राजकुमार ह्यारीलाई भक्तपुर घुमाएका नेपाली युवा भन्छन्: 'जिम्मेवारी परित्याग नगरेको भए हुन्थ्यो'

तस्बिर स्रोत, Purushottam Suwal
- Author, मतिना त्वानाबासु
- Role, बीबीसी न्यूज नेपाली
- Published
२०७२ सालको विनाशकारी भूकम्पले नेपालमा पुर्याएको क्षति अवलोकन गर्ने क्रममा बेलायती राजकुमार ह्यारी चैत्र ८ गते भक्तपुरको ब्यासीमा रहेको शिविरमा पुगेका थिए।
एकजना विदेशी आउने खबर शिविरमा रहेका सबैलाई थियो तर उनी को हुन् भन्ने हेक्का धेरैलाई थिएन।
उनी पनि अन्य राहात बोकेर आउने विदेशीजस्तै खाना वा पानी वा औषधी लिएर आउने होलान् भन्ने सबैलाई लागेको थियो।
तर आफ्नो पालभित्र पसेका व्यक्ति बेलायती राजकुमार ह्यारी हुन् भन्ने थाहा भएपछि धेरै मानिसहरू भावुक बने।
शिविर व्यवस्थापनको नेतृत्व गरिरहेका १४ वर्षका पुरुषोत्तम सुवालका लागि त्यो दिन अविस्मरणीय बन्यो।
सुवाल राजकुमार ह्यारीसँग शिविर र भक्तपुर दरबार क्षेत्र घुमेका थिए र करिब एक घण्टा बिताएका थिए।
अहिले राजकुमार ह्यारीले राजपरिवारको जिम्मेवारी परित्याग गरेको घोषणा सुनेका सुवाललाई उनले त्यस्तो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ।
"मसँग इमेल भएको भए म राजकुमार ह्यारीलाई लेख्ने थिएँ - तपाईँले जस्तो राजकुमार हुने भाग्य सबैले पाउँदैनन्।"
"त्यसैले तपाईँले जिम्मेवारी परित्याग नगरेको भए हुन्थ्यो।"
त्यो दिन
करीब डेढ सय परिवारको बसोबास भइरहेको शिविरमा सुवालको पालभित्र राजकुमार ह्यारी पसे।
तर केहीबेरपछि पालबाट बाहिर निस्कँदा उनी राजकुमार ह्यारी कम र आफ्नो साथी बढी बनिसकेका सुवाल बताउँछन्।
उनी भन्छन्, 'हामीले सबैभन्दा पहिले त परिचय साटासाट गर्यौँ। त्यतिखेर मात्रै हो मेरो पालभित्र पसेका ती मानिस बेलायती राजकुमार रहेछन् भन्ने थाहा पाएको।"
"त्यसपछि उनको पहिलो प्रश्न शिविरको नेतृत्व गर्ने मजस्तो बालक नै किन भन्ने थियो।"
सुवालले त्यतिबेला ह्यारीसँगको कुराकानी सम्झँदै भने, "मैले आफूलाई समाजसेवा मनपर्ने बताएँ। र, शिविरमा रहनु भएका धेरैले यहाँको व्यवस्थापन गर्न सक्छु भन्ने विश्वास गरेर मलाई यो जिम्मेवारी दिए भन्ने जवाफ दिएँ।"

