म्यान्मार सैन्य कू: देशमा एक वर्षको लागि सङ्कटकाल घोषणा

म्यान्मार चुनाव
तस्बिरको क्याप्शन, चुनावमा मतदान गर्दै नेत्री सू ची
Published

म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ।

नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो।

नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ।

सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।

सडकमा सेना

Min Aung Hlaing
तस्बिरको क्याप्शन, शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङ यसअघि सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका थिए

सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो।

गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो।

सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ।

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक सोमवार (आज) बस्ने योजना थियो।

तर सेनाले उक्त बैठक अहिलेलाई स्थगित गर्न माग गर्दै आएको थियो।

बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी र मुख्य सहर यान्गुनका गल्लीहरूमा सेनाहरूको उपस्थिति देखिएको बताएका छन्।