नेकपा विवाद: चिनियाँ राजदूतले सत्तारूढ दलका वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गर्नुको अर्थ

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी

तस्बिर स्रोत, HOU YANQI/TWITTER

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूबीच शक्ति सङ्घर्ष चर्किरहेकै बेला चिनियाँ राजदूतले सोही दलका एक वरिष्ठ नेतासँग गरेको भेटवार्ताबारे सार्वजनिक वृत्तमा विभिन्न अड्कलबाजी गरिँदैछ।

कतिपयले त्यसलाई सामान्य भेटघाटकै रूपमा हेरिरहेका छन् भने कतिपयले नेकपाभित्र चुलिएको ‘विवाद मिलाउने प्रयास’ का रूपमा अर्थ्याएका छन्।

नेकपाको विदेश विभाग प्रमुख पनि रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच आइतवार बेलुका भेटवार्ता भएको उक्त विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गरे।

“कन्टेन्ट [विषयवस्तु] बारे त मलाई थाहा भएन, तर भेट चाहिँ भएको हो," रिजालले सोमवार बीबीसी न्यूज नेपालीसँग भने।

दुई महिनाअघि पनि नेकपाभित्रको विवाद चर्किएका बेला चिनियाँ राजदूतले देखाएको सक्रियताले नेपाली राजनीतिक वृत्तमा निकै चर्चा पाएको थियो।

त्यस बेला राजदूत यान्छीले नेकपाका शीर्षस्थ नेताहरूका साथै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका विवरणहरू सार्वजनिक भएका थिए।

ओली र प्रचण्ड

तस्बिर स्रोत, Rss

त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागका प्रमुख खड्ग केसीको बुझाइमा आन्तरिक राजनीतिमा ‘किचलो बढेका बेला’ चिनियाँ राजदूत यान्छी र नेकपाका नेता नेपालबीच भेटवार्ता भएकोले पनि त्यसबारे मानिसहरूका विभिन्न अड्कलबाजीले मलजल पाएको हो।

“तर मेरो बुझाइमा चाहे उत्तरी वा दक्षिणी छिमेकीको होस् अथवा सात समुद्रपारिको महाशक्तिको किन नहोस्, हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप वा सक्रियता कतैबाट पनि हुनु हुँदैन।”

“अहिले जे देखिएको छ त्यसमा निश्चित रूपमा केही ‘इङ्गेजमेन्ट’को सङ्केत चाहिँ सबैले अनुमान गरे सरह मैले पनि अनुमान गर्दा गलत नहोला,” केसीले थपे।

खासगरी पछिल्लो विनाशकारी भूकम्पपछि भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपालमा चीनको सक्रियता तुलनात्मक रूपमा बढेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

“नाकाबन्दीपछि अरूको सक्रियताबारे केही प्रतिक्रिया जनाउन पनि भारतलाई अप्ठ्यारो भयो,” भारतीय मामिलाबारे जानकार पत्रकार युवराज घिमिरेले भने।

'प्रत्युत्पादक हुनसक्छ'

तर कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप अथवा सक्रियताले फाइदा नपुर्‍याउनेमा विज्ञहरू एकमत देखिन्छन्।

नेपालमा चीनको सक्रियतालाई कतिपयले सामान्य रूपमा लिने गरेको देखिए पनि भविष्यमा त्यो ‘प्रत्युत्पादक’ हुन सक्नेतर्फ केसी सचेत गराउँछन्।

“हाम्रा समस्याबारे दलहरूबीच पटकपटक छलफल होस्, अरू सरोकारवाला पक्षबीच छलफल होस्। तर आन्तरिक मामिलामा बाह्य शक्तिलाई हामीले संलग्न गराइरह्यौँ अथवा त्यो परम्परालाई तोडेनौँ भने प्रकारान्तमा प्रत्युत्पादक हुन्छ,” उनले भने।

प्रचण्ड, ओली र माधव नेपाल

तस्बिर स्रोत, RSS

त्यसप्रति सहमति जनाउँदै पत्रकार घिमिरेले भने, “हामीलाई स्वतन्त्र परराष्ट्रनीतिको कुरा गर्दा आन्तरिक मामिलामा जतासुकैबाट हुने हस्तक्षेप त्यति नै आपत्तिजनक हुन्छ, चाहे त्यो उत्तरबाट होस् कि दक्षिणबाट।”

“तर हामीकहाँ के भइदियो भने आफूलाई फाइदा हुँदा हस्तक्षेप निम्त्याउने तर आफूलाई घाटा हुँदा रुने र उसको अर्को प्रतिस्पर्धी शक्तिलाई निम्त्याउने परम्परा हामीले बसाल्यौँ।”

नेकपाका विभिन्न मध्यम र तल्लो तप्काका नेता तथा कार्यकर्ताहरू पार्टी एवम् सरकार कसरी चलाउने भन्नेबारे तालिम लिन चीन जाने गरेको परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डे बताउँछन्।

“चीनमा एउटा मात्र पार्टी भएको र त्यही पार्टीले सरकार र सेना चलाउने भएकाले कूटनीतिक व्यवहारमा अरू कम्युनिस्ट सरकारमा भएका मुलुकहरूमा उसले सजिलोसँग सम्बन्ध विस्तार गरिरहेको छ,” बीबीसी न्यूज नेपालीसित उनले भने।