फ्रान्सको सबैभन्दा पुरानो फेसेनेम परमाणु केन्द्र सधैँका लागि बन्द

फेसेनेम परमाणु केन्द्र

तस्बिर स्रोत, Getty Images

Published

वर्षौँदेखि चलिरहेको विरोधको केन्द्रबिन्दुमा रहेको फ्रान्सको फेसेनेम परमाणु केन्द्र चार दशकभन्दा बढी समयपछि बन्द भएको छ।

जर्मनी र स्विट्जरल्यान्डसँगको सीमानजिक पर्ने समस्याग्रस्त उक्त केन्द्रले अल्सास क्षेत्रमा खपत हुने ७० प्रतिशत उत्पादन गर्थ्यो।

फेसेनेम केन्द्र बन्द भएपछि ऊर्जा आपूर्तिमा उत्पन्न खाडल कसरी पूर्ति गर्ने र जागिर गुमाएका व्यक्तिहरूलाई के गर्ने भन्ने प्रश्न उठेको छ।

फ्रान्सले परमाणु ऊर्जामाथिको निर्भरता घटाउँदै लैजाने र सन् २०३५ सम्ममा १२ वटा पारमाणविक रीयाक्टर बन्द गर्ने प्रतिबद्धता जनाएको छ।

फेसेनेमको पहिलो रीयाक्टर गत फेब्रुअरीमा बन्द गरिएको थियो भने दोस्रो रीया क्टरसोमवार राति ११ बजे बन्द गरिएको हो।

आगामी तीन वर्षसम्ममा प्रयोग गरिएको इन्धन हटाइनेछ र त्यसपछि केन्द्रलाई पूर्ण रूपमा नष्ट गर्न अर्को १५ वर्ष लाग्नेछ।

सरकारी स्वामित्वको ईडीएफले पहिलो पटक आफ्नो 'प्रेसराईज्ड वोट रीयाक्टर' बन्द गर्न र पूर्ण रूपमा नष्ट गर्न लागिएको जनाएको छ।

फ्रान्ससँग यस्ता अझै ५६ वटा रीयाक्टर छन्।

फेसेनेम किन विवादित थियो?

राइन नदीमाथि रहेको त्यो केन्द्रविरुद्ध वातावरण अधिकारवादीहरूले आवाज उठाउँदै आएका थिए। भूकम्पीय गतिविधि हुने क्षेत्रनजिक रहेको र त्यो क्षेत्र डुबानको जोखिममा रहेको उनीहरूको तर्क थियो।

धेरै वर्षदेखि सुरक्षासम्बन्धी कैयौँ विफलताबीच रीयाक्टरको ढकनी चर्केको थियो भने सन् २०११ मा जापानको फुकुशिमामा चुहावट भएपछि सन् २०१४ मा बाढीका कारण त्यसलाई आपत्कालीन रूपमा बन्द गर्नुपरेको थियो। त्यो घटनाले केन्द्रलाई बन्द गर्नुपर्ने पक्षको आन्दोलनलाई पनि चर्कायो।

तत्कालीन राष्ट्रपति फ्रान्स्वाँ ओलान्दको कार्यकालमा फेसेनेमलाई बन्द गर्ने निर्णय भएको थियो र त्यो कुरालाई दुई वर्षअघि वर्तमान राष्ट्रपति एमानुएल माक्रोँले पुष्टि गरेका थिए।

स्थानीयवासी किन खुसी छैनन्?

फेसेनेम परमाणु केन्द्रले धेरैलाई रोजगारी दिएको थियो। सीजीटी यूनियनले उक्त केन्द्र बन्द गर्ने निर्णय "आर्थिक, सामाजिक तथा पर्यावरणीय संहारको रूपमा हेरेको" जनाएको छ।

नगरप्रमुख क्लाँड ब्रेन्डरले सो क्षेत्रका लागि ठूलो धक्का भनेका छन्।

फ्रेन्च टीभीलाई उनले भन, "यो परमाणु केन्द्र र यहाँका क्षेत्रबीच ५० वर्षदेखि रहिआएको सम्बन्धको अन्त्य हो।"

उनका अनुसार केन्द्रमा मात्रै एक हजार जागिर गुम्नेछ भने निर्भर अन्य १,१०० मानिसले पनि बेरोजगार हुनेछन्।

फेसेनेमबाट हुने ऊर्जा आपूर्तिको ठाउँमा अब जर्मनीबाट आपूर्ति गरिनुपर्ने उनको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हरित ऊर्जा?