एकजना फोटोग्राफर, जसले समाजका सीमान्तकृतको सुन्दरता कैद गर्छिन्

एसिड पीडित
तस्बिरको क्याप्शन, सिल्भिया अलेसी एसिड आक्रमणबाट बाँचेका, आल्बिनिज्म रङ्गहीनता भएका र अपाङ्गता भएकाहरूको तस्बिर खिच्ने गर्छिन्
    • Author, स्वामिनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा
  • Published

हेयर स्टाइलिस्टबाट फोटोग्राफर बनेकी एकजना महिलाले समाजले सीमान्तकृत बनाएका मानिसका शक्तिशाली तस्बिरहरू लिएकी छन्।

उनी आफ्नो कामले सुन्दरता र स्वीकार्यताबारे आफ्नै बुझाइलाई परिवर्तन गरिदिएको बताउँछिन्।

सिल्भिया अलेसी एसिड आक्रमणबाट बाँचेका, रङ्गहीनता भएका र अपाङ्गता भएकाहरूको तस्बिर खिच्ने गर्छिन्।

उनी आफूले पहिले काम गरेको उद्योगमा परम्परागत रूपमा सम्मान नदिइने विषयहरू र पात्रहरूलाई चुन्ने गरेको बताउँछिन्।

उनले बीबीसीसँग भनिन्, "महिलाहरू मसँग आउछन् किनकी उनीहरू आफ्नो सुन्दरता बढाउन चाहन्छन् र म उनीहरूको सहयोग गर्छु।"

"तर म पूर्ण रूपमा के जान्दछु भने- सुन्दरता भनेको पहिचानको कुरा हो, यसले कहिलेकहीँ आत्मविश्वासका गहिरा विषयलाई लुकाएको हुन्छ।"

सीमान्तकृतका तस्बिर

सिल्भिया
तस्बिरको क्याप्शन, सन् २०१० मा दक्षिणी इथियोपियाको भ्रमणका क्रममा उनले ओमो नदी उपत्यकाका आदिवासी समूहहरूको दस्तावेजीकरण गरिन्

१७ वर्षको उमेरमा सिल्भियाले हेयर स्टाइलिस्टका रूपमा इटलीमा काम गर्न सुरु गरेकी थिइन्।

अन्य कैयौँको जस्तै उनले पनि सुरुमा सोखका लागि फोटोग्राफी गर्न थालिन् तर यो उनको व्यसन नै बन्यो।

सन् २०१० मा दक्षिणी इथियोपियाको भ्रमणका क्रममा उनले ओमो नदी उपत्यकाका आदिवासी समूहहरूको दस्तावेजीकरण गरिन्।

त्यस क्रममा उनले उक्त क्षेत्रलाई पश्चिमा पर्यटकहरूले "मानव चिडियाखाना" जसरी व्यवहार गरेको अनुभूत गरिन्।

अफ्रिका गएपछि उनले तस्बिर खिच्नुअघि पात्रबारे जान्नु आवश्यक हुने सिकिन्।

"फोटोग्राफरले कुनै पनि पात्रबारे केही पनि थाहा नपाइकन उनीहरूलाई सुन्दर तस्बिरका लागि ट्रफी पाएजस्तो गर्नु हुँदैन," उनी भन्छिन्।

विषय, मुद्दा र सोचको खोजी गर्ने सिल्भियाको पहिलो प्रमुख परियोजनाले सन् २०१७ मा उनलाई भारत ल्यायो।

एसिड पीडित सोनिया
तस्बिरको क्याप्शन, एसिड पीडित सोनिया

उनलाई सामाजिक सञ्जालमा फैलिएको एउटा तस्बिरले भारत आउन प्रेरित गरेको हो।

त्यसबेला आल्बिनिज्म (रङ्गहीनता) भएकी मुम्बइकी एकजना महिलाको तस्बिर आएको थियो।

उनले त्यस्तो अवस्थाका मानिसहरूले पूर्वाग्रह र हिंसाबाट पीडित भएको सुनिन्।

छाला र आँखामा तन्तुको स्वभाविक रङको कमीका कारण उक्त अवस्था आउने गर्छ।

संयुक्त राष्ट्रसंघका अनुसार सब-साहारा अफ्रिका क्षेत्रमा रङ्गहीनता भएका सयौँ मानिसलाई आक्रमण र हत्या गरिएका घटना छन्।

