भारतः मध्य प्रदेशमा 'खडेरी अन्त्य' गर्न भन्दै बालिकाहरूलाई निर्वस्त्र हिँडाइयो

भारत
Published

भारतको मध्य प्रदेशको एक गाउँमा वर्षा नभएपछि छ बालिकालाई निर्वस्त्र गाउँ घुमाइएको छ।

बुन्देलखण्ड क्षेत्रको खडेरी परेको एउटा गाउँमा ती बालिकालाई भ्यागुतो बाँधिएको काठको मुढो बोकाएर हिँडाइएको भिडिओबारे सामाजिक सञ्जालमा चर्चा भएको छ।

स्थानीय बासिन्दाहरू सो कार्यले वर्षाको "भगवान् खुसी हुने र पानी पर्ने" विश्वास गर्छन्।

भारतको बाल अधिकार रक्षासम्बन्धी राष्ट्रिय परिषद्ले सो घटनाको बारेमा दामोह जिल्लाका अधिकारीहरूसँग सोधपुछ गरेको छ।

मध्य प्रदेश प्रहरीले सो घटनाका बारेमा औपचारिक उजुरी नआएको तर अनुसन्धान सुरु गरेको बताएको छ।

"बालिकाहरूलाई निर्वस्त्र हिँड्न बाध्य पारिएको भए कारबाही गरिनेछ," प्रहरी उपरीक्षक डीआर तेनिवारले समाचार संस्था पीटीआईलाई बताए।

भिडिओमा ती बालिकाहरू सँगै हिँडेको र उनीहरूको पछिपछि महिलाहरूको एक हुल भजन गाउँदै हिँडेको देखिन्छ। निर्वस्त्र हिँडाइएका बालिकाहरू पाँच वर्षको भएको बताइएको छ।

सो यात्रा प्रत्येक घरका रोकिएर अन्नदान लिँदै हिँडेको देखिन्छ। ती अन्न पछि स्थानीय मन्दिरको सामूहिक भान्छाका लागि दान दिइएको बताइएको छ।

"यसो गर्दा पानी पर्छ," पीटीआईलाई एक महिलाले भनेकी छन्।

दामोह जिल्लाका कलेक्टर एस कृष्ण चैतन्यले बालिकाहरूको अभिभावकहरूसँग स्वीकृति लिइएको र उनीहरूले पनि त्यसमा भाग लिएको बताएका छन्।

"यस्तो अवस्थामा प्रशासनले गाउँलेहरूलाई यस्तो अन्धविश्वासको सम्बन्धमा चेतना फैलाउने काम मात्रै गर्न सक्छ र यस्ता कार्यले नतिजा नदिने सम्झाउन सक्छ," उनले भने।

भारतको कृषि मनसुनको वर्षामा भर पर्ने हुँदा धेरै ठाउँमा पानी पार्नका लागि भगवान् खुसी पार्ने अनेक खाले पूजाआजाको चलन छ।

कुनै समुदायले भ्यागुतो वा गधाको विवाह गरिदिने वा भजन गाउँदै जात्रा निकाल्ने गर्छन्।

कतिपयले यस्ता कार्यले आम मानिसहरूलाई दुःख बिर्सिन सहयोग गर्ने बताउँछन् भने संस्कृतिविज्ञहरूले यसले अन्त कतै सहयोग नपाएपछि मानिसहरूले गर्ने अभ्यासका रूपमा अर्थ्याउँछन्।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब बिहे सम्पन्न हुने बित्तिकै दुलहीले मार्शल आर्ट गरिन्