फिफा प्रतिबन्धविरुद्ध अपील गर्ने

Published

विश्व फुटबलका दुई सबैभन्दा शक्तिशाली व्यक्तित्व सेप ब्लाटर र मिशेल प्लाटिनीले फुटबलको विश्व प्रशासकीय निकाय फिफाले उनीहरुमाथि लगाएको ८ वर्षको प्रतिबन्धका विरुद्ध अपिल गर्ने भएका छन्।

उनीहरुलाई संस्थाको आचारसंहिता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाइएको थियो।

ज्यूरिखमा आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै ब्लाटरले फिफा भित्रै सो निर्णयलाई चुनौती दिने र आवश्यकता परे स्वीट्जरल्याण्डको अदालत पनि जाने बताए।

दोषी

युरोपेली फुटबलको प्रशासकीय निकायका प्रमुख प्लाटिनीले सो प्रतिबन्धलाई एउटा ठट्टा भने।

आचारसंहिताको उल्लंघनको एउटा विषयमा अनुसन्धान पछि फिफाका अध्यक्ष सेप ब्लाटर र यूइएफएका अध्यक्ष मिशेल प्लाटिनी फुटबल सम्बन्धी गतिविधिबाट ८ वर्षका लागि निलम्बित गरिएका हुन्।

सन् २०११ मा प्लाटिनीलाई दिइएको अनुचित भनिएको २० लाख डलर रकमका सम्बन्धमा उनीहरुलाई दोषी ठहराइएको थियो।

फिफाको नैतिक समितिले उनीहरुले आफ्नो पदको दुरुपयोग गरेको ठहर गरेको छ।

ब्लाटर र प्लाटिनी दुबै आफूले कुनै गल्ती नगरेको बताईरहेका छन्।

अनुमान

स्वीट्जर्ल्याण्डका ब्लाटरलाई ४० हजार डलर र फ्रान्सका प्लाटिनीलाई ८० हजार डलरको जरिवाना तोकिएको छ।

सन् १९९८ देखि फिफाका अध्यक्ष रहेका ब्लाटरले आगामी फेब्रुएरी महिनामा हुने फिफा अध्यक्षको निर्वाचन पछि आफुले पद छोड्ने भनिसकेका थिए।

तीनपटक युरोपका वर्ष फुटबल खेलाडी भईसकेका प्लाटिनी फिफाको नयाँ अध्यक्ष हुने अनुमान गरिएको थियो।

उनी फ्रान्सको फुटबल टोलीका पूर्व कप्तान पनि हुन् र सन् २००७ देखि युरोपको फुटबल प्रशासकीय निकायका प्रमुख हुन्।