भारतमा उक्त समस्याबाट करिब दुई लाख मानिसहरू पीडित भएको ठानिन्छ।

सिल्भियाले एकजना एसिड पीडित र एकजना आल्बिनिज्म भएकी महिलालाई सँगै राखेर तस्बिर लिइन्
तस्बिरको क्याप्शन, सिल्भियाले एकजना एसिड पीडित र एकजना आल्बिनिज्म भएकी महिलालाई सँगै राखेर तस्बिर लिइन्

भारतमा त्यस्तो समस्या भएकामाथि हिंसा भएको त कमै देखिन्छ तर उक्त समस्या भएका युवतीहरू कहिल्यै विवाह नहुने चिन्तामा रहन्छन्।

उक्त समस्या भएका एकै परिवारका तीनजना दाजुभाई दिदीबहिनीहरूको तस्बिर लिएपछि उनले 'स्किन' अर्थात् छाला नामक परियोजनामा आफ्नो ध्यान केन्द्रित गरिन्।

सिल्भियाले आगराका एसिड प्रहारबाट बाँचेका महिलाहरूलाई भेटिन्।

त्यसमध्ये अधिकांश महिला पुरुषले लिन खोजेको फाइदा नदिएपछि आक्रमणमा परेका थिए।

४५ वर्षे सिल्भिया भन्छिन्, "मैले पहिलो पटक भेटेकी एसिड पीडित सोनिया हुन्। उनी मेकअप आर्टिस्ट थिइन्। हामीले हाम्रो कामबारे धेरै कुराकानी गर्‍यौँ। त्यो एकदमै वास्तविक थियो।"

"उनलाई भेट्नुअघि म निकै चिन्तित थिएँ किनकी म उनलाई अप्ठ्यारो महसुस गराउन चाहन्थिन्। तर उनी निकै सरल र आफ्नो लक्ष्यमा दृढ थिइन्। मलाइ लाग्यो हाम्रो लक्ष्य एकैखाले छ- उनीहरूले सामना गरेको कुराबारे जनचेतना जगाउनु।"

सिल्भियाले दुईवटै विषयलाई समायोजन गरिन् र एकजना एसिड पीडित र एकजना रङ्गहीनता भएकी महिलालाई सँगै राखेर तस्बिर लिइन्।

उनी भन्छिन्, "मेरो विचार दुवै कुराहरूको एउटा ठूलो विभिन्नता बनाएर सामाजिक समस्यालाई उजागर गर्नु थियो। दुवै कुरामा छाला नै सामाजिक तिरस्कारको कारण बनेका थिए।"

"ती दुवै महत्त्वपूर्ण, सुन्दर र रोचक महसुस गर्थे। उनीहरू किन म दुईजनालाई एकै स्थानमा ल्याएर देखाउन चाहन्छु भनेर निकै उत्सुक थिए।"

'कला एउटा औषधि'

युद्धग्रस्त अफगानिस्तानमा उनले एउटा अर्ध-फिरन्ते आदिवासी समूहको तस्बिर लिइन्
तस्बिरको क्याप्शन, युद्धग्रस्त अफगानिस्तानमा उनले एउटा अर्ध-फिरन्ते आदिवासी समूहको तस्बिर लिइन्

सिल्भिया थप परियोजनाहरू सम्पन्न गर्न भारत फर्किइन्। उनले इराक, अफगानिस्तान र जापानमा पनि फोटोग्राफी गरेकी छन्।

उनी मध्यभारतको भोपालका मानिसहरूको पीडासँग पनि गहिरोसँग जोडिएकी थिइन्।

त्यहाँ सन् १९८४ को डिसेम्बरमा एउटा कीटनाशक बनाउने उद्योगबाट ४० टन रासायनिक पदार्थ चुहिएको थियो। त्यसले विश्वव्यापी चर्चा पाएको थियो।

भारत सरकारका अनुसार उक्त दुर्घटनामा परेर केही दिनमै ३ हजार ५ सय मानिसहरू मारिएका थिए।

त्यस्तै केही वर्षभित्र थप १५ हजार मानिसहरू मारिएका थिए। तर अभियानकर्मीहरूले मृतकको सङ्ख्या २५ हजार भएको बताउँने गर्छन्।

सिल्भिया
तस्बिरको क्याप्शन, अन्य कैयौँको जस्तै उनले पनि सुरुमा सोखका लागि फोटोग्राफी गर्न थालिन् तर यो उनको व्यसन नै बन्यो
1px transparent line

