नेपाल मौसम: सुदूरपश्चिम नेपालमा ठूलो पानी पर्न सक्ने चेतावनी

दार्चुला
तस्बिरको क्याप्शन, यो साता सुदूरपश्चिम नेपालको दार्चुलामा पनि बाढी आएको थियो
Published
पढ्ने समय: ३ मिनेट

नेपालमा मनसुनको याम सकिनलाग्दा मौसम पूर्वानुमान महाशाखाले ठूलो वर्षा हुनसक्ने चेतावनी दिएको छ।

गत वर्ष पनि मनसुन सकिएपछि परेको ठूलो वर्षाले सुदूरपश्चिम क्षेत्रमा ठूलो क्षति भएको थियो।

के छ चेतावनी?

खासगरी नेपालको सिमाना छेउको भारतीय राज्य उत्तर प्रदेशमा केही दिनदेखि विकसित न्यूनचापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी भूभागनजिक आइपुग्ने र सोसँगै मनसुन न्यूनचापीय रेखा पनि विस्तारै नेपालको तराईनजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यही प्रणालीका कारण बिहीवार रातिदेखि नै देशका कतिपय भागमा पानी पर्न थालेको छ।

"यो क्रममा नेपालको तराई क्षेत्र तथा पश्चिमी भूभागमा धेरै पानी पर्ने देखिन्छ," महाशाखाका मौसमविद् हीरा भट्टराईले भने।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

चौबीस घण्टाको अवधिमा १० मिलिमिटरको हाराहारीमा पानी पर्नुलाई सामान्य वर्षा मानिन्छ भने १० देखि ५० मिलिमिटर पानी पर्नुलाई मध्यम वर्षा मानिन्छ।

पचासदेखि १०० मिमि पानी परेमा भारी वर्षा भनिन्छ अनि १०० मिमि नाघेको खण्डमा धेरै भारी वर्षा भनिन्छ।

"गत २४ घण्टामा उदयपुरमा सर्वाधिक १३८ मिमि पानी परेको छ भने दाङको कोइलाबास क्षेत्रमा ११३ मिमि पानी परेको छ। त्यस्तै लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ," भट्टराईले भने।

शुक्रवार साँझदेखि सुदूरपश्चिम क्षेत्रमा पानी धेरै पर्न सक्ने उनले बताए।

यो वर्षाका कारण "पहाडी तथा भिरालो जमिनमा भूक्षय, पहिरो तथा गेगरान बहावको जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने" भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, केही वर्षमा काठमाण्डूमा नै वर्षाको समयमा बाढीको जोखिम बढेको छ

के हो न्यूनचापीय रेखा?

मौसम विज्ञानको भाषामा न्यून चापीय क्षेत्र तथा रेखा भनिने गरेको मौसम प्रणाली खासगरी एअर प्रेसर वा वायुको चापसँग सम्बन्धित रहेको र त्यसले आर्द्रतालाई खिचेर पानी पार्ने सम्भावना दर्शाउने मौसमविद्हरू बताउँछन्।

न्यून चाप भएको क्षेत्रमा एअर प्रेसर कम हुन्छ अनि त्यसले वरपरको आर्द्रता खिच्छ र बादल विकसित हुन्छ।

"अहिले मनसुनको न्यूनचापीय रेखा तराईनजिक छ। त्यसको अतिरिक्त अहिले भारतको उत्तर प्रदेश क्षेत्रमा केही दिनदेखि विकसित भएको अर्को न्यूनचापीय क्षेत्र बिहीवारदेखि डिप्रेशनमा परिणत भएको छ," उनले भने।

उनका अनुसार चाप निश्चित परिमाणभन्दा पनि कम भएमा त्यो न्यून चापबाट डिप्रेशन बन्न पुग्छ जसले पानी झन् धेरै पार्छ।

बाढी
तस्बिरको क्याप्शन, वर्षायाममा ठाउँठाउँमा सडक अवरुद्ध भएको थियो

बाढीपहिरोबाट नोक्सानी

मनसुनसँगै नेपालमा बर्सेनि बाढीपहिरो र त्यसबाट धनजनको क्षति हुने गरेको छ।

यो वर्ष वैशाखयता बाढीपहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगिसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले शुक्रवार बिहान बीबीसीलाई बताए।

"साथै १२ जना बेपत्ता भएको अनि ६१ जना घाइते भएको विवरण छ। विपद्का कारण १७१ घर पूर्ण क्षतिग्रस्त भएका छन् भने झन्डै साढे पाँच हजार मानिसलाई उद्धार गरिएको छ," उनले भने।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो वर्षको वर्षा याम सुरु हुनुभन्दा अगाडि जल तथा मौसम विज्ञान विभागले मनसुनमा औसतदेखि अधिक वर्षा हुनसक्ने प्रक्षेपण गरेको थियो।

अनि मनसुनका कारण उत्पन्न हुने प्रकोपबाट सिर्जना हुने विपद्का घटनाहरूका कारण यसपालि नेपालमा पाँच लाखभन्दा बढी मानिसलाई उद्धार वा राहतको आवश्यकता पर्न सक्ने देखिएको प्राधिकरणले अनुमान गरेको थियो।

Monsoon damages in Nepal

कहिले सकिन्छ मनसुन

नेपालमा सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने गर्छ र अक्टोबर २ मा बाहिरिने गर्छ। अर्थात् सक्रिय मनसुन अझै दुई साता बाँकी नै छ।

यो अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ।

यो वर्षको मनसुनमा भदौ मसान्तसम्म आइपुग्दा औसत १,२११ मिमि पानी परिसकेको महाशाखाका मौसमविद्ले बताए।

यो अवधिको निम्ति उक्त परिमाण करिब ९४.५% प्रतिशत रहेको उनले बताए।

Monsoon in Nepal Porvinces

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, देशमा कतै बाढी आउने कुरा काठमाण्डूमा यसरी थाहा हुन्छ!