र उनको चिन्ता रहेन। "पहिले मानिसहरूले सोच्थे 'यदि म चीनमा किताब भेट्न सकिनँ भने म हङकङ जान्छु'। अहिले अवस्था फरक छ। अर्को पटक आउँदा यहाँ कुन पुस्तक पसलहरू हुने छन् भन्ने थाहा हुन्न।"
हङ्कङ पुस्तक मेलाबाट बहिष्कार गरिएको समाचार आएको एक हप्तापछि 'एल्मबुक'ले अर्को वर्षको एप्रिलमा पसल बन्द गर्ने घोषणा गर्यो।
त्यसको केही समयपछि 'ह्याभ अ नाइस स्टे'ले आर्थिक कठिनाइ र समस्याग्रस्त मानिने केही सामग्रीबारे अनिश्चित नियमहरू उद्धृत गर्दै अगस्टको अन्त्यमा बन्द हुने घोषणा गर्यो।
हङ्कङको पुस्तक विक्री उद्योगमा धेरैजसो मानिस निराशावादी भएका छन्। अवस्था सुधार हुनुभन्दा झनै खराब हुने कतिपयको आकलन छ।
तर एउटा आन्तरिक स्रोतका अनुसार पाठकहरू असहाय छैनन्। "हामी अझै पनि पुस्तकहरू किन्न सक्छौँ। हामी अझै पनि पढ्न सक्छौँ र हामी अझै पनि धेरै पुस्तकहरू पढ्न सक्छौँ।"
हन्टर बुकस्टोरमा गिरफ्तारीको बारेमा सुनेपछि क्रिस अलि डराए। तर आफ्नो काम जारी राख्ने उनी बताउँछन्।
"पुस्तक किन्नु समर्थन जनाउने मौन तरिका र प्रतिरोधको मौन रूप पनि बनेको छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।