उनीहरू अहिले पनि त्यसको असर बाँकी रहेको बताउँछन्। कैयौँ बालबालिकाहरू अहिले पनि सीमित शारीरिक क्षमता भएको अवस्थामा जन्मन्छन्।

जस्तो समीर नामका एक व्यक्ति, जो हिड्न र बोल्न सक्दैनन्।

सिल्भियाले तस्बिर खिच्दा उनी १८ वर्षका थिए। उनी समीरलाई भेट्दा उक्त दुर्घटनाको कम्पन आफूलाई अनुभूत भएको बताउँछिन्।

"मैले समीरको तस्बिर लिइसकेपछि म रुन थाले," उनी भन्छिन्, "कला भनेको कलाकार, पात्र र त्यसलाई हेर्नेहरूका लागि एउटा औषधि हो।"

"मलाइ थाहा छ मैले समीरलाई एउटा फरक दिन दिए, अलिकति राहत!"

भोपाल ग्यास दुर्घटनाका पीडित समीर, जो हिड्न र बोल्न सक्दैनन्
तस्बिरको क्याप्शन, भोपाल ग्यास दुर्घटनाका पीडित समीर, जो हिड्न र बोल्न सक्दैनन्

'उ डराउँदैन थियो'

सिल्भियाले उनको यात्रामा भेटेका अन्य मानिसहरूले पनि उनलाई लगातार प्रेरित गरिरहे।

युद्धग्रस्त अफगानिस्तानमा उनले एउटा अर्ध-फिरन्ते आदिवासी समूहको तस्बिर लिइन्।

उनीहरू ताजिकिस्तान र चीनको सिमाना नजिकै एउटा मध्ययुगिन व्यापार मार्गमा शान्तिपूर्ण बसोबास गरिरहेका छन्।

जापनामा उनी कोइची ओमाइको उर्जा देखेर सकारात्मक रूपमा प्रभावित भइन्
तस्बिरको क्याप्शन, जापानमा उनी कोइची ओमाइको उर्जा देखेर सकारात्मक रूपमा प्रभावित भइन्

जापनामा उनी कोइची ओमाइको उर्जा देखेर सकारात्मक रूपमा प्रभावित भइन्।

कोइचीले २३ वर्षको उमेरमा दुर्घटनामा परेर देब्रे गोडा गुमाएका थिए।

तर उनले नर्तकको सफल करिअर बनाएका छन् र रियोमा भएको पाराओलम्पिक प्रतियोगिताको समापन समारोहमा समेत नाचेका थिए।

इराकमा समलिङ्गी व्यक्तिप्रति घृणा गर्ने प्रवृत्ति कायमै छ। त्यहाँ उनले स्थानीय पथप्रदर्शकको चिन्तालाई बेवास्ता गरिन् र प्राय: समलैङ्गिक पुरुषहरू जाने एउटा पार्कमा गइन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपालमा एसिड आक्रमण रोक्ने कसरी

उक्त पार्कमा उनले एकजनालाई गोप्य रूपमा भोलिपल्ट फोटो खिच्नका लागि मनाइन्।

उनले भनिन्, "मैले उपयुक्त मान्छे देखेँ र उसँग कुरा गर्न सुरु गरेँ, मुस्कुराउँदै कुरा गरेर उसलाई विश्वासमा लिएँ। उ बेचैन थियो तर आफ्नो पहिचान खुलाउन डराएको थिएन।"

इराकका एकजना समलिङ्गी पुरुषसँग सिल्भिया
तस्बिरको क्याप्शन, इराकका एकजना समलिङ्गी पुरुषसँग सिल्भिया

महामारीका लागि उनी अहिले यात्रा गर्न सकिरहेकी छैनन् तर उनले अर्को नयाँ परियोजनाको तयारी गरिरहेकी छन्।

सिल्भिया आफ्ना पात्रहरूसँग सम्पर्कमा रहन्छिन्। उनी ती पात्रहरूको तस्बिर कहाँ र कहिले प्रदर्शन हुन्छ अनि त्यसबारे कस्तो प्रतिक्रिया आउँछ त्योबारे जानकारी दिन्छिन्।

उनी फोटो प्रदर्शनीहरूमा पनि तस्बिर पछाडिको कथा सुनाउँछिन् र आफूले तस्बिर लिएका पात्रहरूको नाम भन्छिन्। त्यसले उनीहरूले भोगेको कुराबारे जनचेतना जाग्ने सिल्भियाको विश्वास छ।