नेकपा विवाद: मन्त्रिमण्डल पुनर्गठनबारे ओली र दाहाल निकट नेताका आ-आफ्नै तर्क

ओली र प्रचण्ड
Published
पढ्ने समय: ३ मिनेट

प्रधानमन्त्रीले 'सहमति नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेको' सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'जानकारी गराएको' पार्टी प्रवक्ताले बताएका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, "सहमति भएर गरेको होइन भन्ने अध्यक्ष प्रचण्डले हामीलाई जानकारी गराउनु भएको छ।"

प्रम केपी शर्मा ओली निकटमा मानिने सुवासचन्द्र नेम्वाङले चाहिँ 'दुई अध्यक्षबीच छलफलपछि मन्त्रिपरिषद् पुनर्गठन भएको' दाबी गरेका छन्।

बुधवार मन्त्रिपरिषद् पुनर्गठन भएपछि नेकपाभित्र पुन: अर्को विवाद निम्तिएको भन्ने विवरणहरू आइरहेका बेला दाहाल र ओली निकट नेताहरूबाट फरक-फरक कुराहरू आएका हुन्।

ओलीको पछिल्लो कदमप्रति दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट रहेको बताइएको छ।

दाहाल र ओलीबीच बुधवार मन्त्रिमण्डल पुनर्गठनअघि त्यसबारे छलफल भएको थियो।

त्यसमा दाहालले "मन्त्रीहरू नियुक्त गर्न सहमति दिएको तर मन्त्री बनाउने व्यक्तिबारे सहमति नदिएको" भन्ने खबर पनि आएका छन्।

बीबीसीसँग दाहाल र नेपाल पक्षका कतिपय नेताले 'बुधवारको मन्त्रिपरिषद् गठन दाहालको सहमतिमा भएको हो वा होइन' भन्नेबारे अझै 'स्पष्ट जानकारी नगराएको' बताए।

नेताहरूका भनाइ

पार्टीभित्र दाहाल पक्षका मानिने श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दाहालको सहमति नरहेको स्पष्ट बताएका छन्।

उनले यसबारे पार्टीभित्र छलफल हुनसक्ने बताए। तर त्यसबारे अहिले नै केही पनि भन्न नसकिने श्रेष्ठको भनाइ छ।

ओली निकट नेम्वाङले चाहिँ 'दुई अध्यक्षबीच छलफलमै मन्त्रिपरिषद् पुनर्गठन भएको' दाबी गरे।

उनले भने, "यो त उहाँ (दाहाल)सँगैको छलफलले नै भएको हो।"

उनले अहिले रिक्त स्थानमा मन्त्री नियुक्त गरिएको र 'तिहारपछि पूर्ण मन्त्रिपरिषद् पुनर्गठन हुने' दोहोर्‍याए।

नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउँदै राष्ट्रपति विद्यादेवी भण्डारी
तस्बिरको क्याप्शन, नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउँदै राष्ट्रपति विद्यादेवी भण्डारी

नेपाल 'पर्ख र हेर'को मनस्थितिमा

नेपाल पक्षधर एक नेताका अनुसार ओलीको पछिल्लो कदमले असन्तुष्ट बनेका नेपालले अब कसरी अघि बढ्ने भन्ने निर्णय गरिसकेका छैनन्।

ओलीप्रति असन्तुष्ट भएर उनलाई सरकार र पार्टीको अध्यक्ष दुवै पदबाट हटाउने प्रयास गर्दा दाहाललाई नेपालले साथ दिएका थिए।

तर 'दाहाल एकाएक परिवर्तन भएको' पाइएपछि नेपाल पक्षले दाहाललाई शङ्काको दृष्टिले हेर्न थालेको ती नेता बताउँछन्।

अहिले पनि 'कतै दाहालले ओलीसँग केही भद्र सहमति गरेर बाहिर असहमति व्यक्त गरेका हुन् कि' भन्ने मत कतिपय नेताको रहेको छ।

नेपाल निकट ती नेताले चाहिँ दाहालले त्यस्तो गरेको हुने सम्भावना अहिलेका हकमा न्यून रहेको बताए।

