एलेक्सी नभाल्नी: रुसी विपक्षी नेता हिरासतमा, मुक्त गर्न ईयू र अमेरिकाको माग

भ्लादिमिर पुटिन
तस्बिरको क्याप्शन, पक्राउ पर्नुअघि नभाल्नीले आफूलाई कुनै डर नलागेको बताएका थिए
Published
पढ्ने समय: २ मिनेट

स्नायुविषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ।

अमेरिका तथा ईयूले नानाल्नीलाई मुक्त गर्न आग्रह गरेका छन्।

पक्राउ गर्ने कार्यको निन्दा गरे पनि उनीहरूले उनलाई मुक्त नगरिए रुसविरुद्ध कारबाही गर्ने विषयमा केही भनेका छैनन्।

क्रेम्लिनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए।

उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।

नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले उनको आरोप सही भएको बताएका छन् तर क्रेमलीनले त्यसलाई अस्वीकार गरेको छ।

रिहाइको माग

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ।

बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनीत गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई उत्तरदायी बनाउन पनि आह्वान गरे।

अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले नभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत् टिप्पणी गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अन्य पश्चिमा नेताहरूले रुसको उक्त कदमको निन्दा गरेका छन्।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले नभाल्नीको पक्राउलाई 'अस्वीकार्य' भनेका छन्।

"उनलाई तत्काल रिहा गर्न म रुसी अधिकारीहरूलाई आह्वान गर्छु," मिशेलले ट्विटरमा लेखेका छन्।

विरोध प्रदर्शन
तस्बिरको क्याप्शन, नभाल्नीका समर्थकलाई नुकोभो विमानस्थलमा नियन्त्रणमा लिँदै प्रहरी

के भएको थियो?

"म सही छु भन्ने मलाई थाहा छैन। मलाई कुनै डर छैन," मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नभाल्नीले यसो भनेका थिए।

उनका वकिललाई साथमा जान दिइएन।

यसअघि आइतवार उनको विमान अवरण गर्ने भनिएको नुकोभो विमानस्थलमा थप दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो।

अन्य कैयौँ अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए।

गत वर्ष अगस्टमा स्नायुविष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो।

त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी अचेत भएका थिए।

उनलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो।

रुसी अधिकारीहरूले सो घटनामा आफू जिम्मेवार नभएको बताउँदै आएका छन् भने नभाल्नीले चाहिँ राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा आफूलाई विष दिइएको भन्दै आएका छन्।