प्रेमदेव गिरी: नारायण गोपाल दाइ भन्नुहुन्थ्यो- 'मादल ठोक त ठोक, मादलमा तिम्रो हात राम्रो छ'

प्रेमदेव गिरी
    • Author, ‏विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

उता के-के हुँदैछ, यता बाढी पसेर

फेरि हामी दु:खीकै, खायो कलेजा

हामी भयौं बेघरबार, चरी लैजा समाचार...

देशभरिबाट बाढीपहिरोले निम्त्याएका दुखका खबर बर्सेनी आउँदा प्रेमदेव गिरीले अभिनय गरेको यो चर्चित गीत धेरैले हेर्ने र सुन्ने गर्छन्।

उक्त गीतको भिडिओमा देखिएका लामो सेतो दाह्री भएका छरिता र फुर्तिला देखिने व्यक्ति हुन्, प्रेमदेव गिरी।

उनी कला क्षेत्रमा लोकभाका संकलक, कलाकार र वाद्यवादकका रुपमा परिचित छन्।

कुनै बेला सांस्कृतिक संस्थान र रेडियो नेपालमा नारायण गोपाल, तारादेवी, ज्ञानु राणा, कुमार बस्नेतलगायतसँग उनले काम गरेका थिए।

रेडियो नेपालमा दुई वर्ष काम गर्दा पनि उनले आफूले सङ्कलन गरेका लोकभाकामा भिन्न खालको ताल भर्ने गर्थे।

उनले संकलन गरेका गीत कुमार कान्छा, ज्ञानु राणालगायत दर्जनौँ चर्चित गायकगायिकाले गाएका छन्।

"मादलमा अभ्यस्त हुँदै गएपछि नयाँ प्रयोग र प्रस्तुती गर्न मनलाग्थ्यो। म एकैपटक धेरैवटा मादल पनि बजाउथेँ," उनले भने।

"तर पछि त्यसमा बानी छुट्दै गयो। अहिले पनि बजाउन त मज्जाले बजाउँछु तर पहिलाजस्तो धेरै मादल एकैपटक बजाउने अभ्यास भने छुट्यो।"

अडिओ क्याप्शन सुरु हुँदैछ, मादल नेपाली गीतमा अनिवार्य जस्तै बज्ने गरेको छ।

मादल मोह

उनी पाँच दशकभन्दा लामो समयदेखि यही क्षेत्रमा सक्रिय छन्। ७० वर्ष पुग्न लाग्दा पनि उनी धेरैजसो साइकलमै यात्रा गर्छन्।

मध्यपश्चिमका एक सयभन्दा धेरै लोकभाका संकलन गरेको जश उनलाई जान्छ।

सुर्खेत हिलेखालीमा जन्मिएका गिरीको मादलमोह उनी ८ वर्षको हुँदैदेखिको हो।

त्यतिबेला रोगब्याधीले नछोओस् भनेर तल्लो भनिने जातका मानिससँग मीत लगाइदिने चलन थियो।

उनले वादी समुदायका एक बालकसँग मीत लगाउँदा मादल उपहार पाए।

अडिओ क्याप्शन सुरु हुँदैछ, किन मादल घन्किन कम हुन थाल्यो

सानैमा त्यो मादल खेलौना जसरी बजाउन थालेका उनी कालान्तरमा त्यसैमा अभ्यस्त भए।

त्यसकै तालमा उनलाई रस बस्यो, नयाँ-नयाँ प्रयोग गर्ने धुन चल्यो। र, अहिले उनलाई कतिले मादले दाइ भन्छन् त कतिले पत्रपत्रिकामा लेख्दा मादलाधीश भन्ने गरेका छन्।

मादल वादनका पर्यायका रुपमा उनलाई चिन्नेहरू धेरै छन्।

बाजा विशेषज्ञ रामप्रसाद कँडेलले एउटा अन्तर्वार्तामा गिरीबारे भनेका छन्, "यति धरै ताल र सुरमा मादल बजाउने अर्को मादले मैले देखेको छैन। उहाँ हस्ती हुनुहुन्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'प्रतिभा भनेको अनौठो नै मान्छेले मन पराउँछ नि त!'

गिरीको प्रशंसा गर्नेमा स्वरसम्राट नारायण गोपाल पनि पर्छन्।

राष्ट्रिय नाँचघरमा ३० र ४० को दशकमा काम गर्दा नारायण गोपालले आफूलाई भन्ने गरेको सम्झँदै गिरी भन्छन्, "भाइ, मादल ठोक त ठोक। तिम्रो हात मादलमा राम्रो छ।"

नाँचघरमा बाद्यवादककै रुपमा नियुक्ति लिएका नारायण गोपालले यसो भन्दा आफूलाई धेरै प्रेरणा मिल्ने गरेको गिरी बताउँछन्।

"मैले मादल बजाउँदा नारायण दाइले यो बोलचाहिँ झ्याउरेमा असाध्यै राम्रो लाग्यो, यो बोल नयाँ छ भन्नुहुन्थ्यो," उनले सम्झिए।

नेपालबाट कार्यक्रम गर्न भनि रुस र हङकङ जाँदा नारायण गोपालसँग आफू नजिकिन पाएको उनी सम्झन्छन्।

कलकत्तामा चलचित्रको गीतको रेकर्डिङ गर्न जाँदा पनि मादल बजाउन नारायण गोपालले गिरीलाई नै लगेका थिए।

