दक्षिण कोरिया के-पप: लोकप्रिय गीत अनि स्वर्ण पदकले कसरी सेनामा भर्ती हुनबाट जोगाउन सक्छ

बीटीएस
Published

दक्षिण कोरियाको प्रख्यात के-पप भनिने कोरियली सङ्गीत समूह बीटीएसले लाखौँ एल्बम बेच्नुका साथै विश्वभरका रङ्गशाला भर्ने सामर्थ्य राख्ला तर केही कुरा यस्ता छन् जसका लागि उनीहरूलाई समेत सहयोगको आवश्यकता पर्छ।

कोरियामा १८ देखि २८ वर्षका स्वस्थ पुरुषलाई २० महिना सेनामा भर्ती हुनुपर्ने कानुनी बाध्यता हुन्छ।

बीटीएसका मुख्य गायक र सबैभन्दा जेठा सदस्य जीन २८ वर्ष पुग्न केही दिन मात्रै बाँकी रहँदा उनले माइक्रोफोनलाई हतियारसँग साट्नुपर्ने स्थिति उत्पन्न भयो।

बीटीएसका लाखौँ प्रशंसकहरूका लागि संयोगवश् दक्षिण कोरियाको संसद्ले पारित गरेको विधेयकले जीनलाई सेनामा भर्ती हुने कार्य पछाडि धकेल्न पाउने बनाइदियो।

तर दक्षिण कोरियामा चर्चित अनुहार र अनिवार्य सैन्य सेवाका बारेमा समाचार बनेको यो नै पहिलोपटक भने होइन।

दक्षिण कोरियामा यस्तो प्रावधान किन छ?

दक्षिण कोरियाली सेना

दक्षिण कोरियामा युवाहरूले लामो समय सेनामा काम गर्नुपर्ने हुन्छ।

विकसित मुलुकहरूमध्ये सिङ्गापुर र इजरेलमा पनि यस्तै किसिमको व्यवस्था छ।

यसको कारण हो: प्राविधिक रूपमा दक्षिण कोरिया अझै पनि उत्तर कोरियासँग युद्धमा छ।

सन् १९५३ मा यी दुई मुलुकले युद्वविराम गर्ने सहमतिमा हस्ताक्षर गरेको भए पनि उनीहरूबीच अझै पनि तनावपूर्ण सम्बन्ध छ।

भविष्यमा हुन सक्ने युद्धलाई मध्यनजर गर्दै दुवैले ठूलो सैन्य सङ्ख्या कायम राखेका छन्।

गायकलाई फरक प्रावधान छ?

छैन।

यस अघि के-पप गायकका लागि भनेर विशेष प्रावधान थिएन।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

विदेशमा राष्ट्रको प्रतिष्ठा बढाउन खेलेको भूमिकाको कदर गर्दै शास्त्रीय सङ्गीतमा सक्रिय सङ्गीतकारले छुट पाउने गरेको भए पनि पप सङ्गीतमा लाग्नेका लागि भने अवस्था उस्तै थिएन।

त्यस्तो सुविधा प्राप्त गर्न उनीहरूले सरकारी वेबसाइटमा सूचिकृत अन्तर्राष्ट्रिय साङ्गीतिक प्रतियोगितामा प्रथम स्थान ओगट्न सफल हुनुपर्छ।

दक्षिण कोरियामा सैन्य सेवा गरेका प्रख्यात व्यक्तिहरू समेत समस्यामा भने पर्न सक्छन्।

रेन
तस्बिरको क्याप्शन, रेन

सन् २०१३ मा एक अभिनेत्रीसँग भेटेको तस्बिर सार्वजनिक भएपछि अर्का प्रसिद्ध के-पप गायक रेनले सैनिकको नियम तोडेको पाइएको थियो।

सेनामा आबद्ध युवासँग निकै कम समय हुन्छ र उनीहरू प्राय:जसो ब्यारेकमा सीमित हुन्छन्।

तर आधिकारिक रूपमा सेनाका रूपमा कार्यरत रहँदा प्रख्यात अभिनेत्री कीम टे-हीसँग प्रेम सम्बन्धमा रहेको विवरण स्थानीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएपछि रेन कारबाहीमा परेका थिए।

ग्याङ्गनम स्टाइल बोलको गीत गाएर ख्याति कमाएका साईले सन् २००७ मा सरकारी सेवामा रहँदा लिएको वैकल्पिक कामका क्रममा लापरबाही गरेको भन्दै उनलाई पुनः सेनाको सक्रिय सेवामा आबद्ध गराइएको थियो।

के अन्य समूहले छुट पाएका छन्?

अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएका खेलाडीहरूले पनि छुट पाउन सक्छन्।

ओलम्पिक्समा पदक थाप्न सफल वा एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेताले छुट पाउन सक्छन्।

सन् २०१८ को एशियन गेम्स अन्तर्गतको फुटबल प्रतियोगितामा दक्षिण कोरियाले जापानलाई २-१ को अन्तरले जित्न सफल टोलीले नै सैन्य सेवामा जानु नपर्ने छुट पायो।

खेलाडी

बीटीएसलाई के कुराले सहयोग गर्‍यो?

दक्षिण कोरियाको संसद्‌बाट पारित भएको नयाँ कानुनका अनुसार प्रख्यात व्यक्तिहरूले भर्ती हुने कार्य ३० वर्षको हुँदासम्म धकेल्न सक्छन्।

तर त्यसका लागि संस्कृतिसम्बन्धी मामिला हेर्ने मन्त्रालयले उनीहरूले 'राष्ट्रिय प्रतिष्ठा बढाउने विषयमा उल्लेख्य योगदान गरेको' ठहर गरेको हुनुपर्छ।

बीटीएस

तर बीटीएसका सदस्यले विशेष व्यवहार खोजेका छैनन् र सधैँ आफू दायित्व पूरा गर्ने बताउँदै आएका छन्।

इ-टुडे नाम गरेको स्थानीय सञ्चारमाध्यमले गत महिना सार्वजनिक गरेको सर्वेक्षणका अनुसार ५३ प्रतिशत सहभागीले बीटीएसलाई दिइएको छुटको समर्थन गरेका छन् भने ४७ प्रतिशतले त्यसको विरोध गरेका छन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरियाली पप: सङ्गीत, लागुपदार्थ र यौन अपराध