तस्बिर स्रोत, Pusushottam Suwal
सहायतास्वरुप पीयूष
"उनले अब तिमी के गर्छौ? ह्वाट विल यु डु? ह्वाट इज दि गभर्न्मेन्ट डुइङ? भनेर सोधे। मैले आफूलाई नेपालको राजनीतिबारे जानकारी नभएको बताएँ," ह्यारीसँग लगभग एक घन्टा विताएका पुरुषोत्तमले भने।
"नेपालमा राम्रा समाचार खासै आउँदैनन्। त्यसैले पत्रपत्रिका पनि पढ्दिनँ। मलाई समाचार नै मनपर्दैन।"
आफ्नो कुरा सुनिसकेपछि राजकुमार ह्यारीले शिविरमा के समस्या छ भनी सोधेको बताए।
"त्यतिबेला पानीको समस्या थियो। मैले त्यही बताएँ। र, पछि उनले पानी शुद्धीकरणका लागि पीयूष पठाइदिए," पुरुषोत्तमले यसै साता बीबीसीसँग भने।
भेटको संयोग
ह्यारीसँगको भेट एउटा संयोग मात्र लाग्ने सुवाल त्यतिबेला आफ्नो शिविर अगाडि मेला लागेको बताउँछन्।
'ह्यारी हाम्रो शिविरमा आउने कुरा धेरैलाई थाहा रहेछ। त्यसैले हाम्रो शिविर बाहिर सुरक्षाकर्मीलगायत धेरै सर्वसाधारण थिए। माथि आकाशमा हेलिकप्टर पनि उडिरहेको थियो," उनले सम्झिए।
उनी दुग्ध उद्योगमा सेल्समेनको काम गर्थे। बिहानभरी आफ्नो काम सकेपछि अधिकांश समय शिविरमै हुन्थे।
ह्यारीसँग भेट भएपछि त्यतिबेला केही दिनका लागि उनीसँग भेट्न आउने पनि थुप्रै थिए।

तस्बिर स्रोत, Purushottam Suwal
मायालु मान्छे
राजकुमार ह्यारीले सुवालले नेतृत्व गरेको शिविरका अन्य पालहरूको पनि अवलोकन गरे।
उनलाई ह्यारीले प्रश्न सोधेको र साना कुरामा देखाएको चासोले उनी बेलायतजस्तो देशको राजकुमार हुन् भन्ने पटक्कै लागेन।
"सबैलाई माया गरे उनले। सबैसँग हालचाल बुझे। सबैलाई हात जोडेर नमस्ते गरे, अनि हात मिलाए। उनी आउँदा हाम्रो शिविरमा सबैलाई राहत महसुस भएको थियो," उनले बीबीसीसँग भने।
पुरुषोत्तमलाई राजकुमार ह्यारीले उनको भावी योजनाबारे पनि सोधेका रहेछन्।
जवाफमा उनले बारम्बार बन्द हड्ताल, पेट्रोलियम पदार्थको अभावलगायत धेरै अस्तव्यस्त रहेकोले आफूलाई राजनीतिमा चासो भएको बताएका रहेछन्।
इमेल मागेनन्
ब्यासीस्थित शिविरको भ्रमणलगायत सुवालले राजकुमार ह्यारीलाई दरबार क्षेत्रको भ्रमण पनि गराएका थिए।
छुट्टिनेबेला धन्यवाद भनेका ह्यारीले आफूसँग कुनै वाचा नगरेको उनी सम्झन्छन्।
"हामीबीच पछि भेट्ने वा सम्पर्कमा रहने कुनै विषयमा कुराकानी नै भएन। बाटोमा हिँड्दै जाँदा पनि वरिपरीका दृश्यमै हाम्रो कुराकानी भयो।"
"न उनले मेरो इमेल मागे न मैले उनको इमेल मागेँ। तर आजको दिनमा भने मैले लिएको वा दिएको भए हुन्थ्यो भन्ने लाग्छ," सुवाल भन्छन्।
युकेएड्सलगायत केही संस्थाहरुले ह्यारीको भ्रमणमा सहजीकरण गरिदिएको भन्दै सुवाललाई आभारपत्र पनि दिएका थिए।
अहिले १८ वर्ष भएका उनलाई अनाथहरुका लागि अनाथालय र वृद्धहरूका लागि आश्रम खोल्ने मन छ।
अन्त्यमा उनले बीबीसीसँग भने "सक्नुहुन्छ भने ह्यारीलाई मैले नेपालका सातै प्रदेशमा अनाथालय र वृद्धाश्रम खोल्न चाहेको कुरा पुर्याइदिनोस् है।"






















