नेपाल मौसमः यो हिउँदमा कहाँ कति चिसो र वर्षा हुने पूर्वानुमान छ

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकको धोमा दैनिक उपभोग्य सामग्री ढुवानी गरेर सदरमुकाम दुनैतर्फ फर्कँदै गरेका खच्चड
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

केही दिनयता नेपालभरि तापक्रम घट्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कले देखाउँछ।

चिसो निरन्तर बढिरहेकाले महाशाखाले त्यसबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सुझाव दिएको छ।

यद्यपि यो हिउँदमा देशका अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी र न्यूनतम तापक्रम सरदर एवं सरदरभन्दा बढी हुने पूर्वानुमान छ।

नेपालमा मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम मान्ने गरिएको छ।

जल तथा मौसम विज्ञान विभागस्थित हावापानी विश्लेषण शाखाकी प्रमुख वरिष्ठ मौसमविद्‌ डा. इन्दिरा कँडेलका अनुसार सुक्खा हुने आकलन गरिएको यो हिउँदमा वायु प्रदूषणको जोखिम पनि टड्कारो छ।

अधिकतम तापक्रम कति पुग्ला?

यो हिउँदमा प्रदेश नं १ र अन्य प्रदेशका तराईका जिल्लाबाहेक अधिकांश भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको कँडेलले बताइन्।

अधिकतम तापक्रम
तस्बिरको क्याप्शन, हिउँदमा तापक्रम बढीमा यति पुग्न सक्छ

प्रदेश नं २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका जिल्लाका धेरैजसो भूभागमा अधिकतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

कँडेलका अनुसार ३३.३ प्रतिशतक (पर्सेन्टाइल) भन्दा बढी र ६६.६ प्रतिशतकभन्दा कमलाई सरदर तापक्रम भनिन्छ।

यो ठाउँपिच्छे फरक पर्छ।

अनि ३३.३ प्रतिशतकभन्दा कम भए सरदरभन्दा कम र ६६.६ प्रतिशतकभन्दा बढी भए सरदरभन्दा बढी तापक्रम भएको मानिन्छ।

न्यूनतम तापक्रमबारे कस्तो अनुमान छ?

यो हिउँदमा देशका अधिकांश उच्च पहाडी र तराईका भूभाग तथा सुदूरपश्चिम प्रदेशका धेरैजसो भूभागमा न्यूनतम तापक्रम सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

बाँकी भूभागमा तापक्रम सरदरभन्दा बढी रहने सम्भावना ५५ प्रतिशतसम्म छ।

न्यूनतम तापक्रम
तस्बिरको क्याप्शन, भिन्नभिन्न ठाउँमा न्यूनतम तापक्रम पनि फरक पर्नेछ

वर्षा कस्तो होला?

यो वर्षको हिउँदमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको उत्तरी भूभाग तथा प्रदेश नं १ को पूर्वी पहाडी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ।

शाखाका अनुसार बाँकी भूभागमा भने सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।

नेपालमा हिउँदमा औसत वर्षा

सामान्यतया सरदर वर्षा भन्नाले कुनै स्थानको लामो समयको ३३.३ देखि ६६.६ पर्सेन्टाइलको वर्षालाई जनाउँछ।

अनि ३३.३ पर्सेन्टाइलभन्दा कमलाई सरदरभन्दा कम र ६६.६ पर्सेन्टाइललाई सरदरभन्दा बढी वर्षा भन्ने गरिएको छ।

“यी आकलन दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्चको २१ औँ सत्रले यसै मंसिरमा गरेको पूर्वानुमानमा आधारित छन्,” वरिष्ठ मौसमविद्‌ कँडेलले बीबीसीसँग भनिन्।

वर्षाको पूर्वानुमान
तस्बिरको क्याप्शन, यो हिउँदमा वर्षाको पूर्वानुमान यस्तो छ

बालीमा कस्तो असर?

नेपालमा हिउँदेबालीका रूपमा गहुँ, मुसुरो, आलु, तोरी र विभिन्न प्रकारका तरकारीहरू लगाइन्छ।

पानी कम पर्ने पूर्वानुमानसँगै यसपालि हिउँदेबालीमा पनि त्यसको नकारात्मक प्रभाव पर्ने विज्ञले औँल्याएका छन्।

“कतिपय बालीमा गाँज हाल्ने बेला पर्याप्त चिस्यान आवश्यक हुन्छ। सबै ठाउँमा सिँचाइ पुगिनसकेको अवस्थामा गाँज हाल्ने बेला चिस्यान भएन भने उत्पादन कम हुन सक्छ,” कृषि विभागस्थित वरिष्ठ कृषि अर्थविद्‌ महादेवप्रसाद पौडेलले बीबीसीसँग भने।

यो हिउँदमा सुक्खा हुने पूर्वानुमानबीच किसानहरूले पनि कम चिस्यान चाहिने बालीहरूको छनोट गर्न किसानहरूलाई उनको सुझाव छ।

“उदाहरणका लागि धेरै चिस्यान चाहिने कतिपय तरकारीको साटो दलहन बालीमा जोड दिनुपर्ने हुनसक्छ,” पौडेलले भने।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जलवायु परिवर्तनको असर: मुस्ताङमा झाडापखाला हैजा