घडियाल गोहीः नारायणी नदीमा भन्दा राप्तीमा प्रजननयोग्य गोहीको सङ्ख्या धेरै

घडियाल गोही
    • Author, ईश्वर जोशी
    • Role, चितवन
  • Published

सङ्कटापन्न घडियाल गोहीबारे गरिएको एउटा अनुसन्धानले नारायणी नदीमा भन्दा राप्ती नदीमा बढी प्रजननयोग्य गोहीहरूको समूह बढी रहेको देखाएको छ।

सन् २०१९ देखि चितवनका यी दुई नदीमा घडियाल गोहीको अनुसन्धान हुँदै आएको छ।

उक्त अनुसन्धानले नारायणी नदीमा भन्दा राप्तीमा घडियाल गोहीको वासस्थान राम्रो पाइएको अनुसन्धानमा संलग्न रञ्जना भट्टले बीबीसीलाई बताइन्।

"राप्ती नदी ऐतिहासिक रूपमा चाहिँ घडियाल गोहीको वासस्थान होइन," उनले भनिन्।

"चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल प्रजनन केन्द्रले प्रत्येक वर्ष गोही छाड्न थालेपछि राप्ती नदीमा घडियाल गोही देखिन थालेको हो। अहिले आएर राप्ती नदी घडियाल गोहीको राम्रो वासस्थानको रूपमा पाइयो।"

घडियाल गोही

अनुसन्धानकर्ता भट्टका अनुसार करिब २५/३० वर्ष अगाडि राप्ती नदीमा घडियाल गोही पाइँदैन थियो। तर अहिले उक्त नदी घडियाल गोहीका लागि राम्रो वासस्थान बनेको उनले बताइन्।

घडियाल प्रजनन केन्द्रले करिब ४० वर्षदेखि गोहीको अण्डा प्राकृतिक वासस्थानबाट सङ्कलन गरी पुन: प्राकृतिक वासस्थानमा छाडिदिने गरेको छ।

त्यसरी छाडिएको गोहीको बच्चाको दर निकै कम हुने भएकाले प्राकृतिक रूपमा नै प्रजनन हुन दिनुपर्ने भट्ट बताउँछिन्।

"आफैँ बच्चा हुर्काउने आफैँ प्राकृतिक प्रक्रियाद्वारा प्रजनन गराएर वासस्थान व्यवस्थापनमा केन्द्रित गर्ने कि त्यसले गर्दा नयाँ तरिका पनि लागु गर्न सकिन्छ कि भनेर हामी तथ्याङ्क विश्लेषण गर्दैछौँ।"

चितवनमा करिब २ सय ३० वटा घडियाल गोही रहेका छन्

केन्द्रले प्रजनन गराएर छाड्दा प्राकृतिक वासस्थानमा बच्चा गोहीलाई बाँच्न कठिन हुने र माछा मारेर खान नसक्ने उनले बताइन्।

त्यसले गर्दा १० प्रतिशतको हाराहारीमा मात्र घडियाल गोही बाँच्ने भएकाले प्राकृतिक रूपमा नै प्रजननको लागि वातावरण आवश्यक रहेको उनले बताइन्।

नदीनालामा मानवीय चापका कारण वासस्थान लोप हुँदै जानु र नदीमा प्रयोग हुने जाल बल्छीले पनि घडियाल गोही सङ्कटमा पर्दै गएको चिन्ताहरू व्यक्त भएका छन्।

प्रत्येक वर्ष घडियालको सङ्ख्या वृद्धि हुँदै गएको अर्की अनुसन्धानकर्ता फोबी ग्रिफ्थले बताइन्।

"चितवनको राप्ती नदीमा घडियाल गोहीको अवस्था राम्रो रहेको छ। गत वर्षको तुलनामा यस वर्ष गोहीको गुँड पनि धेरै छ र बच्चाहरू पनि धेरै कोरलेको छ," उनले भनिन्।

चितवनमा करिब २३० वटा घडियाल गोही भएको विज्ञहरू बताउँछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, घडियाल संरक्षणः अण्डा र बच्चा उत्पादनमा 'प्रगति' तर संरक्षणमा 'चुनौती'