नेपाली कांग्रेस महाधिवेशन: शीर्ष नेतृत्वमा दाबेदारी गरेका पाँच नेताले कस्तो प्रतिबद्धता गरेका छन्

कांग्रेस महाधिवेशन
Published

नेपाली कांग्रेसको शीर्ष नेतृत्वका दाबेदारहरूले आगामी तीनै तहका निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनेदेखि पार्टीमा गुटबन्दी अन्त्य र पारदर्शिताको मुद्दा अघि सारेका छन्।

काठमाण्डूमा जारी १४ महाधिवेशनका लागि गठित निर्वाचन समितिका अनुसार कांग्रेस सभापतिका लागि पाँच जना उम्मेदवार छन्। शनिवार छ जनाले उम्मेदवारी दर्ता गरेका भए पनि एक जनाले आइतवार मनोनयन फिर्ता लिएपछि कांग्रेस नेतृत्वमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको हो।

वर्तमान सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला प्यानलसहित प्रतिस्पर्धामा ओर्लिएका छन्। युवा नेता कल्याण गुरुङले भने समूहबिनै सभापतिमा उम्मेदवारी दिएका छन्।

कांग्रेसको महाधिवेशनबाट चयन हुने १३४ पदका लागि ४८७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले प्रकाशित गरेको अन्तिम नामावलीमा उल्लेख छ। महाधिवेशनस्थलमा सोमवार बिहान ८ बजेबाट मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

मतदानस्थलमा एक पटकमा करिब एक हजार जना अटाउन सक्ने व्यवस्था गरिएको छ।

तीन फरक ठाउँबाट मतदाताहरू मतदान स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ। महाधिवेशनमा ४,७०० भन्दा बढी मतदाता रहेको निर्वाचन समितिले जनाएको छ। मतदान सुरु भएको पाँचदेखि सात घण्टामा सकिने अनुमान गरिएको निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

कांग्रेस प्रतिनिधिले सभापतिसहित दुई उपसभापति, दुई महामन्त्री र समावेशीसहित आठ सहमहामन्त्रीका लागि पदाधिकारीमा मतदान गर्नेछन्।

मतदानबाट खुल्ला ३५, महिला, मधेशी र दलित ९-९, प्रत्येक प्रदेशबाट तीन जनासहित २१, आदिवासी जनजाति १५, खस आर्य १३, थारु चार, मुस्लिम तीन र पिछडिएको क्षेत्र, अपाङ्ग तथा अल्पसङ्ख्यकबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

कांग्रेसको कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य निर्वाचित सभापतिको सिफारिसमा केन्द्रीय समितिबाट मनोनीत हुने व्यवस्था छ।

सभापति पदमा उठेका नेताका पाँच नेताका प्रतिबद्धता कस्ता छन्?

शेरबहादुर देउवा

शेरबहादुर देउवा

अघिल्लो महाधिवेशनमा पहिलो चरणको निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रहेका कृष्णप्रसाद सिटौलासँग मिलेर प्यानल बनाएका देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महत र युवानेता प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन्।

प्रधानमन्त्री समेत रहेका देउवाले आफू सभापतिमा दोहोरिए तीनै तहका संरचनामा कांग्रेसको सरकार बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै आएका छन्।

  • स्थानीय तह, प्रदेश र सङ्घमा कांग्रेसको सरकार
  • संविधानमा सबैलाई समेट्ने
  • पार्टीमा सबैको अपनत्व स्थापित गर्ने
  • स्वतन्त्रता र लोकतन्त्रको प्रवर्धन
Presentational grey line

शेखर कोइराला

शेखर कोइराला

सभापतिका आकाङ्क्षी शेखर कोइरालाले एक व्यक्ति एक जिम्मेवारीको नारालाई प्राथमिकता दिँदै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्।

  • संविधान कार्यान्वयनको प्रतिबद्धता
  • वैचारिक स्पष्टता, सुदृढ सङ्गठन र विधानको पालना
  • क्रियाशील र जिम्मेवार भातृ तथा शुभेच्छुक सङ्गठन
  • अनुभव र ऊर्जासहितको पार्टी
  • पारदर्शी निर्णय, उत्तरदायी नेतृत्व र उत्तरदायी पार्टी
  • सहभागितामूलक लोकतान्त्रिक अभ्यास
  • प्रशिक्षित कार्यकर्ता र मजबुत सङ्गठन
Presentational grey line

प्रकाशमान सिंह

प्रकाशमान सिंह

अर्का उम्मेदवार प्रकाशमान सिंहले चुनावी अवधारणा पत्रमा नीति, नेतृत्व र कार्यशैली परिवर्तनलाई मुख्य मुद्दा बनाएका छन्।

  • काम गरेर देखाउने नेतृत्व
  • पार्टीमा मूल्याङ्कन पद्धतिको विकाश र न्यायोचित अवसरको वितरण
  • विधि, पद्धति र सिद्धान्तअनुसार पार्टी सञ्चालन
  • जनताको सुझावका आधारमा पार्टी सञ्चालन
  • आन्तरिक लोकतन्त्रको सुदृढीकरण
  • तीनै चरणका निर्वाचन अघि मजबुत पार्टी सङ्गठन
Presentational grey line

विमलेन्द्र निधि

विमलेन्द्र निधी

आफ्नो समूहबाट तीन पदमा मात्रै उम्मेदवारी दिएका विमलेन्द्र निधिले पार्टीमा वैचारिक स्पष्टता, गतिशीलता, जनतासँग जोडिने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सार्थक पार्ने कांग्रेस नेतृत्व दिने प्रतिबद्धता अघि सारेका छन्।

  • तीनवटै तहको निर्वाचनमा कांग्रेसलाई बहुमत
  • नयाँ पुस्तालाई आकर्षित गर्दै पार्टीमा पुस्तान्तरण
  • पार्टी पङ्क्तिलाई उद्यमशील, आत्मनिर्भर र स्वरोजगार बनाउने कार्य योजना
  • पार्टीमा आर्थिक पारदर्शिता र सुशासन
  • संविधान संशोधनमा पार्टीको आधिकारिक निर्णय र कार्यान्वयन
  • सबै जातजाति, धर्म, समुदाय, भूगोल र लिङ्गसँग पार्टीलाई जोड्ने
Presentational grey line

कल्याण गुरुङ

कल्याण गुरूङ

युवा उम्मेदवार कल्याण गुरुङले पार्टीमा युवा पुस्ताको नेतृत्व र परिवर्तनको मुद्दा अघि सारेका छन्।

  • युवा नेतृत्व र परिवर्तन
  • अवसरको समान र न्यायोचित वितरण
  • गुटबन्दी र भागबन्डाको अन्त्य
  • विधानअनुसार पार्टी सञ्चालन
  • नीति र कार्यक्रम तय गर्न नीति अधिवेशन
  • पहिलो बैठकबाटै १५औँ महाधिवेशनको मिति तय गर्ने
Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कांग्रेस महाधिवेशन: 'पदाधिकारीमा पनि ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्‍यो'
Presentational grey line