लडाकु विमानले तार काट्दा फ्रान्सेली गाउँ अन्धकार

विमान

तस्बिर स्रोत, EPA

Published

जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत् काटिएको छ।

घटना बुधवार अपराह्न म्यानोस्क नजिकै ला क्यास्टले गाउँमा भएको हो।

जमिनको सतह नजिकै उड्ने तालिमका लागि उडेका दुई रफाल विमानले तार काटेको 'दुर्लभ घटना'बारे अनुसन्धान सुरु गरिएको छ।

"यो यति तल आएको थियो कि यसले निकै ठूलो आवाज निकालेको थियो। मैले माथि हेरेँ र दोस्रो विमान देखेँ," गाउँका मेयरले स्थानीय पत्रिकालाई बताएका छन्।

"विमान यति तलबाट उडेको थियो कि मैले आफैँलाई भनेँ: यो विद्युत्‌को तारभन्दा तल जाँदैछ," गाडी चलाइरहँदा विमान देखेका बेनोइट् ग्वाङ्गले बताए।

अलि पर पुग्दा उनले तार जमिनमा झरेको देखे।

"दुईमध्ये एक विमान तारमा ठोक्कियो र तार चुँडायो। मैले तत्काल आपत्कालीन सेवा र विद्युत् सेवा दिने कम्पनीलाई फोन गरेँ," उनले भने।

तार झरेपछि लागेको आगो तत्कालै नियन्त्रण गरिएको अर्को एउटा स्थानीय पत्रिकाले जनाएको छ।

उक्त गाउँमा केही घण्टा विद्युत् बन्द भयो। सुरक्षाको कारण देखाउँदै केही समय सडकसमेत अवरुद्ध पारिएको थियो।

"कोही पनि घाइते भएन। घटनाले विमानचालकलाई सुरक्षित रूपमा विमान अवतरण गराउन बाध्य पार्‍यो," फ्रान्सेली एअर फोर्सका प्रवक्ताले ला प्रोभेन्स पत्रिकालाई भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यस्त राजमार्गमा विमान ओर्लिएपछि...