मेलम्ची बाढीः 'अर्बौँ रुपैयाँको क्षति', विपद् अधिकारी भन्छन् - 'यति ठूलो गेगरान बहाव नेपालमा अहिलेसम्म भएको थाहा छैन'

हेलिकप्टरबाट आइतवार बिहान लिएको हेलम्बु गाउँपालिका-१ भेमाथाङमा गएको पहिरोको दृश्य
तस्बिरको क्याप्शन, हेलिकप्टरबाट आइतवार बिहान लिइएको हेलम्बु गाउँपालिका-१ भेमाथाङमा गएको पहिरोको दृश्य
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

मेलम्ची नदीमा असार पहिलो साता आएको भयानक बाढीको प्रभाव कम नहुँदै शनिवार फेरि आएको ठूलो बाढीले अहिलेसम्म अर्बौँ रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले बीबीसीलाई बताएका छन्।

"मेलम्ची खानेपानी आयोजनाकै हेडवर्क्स मर्मतका लागि दुई अर्ब रुपैयाँजति लाग्ने प्रारम्भिक अनुमान छ। मेलम्ची र चनौटे बजारमा ठूलो क्षति पुगेको छ, चारवटा पक्की पुल र केही झोलुङ्गे पुल बगाएको छ। यो करोडौँमा होइन, अर्बौँमा भएको क्षतिको रूपमा हेर्नुपर्छ," प्राधिकरण प्रमुख अनिल पोखरेलले भने।

असारयता झन्डै ४०० घरको विस्तृत मूल्याङ्कन गरिँदा ३०० परिवारका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

हेलिकप्टरबाट आइतबार बिहान लिइएको हेलम्बु गाउँपालिका-१ भेमाथाङमा गएको पहिरोको दृश्य
तस्बिरको क्याप्शन, हेलिकप्टरबाट आइतवार बिहान लिइएको हेलम्बु गाउँपालिका-१ भेमाथाङमा गएको पहिरोको दृश्य

"तिनको पुनर्निर्माण र बस्ती अन्यत्र सार्नुपर्ने अवस्थाका लागि थप मूल्याङ्कन भइरहेको छ।"

ढुङ्गा, माटो, बालुवा, रूखका मुढा मिसिएका थिग्र्यानले सोहोरिएर बग्दा नदीमाथि बनेका पुलदेखि बगरका बस्ती र खेतबारी नराम्ररी प्रभावित भएको विज्ञहरूले बताएका छन्।

कस्तो छ स्रोत?

चनौटेको पुल नै बगाउनेगरी साउन १६ गते साँझबाट आएको पछिल्लो बाढीको स्रोत "एउटा मध्यमखाले विमानस्थल क्षेत्रफलको टारजस्तो एक गेगरान" भेमाथाङमा रहेको अधिकारीहरूले बताएका छन्।

आइतवार विज्ञहरूसहितको एउटा टोलीको नेतृत्व गर्दै प्राधिकरण प्रमुख पोखरेल उत्तरपट्टि माथिल्लो भेगमा अन्तिम मानवबस्ती भएको भनिएको मेलम्ची घ्याङसम्म पुगेका थिए।

तर हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाको टोली भने त्यसअघि नै बेग्लै हेलिकप्टरमार्फत् झन्डै ३,५०० मिटर उचाइमा पर्ने भेमाथाङसम्म पुग्न सफल भएको थियो।

मेलम्ची खोलामा आएको लेदो बाढीले कटान सुरु गरेको मध्य पहाडी लोकमार्ग जोड्ने निर्माणाधीन पुल
तस्बिरको क्याप्शन, मेलम्ची खोलामा आएको लेदो बाढीले कटान सुरु गरेको मध्य पहाडी लोकमार्ग जोड्ने निर्माणाधीन पुल

उनले त्यहाँको अवस्था देखिने भिडिओ खिचेर गृहमन्त्रीसहित प्राधिकरणका अधिकारीहरूलाई बुझाउँदै अवस्था "आफूहरूले थेग्न सक्ने बिन्दुभन्दा निकै माथि पुगिसकेको" बताएका छन्।

गाउँपालिका प्रमुख शेर्पा भन्छन्, "यतिखेर हामीसँग खोलाछेउका बस्तीलाई सुरक्षित पार्नेबारे मात्र सोचिरहेका छौँ। भेमाथाङको कमजोर टारमा माथिबाट आएको पहिरो जम्मा भएपछि अहिले त्यससँगैको बगरमा निरन्तर भूक्षय भइरहेको छ।"

असर

मेलम्चीभन्दा माथि सडकहरू प्रभावित हुनुका साथै सम्पर्क सञ्जालहरू टुटेका कारण अब छिट्टै त्यता खाद्यान्न सङ्कट हुने जोखिम रहेको गाउँपालिका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए।

"हेलम्बु गाउँपालिकामा यसअघि तीनवटा मोटरपुल र सातवटा झोलुङ्गे पुल बगाएको थियो। पछिल्लो बाढीमा थप तीनवटा पुल बगाएको छ। तीन वडा अब एउटा मात्र झोलुङ्गे पुलको भरमा छन्।"

मेलम्ची
तस्बिरको क्याप्शन, मनसुन सुरु हुनासाथ भएको ठूलो वर्षाले मेलम्ची क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो

विज्ञ एवम् अधिकारीहरू निकै ठूलो पानी नपरेको अवस्थामा पनि भयानक बाढी आउनुको कारण खोजिरहेको बताएका छन्।

प्राधिकरण प्रमुख पोखरेलले स्रोत पहिचान गरिएको सिरानतिरका भूभागमा साना झरना बगेर आउने पानीले यस्तो अवस्था सिर्जना गरेको देखिएको बताउँदै केही ठूलो वर्षा भए "बाढी झन् भयानक हुने" जोखिम देखेको बताउँछन्।

"यति ठूलो गेगरान बहाव आधुनिक इतिहासमा हामीले जानेयता बेहोरेका छैनौँ। त्यसलाई रोक्न सक्ने ज्ञान, सीप र क्षमता अहिले हामीसँग छैन।"

तल्लो तटीय क्षेत्रका मानिसहरूमा थप क्षति नहोस् भन्नेमा हाम्रो तत्काल जोड छ।"

Map: Melamchi