नेपाल निर्वाचन: छुट्टाछुट्टै चारवटा मतपत्र, यसपालि मतदान प्रक्रिया कति सहज होला

मतपत्र
Published

स्थानीय तह चुनावभन्दा फरक आसन्न चुनावमा प्रत्येक मतदाताहरूले चारवटा पानामा हुने छुट्टाछुट्टै मतपत्रमा मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।

गत वैशाख महिनामा सम्पन्न स्थानीय तह निर्वाचनमा एउटै पत्रमा छ पदका लागि मतदान गर्नुपरेको थियो।

तर मङ्सिर ४ गते देशभरि एकै चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा मतदाताले चार पटक मतपत्र लिने र चार पटक मतपेटिकामा मत खसाल्नुपर्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।

किन छुट्टाछुट्टै मतपत्र?

"गत वैशाखको स्थानीय चुनावमा मतदान गर्ने काम केही जटिल भएका गुनासोहरू समेत सुनिए," आयोगका सहायक प्रवक्ता कमल भट्टराईले बीबीसीसँग भने।

"यस पटक मतपत्रपिच्छे फरकफरक कागज र पेटिका राखिएकाले मतदान र गणना दुवै सहज हुनेछ।"

निर्वाचन सामग्री
तस्बिरको क्याप्शन, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि विभिन्न जिल्लामा निर्वाचन सामग्री पठाउन गाडीमा लोड गरिँदै

मङ्सिर ४ गते हुने चुनावमा प्रतिनिधिसभातर्फ समानुपातिक र प्रत्यक्षतर्फ एवं र प्रदेशसभाका समानुपातिक र प्रत्यक्षतर्फ गरेर चारवटा भिन्नाभिन्नै मतपत्र रहनेछन्।

यसअघि २०७४ सालमा भने तीनवटा पत्रमा चारवटा मत दिनुपर्थ्यो।

त्यस बेला प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतदानका लागि छुट्टाछुट्टै पानामा मतपत्र राखिए पनि समानुपातिकतर्फ भने एउटै पानामा सङ्घ र प्रदेशका मतपत्र छापिएको थियो।

पाँच वर्षअघिको निर्वाचनमा समेत यस विषयमा परेको एउटा मुद्दामा सर्वोच्च अदालतले चारवटै मतपत्र राख्ने आदेश दिएको थियो। 

तर त्यस बेलासम्म मतपत्रको छपाइ भइसकेकाले "राज्यकोषको ठूलो रकम दुरुपयोग हुने भन्दै अर्को चुनावबाट त्यसो गर्न गरिएको आग्रह"लाई अदालतले सदर गरेको थियो। 

निर्वाचन सामग्री ढुवानी गर्ने तयारी

कस्तो हुन्छ प्रक्रिया?

अधिकारीहरूका अनुसार चुनावको दिन मतदाताको विवरण रुजु गरेपछि निर्वाचन अधिकृतले सुरुमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका उम्मेदवारहरूको चिह्न अङ्कित मतपत्र दिन्छन्।

त्यसमा छाप लगाएर मतदान गरिसकेपछि निर्वाचनमा खटिएका कर्मचारीले प्रतिनिधिसभाकै लागि समानुपातिक मतदान गर्न दोस्रो मतपत्र दिन्छन्। 

त्यसैगरी प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको मत पालैपालो खसाल्न पाइनेछ।

"चारवटा मतपत्र, चारवटा मतसङ्केत गर्ने ठाउँ र चारवटा मतपेटिका हुने भए पनि यस पटकको मतदान धेरै सहज र छिटो हुनेछ," सहायक प्रवक्ता भट्टराईले दाबी गरे।

"तीनदेखि पाँच मिनेट जतिमा एक जनाले मत खसालिसक्ने हामीले अनुमान गरेका छौँ।"

प्रत्यक्ष निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र व्यवस्था गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भने सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको हुनेछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, जान्नुहोस् तपाईँको मतको महत्त्व, यसरी चुनिनेछन् प्रतिनिधि र प्रदेशसभा

कहाँ र कसरी छापिँदै छ मतपत्र?

निर्वाचन आयोगले अहिले दैनिक सरदर १८ देखि २० लाखका दरले मतपत्र छाप्ने काम भइरहेको जनाएको छ।

भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्रको छपाइको काम भइरहेको छ। सो क्रममा नेपाली सेनाले सुरक्षा प्रदान गरेको छ।

आयोगका अनुसार कात्तिक २० गतेभित्र छपाइको सम्पूर्ण काम पूरा हुनेछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार समानुपातिकतर्फ केही हिमाली जिल्लामा बाहेक अधिकांश मतपत्र छापिएर सम्बन्धित जिल्लामा पठाइसकिएको छ।

मतदान
तस्बिरको क्याप्शन, फाइल तस्बिर

"प्रत्यक्षतर्फका चार करोड मतपत्रमध्ये आधाभन्दा धेरै छापिसकिएको छ," प्रवक्ता पौडेल भन्छन्।

"आइतवारदेखि सम्भवत: प्रत्यक्षतर्फको मतपत्र ढुवानी गर्ने काम पनि सुरु हुनेछ।"

आगामी निर्वाचनका लागि झन्डै एक करोड ८० लाख योग्य मतदाता छन्।

आयोगले समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र छाप्ने काम सकिएको जनाइएको छ। 

प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दलको मात्रै चिह्न मतपत्रमा हुने भएकाले यस पटक प्रतिनिधिसभातर्फ १६५ र प्रदेशतर्फका ३३० निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतपत्र हुनेछ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ल्याइएको समानुपातिक मतपत्र
तस्बिरको क्याप्शन, मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ल्याइएको समानुपातिक मतपत्र