प्रेमदेव गिरी

लोकगीत संकलन

वाद्यवादनबाहेक मध्यपश्चिमको लोकगीत संकलन र अभिनयमा समेत सक्रिय उनले गायकदेखि कलाकारसम्मलाई काठमाण्डूमा चिन्न पाए।

२०२५ देखि रंगमञ्चमा छिरेका गिरी अहिले पनि बेलाबेला अभिनय गर्छन्। नाटकमा अभिनयबाहेक निर्देशन पनि गरेका छन् भने कतिपय ठूलो पर्दाको चलचित्रमा पनि उनको अभिनय देख्न पाइन्छ।

"कला जीविपोपार्जन भन्दा बढी साधना हो," अहिले पनि साधनामा लागेका उनले आफ्नो सक्रियता नघटेको बताए।

२०२९ सालमा तत्कालीन सांस्कृतिक संस्थानले आयोजना गरेको १४ अञ्चल नृत्य प्रतियोगितामा भेरी अञ्चलको प्रतिनिधित्व गरेर सुर्खेत जिल्लाबाट काठमाडौं आइपुगेको पाँच जनाको टोलीमा गिरी पनि थिए।

उनको जिम्मेवारीमा वाद्यवादन परेको थियो।

गिरीका अनुसार चल्तीको भन्दा उनीहरूको प्रदर्शन त्यतिबेला फरक थियो र पहिलो पुरस्कार उनीहरूकै पोल्टामा पर्यो।

त्यही प्रस्तुतिपछि उनले अन्य तीनजनासहित सांस्कृतिक संस्थानमा जागिर पाए। त्यहीँ २०२९ सालदेखि २०४१ सालसम्म १२ वर्ष काम गर्दा उनको सांगीतिक र कला क्षेत्रका हस्तीहरूसँग संगत भयो।

त्यसपछि केही समय सुर्खेत फर्किएका उनले २०४३ देखि २०४५ सालसम्म फेरि दुई वर्ष रेडियो नेपालमा काम गरे। त्यहाँ उनले लोकगीतमा मादलको ताल भर्थे।

मध्यपश्चिमी पहाडका लोकभाकालाई रेडियो नेपालमा हुँदै उनले संकलन गरेका हुन्। उनले सुर्खेतमै बसेर पनि रेडियो नेपालका लागि काम गरे।

आत्मसन्तोष

तर उनी आफूले हात हालेका तीनवटै क्षेत्रमा टेको लाग्दै गरेको बेला पारिवारिक कारणले घर अर्थात् गृहजिल्ला सुर्खेत फर्किनुपरेको सम्झन्छन्।

"त्यतिबेला राष्ट्रिय नाँचघरमा काम गर्दा नारायण गोपाल, हरिप्रसाद रिमाल, भुवन चन्द, प्रचण्ड मल्ल, कुमार बस्नेत, गणेश रसिकजस्ता थुप्रै हस्तीहरूलाई चिन्न पाएको थिएँ," उनले भने।

"एसएलसी दिने बेला सुर्खेत छोडेर लोकसंस्कृतिको क्षेत्रमा लागेको थिएँ। संगीत र लोकगीतमा मन रमाउँदै थियो। घरव्यवहार हेर्न फेरि सुर्खेत फर्केँ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म रोमान्टिक मान्छे हुँ र गीत बनाउँदा मलाई सबैभन्दा शब्दको पाटो मन पर्छ।'

उनी ५० को दशकभन्दा अघिको समयलाई कला र संगीतका हिसाबले गुणस्तरीय मान्छन्। त्यसपछि गीतसङ्गीत क्षेत्रमा सङ्ख्यामात्रै बढेको उनी ठान्छन्।

उनले थुप्रै विद्यालय र कलेजमा सङ्गीत शिक्षकका रुपमा पढाएका छन्। अहिले पनि सुर्खेतको बीरेन्द्रनगरमा रहेको बागीना समूहमा उनी विद्यार्थीलाई मादल बजाउन सिकाउँछन्।

उक्त समूहको स्थापनामा उनको पनि भूमिका रहेको बताइन्छ।

गिरीले थुप्रै सम्मान पनि पाएका छन्। उनले हालसालै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार पाएका थिए।

२०२५ सालदेखि लोकगीत संकलन, वाद्यवादन र अभिनय क्षेत्रमा सक्रिय गिरीको "सुर्खेतमा सालिमा", "सरर मलेवा", "जाउँ माया बुलबुले", "ढाका टोपी" लगायत दर्जनौँ गीत चर्चित छन्।

र यसै क्षेत्रमा अनवरत काम गरेको भन्दै उनलाई थुप्रै सम्मान दिइएको छ।

प्रेमदेव गिरी

तर सम्मानभन्दा ठूलो 'आत्मसन्तुष्टि' हो भन्ने उनी ठान्छन्।

"देउडा, झ्याउरे र सिंगारु जस्ता गीत रेकर्ड भयो। हराएर जान सक्ने ती लोकभाका संकलन गर्न सकेको कुराले मलाई असाध्यै आत्मसन्तोष दिन्छ," उनले भने।

"आत्मसन्तुष्टि दिने भएरै होला मादल अहिले पनि तीन घन्टा लगातार बजाउन सक्छु। भाइबहिनीलाई सिकाइरहेको छु।"

आफूले सिकेको ज्ञान नयाँ पुस्तालाई बाँड्नुमा पनि आत्मसन्तुष्टि हुने उनी बताउँछन्।