उनको ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेर दाहाल अन्तिम समयमा पछि हट्दा त्यसले ओलीमा "मैले जे गरे पनि हुन्छ" भन्ने दम्भ थप बढेको र त्यसैले मन्त्रिपरिषद्‌ पुनर्गठनमा सल्लाह नगरेको हुनसक्ने अनुमान छ।

कर्णाली प्रदेशमा देखिएको सत्ता विवादलाई लिएर बिहीवार दाहाल निवास खुमलटारमा कर्णालीका नेताहरू, नेपाल र दाहालबीच छलफल भएको छ।

त्यसक्रममा ओलीको पछिल्लो कदमबारे दुई नेताबीच छलफल भएको हुनसक्ने बताइएको छ। तर त्यसको विस्तृत विवरण बाहिर आएको छैन।

के भन्छन् राजनीतिक विश्लेषक?

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल मन्त्रिपरिषद्‌मा कसलाई ल्याउने र हटाउने भन्ने कुरा प्रधानमन्त्रीको विशेषाधिकार भएको बताउँछन्।

तर त्यस्तो विशेषाधिकार प्रयोग गर्दा पार्टीभित्रको "नरम-गरम" मिलाएर गर्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओली
तस्बिरको क्याप्शन, प्रधानमन्त्री ओली

पोखरेलले भने, "पार्टीभित्रको सन्तुलन मिलाएर सबैलाई सन्तुष्ट गर्ने ढङ्गले गर्नुपर्ने हो। त्यहाँनेर चाहिँ प्रधानमान्त्रीको भूमिका एकलौटी अघि बढ्ने देखियो।"

"जे पर्ला अब 'देखा जाएगा' भन्ने ढङ्गले म अब यी सबैलाई प्रतिरोध गरेर अगाडि बढ्छु भन्ने सोचाइ कहीँ न कहीँ उहाँको दिमामा छ जस्तो मलाई लाग्यो।"

उनले नेपालमा स्थिर सरकार भएपछि देश विकासको गतिमा अघि बढ्ला भन्ने जनअपेक्षा रहेकामा अहिलेको सरकार पार्टीभित्रका मुद्दामा अल्झिदाँ त्यसको उपेक्षा भएको बताए।

मन्त्रीहरू हेरफेर हुँदैमा प्रधानमन्त्रीको नीति परिवर्तन नहुने भएकाले त्यसलाई खासै ठूलो असर गर्ने कुरो नभए पनि नेपालमा चाहिँ कोरोनाभाइरस महामारीका बेलामा समेत यस्ता विवाद आउँदा जनतामा नकारात्मक भावना पैदा भएको पोखरेलको विश्लेषण छ।

उनी सत्ताधारी पार्टीभित्र विवादमात्र भइरहँदा देश अघि बढ्न नसक्ने र जनतामा पनि निराशा छाउने बताउँछन्।

ईश्वर पोखरेल शक्तिशाली कि भूमिकाविहीन?

उपप्रधान तथा रक्षामन्त्री रहेका पोखरेललाई बुधवारको मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ।

त्यसलाई कतिपयले उनलाई 'विनाविभागीय मन्त्री' जस्तै बनाइएको टिप्पणी गरेका छन्।

त्यस्तो बताउनेहरूले उनी विभिन्न विवादमा मुछिएको र उनको कामबाट ओली असन्तुष्ट बनेको एवम् सेनासँग पोखरेलको सम्बन्ध बिग्रेको भन्ने गरेका छन्।

ओली निकट मानिने एक नेताले चाहिँ उनलाई थप शक्तिशाली बनाइएको दाबी गरे।

उनले बीबीसीसँग भने, "उहाँले त झन् शक्तिशाली जिम्मेवारी पाउनु भएको छ नि!"

पोखरेल स्वयम्‌ले चाहिँ बुधवार राती ११ ट्वीट गर्दै 'विकसित परिस्थिति र घटना- प्रसङ्गका सम्बन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति र टिप्पणी हेर्दै… बुझ्ने कोसिस गर्दै…' लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

शपथग्रहण

यसैबीच नवनियुक्त तीनजना मन्त्रीहरूले बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन्।

शपथ लिनेहरूमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ रहेका छन्।

उनीहरूलाई राष्ट्रपतिले नेपालको संविधान धारा ८० बमोजिम शपथग्रहण गराएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।