'यौनसम्पर्कबाट जिका भाइरसको संक्रमण'

cdc
तस्बिरको क्याप्शन, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले यौनसम्पर्कबाट जिका भाइरस सरेको पुष्टि गरेको हो
Published

यौनसम्पर्कबाट जिका भाइरस सरेको दुर्लभ घटना अमेरिकामा देखापरेको अधिकारीहरुले बताएका छन्।

टेक्सस राज्यमा जानकारीमा आएको जिका भाइरसको उक्त घटना लामखुट्टेको टोकाइबाट नसरेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ।

ती संक्रमित व्यक्ति पछिल्लोपटक विदेश यात्रामा नगएको बताइएको छ।

पुष्टि

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडिसी)की उपनिर्देशक एन सुकटले भनिन्, "सीडीसीको प्रयोगशालाले विदेश यात्रा नगरेका एक व्यक्तिमा जिका भाइरसको संक्रमण भेटिएको पहिलोपटक पुष्टि गरेको छ। यो लामखुट्टेबाट सरेको नभइ यौनसम्पर्कबाट सरेको भन्नेमा हामीलाई दरो विश्वास छ । एउटा प्रमुख कारण चाहि के हो भने उक्त क्षेत्रमा लामखुट्टेको कुनै समस्या छैन"।

भेनेजुएला पुगेर फर्केका व्यक्तिसंग यौन सम्पर्क गर्दा उनलाई जिका भाइरस सरेको अधिकारीहरुले बताएका छन्।

जिका सामान्यतया लामखुट्टेको टोकाइबाट सर्छ र नवजात शिशुहरुमा देखिएको अविकसित मस्तिष्कको समस्याका लागि यसलाई जिम्मेवार ठानिएको छ।

जिका भाइरस अमेरिकी क्षेत्रमा फैलिएको छ र यसलाई विश्व स्वास्थ्य संगठनले विश्व जनस्वास्थ्य आपतकालको रुपमा घोषणा गरिसकेको छ।

तर संयुक्त राज्य अमेरिकामा जिका भाइरस देखिएको यो पहिलो घटना हो।

अधिकारीहरुले जिका भाइरस यौनसम्पर्कबाट पनि सर्छ भन्नेबारे बुझाउनका लागि जनचेतना जगाउन आवश्यक रहेको बताएका छन्।

थप घटना

zika
तस्बिरको क्याप्शन, जिका भाइरस एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ।

हालै क्यारेबियन क्षेत्रको भ्रमणबाट स्वदेश फर्किएका दुई जना अष्ट्रेलियालीमा पनि जिका भाइरसको संक्रमण देखिएको छ।

ती व्यक्ति सिड्नीको भएको बताइएको छ।

यसैबीच ब्रजिलले जिका भाइरससंग जोडिएको ठानिएको अविकसित मस्तिष्कसम्बन्धी ३६ सयभन्दा बढी संदिग्ध घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।