बाढीले बिजुली आपूर्तिमा असर, भारतमाथि 'निर्भरता झन् बढ्ने'

तस्बिर स्रोत, RSS
गत भदौ १० को भीषण बाढीका कारण बाढी आएका क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा क्षति पुगेपछि आउँदो हिउँदमा भारतबाट गरिने विद्युत् आयात गत वर्षभन्दा औसत करिब १०० मेगावाटले बढ्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
भदौ १० गतेको बाढीले भोटेकोशी-त्रिशूली करिडरमा सञ्चालनमा रहेका आयोजनाहरूमा र असोजमा आएको अति भारी वर्षाका कारण कालीगण्डकी क्षेत्रमा पुगेको क्षतिका कारण करिब ६५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट टुटेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए।
भोटेकोशी-त्रिशूलीतर्फ भएका क्षतिका कारण ४५० मेगावाट र कालीगण्डकी क्षेत्रमा भएका क्षतिका कारण १९० मेगावाट बिजुली राष्ट्रिय प्रसारणबाट टुटेको बताइएको छ।
"हामीलाई गाह्रो हुने भनेको हिउँदका माघ,फागुन र चैत महिनामा हो। त्यो बेलासम्म त्रिशूली करिडोरको ट्रान्समिसन लाइन रिभाइभ गर्न सकिन्छ कि भन्ने छ। त्यो भयो भने १५० मेगावाट त्यसबाट जोडिन्छ," उनले भने।
"गत वर्ष पनि हिउँदमा पीक आवरमा ८/९ सय र औसतमा ६ सय मेगावाट दैनिक भारतबाट आयात गरेकै हो। यो वर्ष पीकआवरमा १००० मेगावाट र औसतमा ७ सय मेगावाट आयात गर्नुपर्ने हुन सक्छ।"
यही असोज ७ देखि ११ गतेसम्म परेको अति भारी वर्षाले कालीगण्डकी करिडोरका तीनवटा टावरहरू बगाएको प्राधिकरणले जनाएको छ।
"त्यसलाई पनि रिभाइभ गर्न सकियो भने मद्दत पुग्छ। अरू प्लान्टहरू पनि कमिसन हुँदै छन्। त्यति गर्दा पनि नपुग्ने बिजुली भारतबाट किन्नुपर्छ," प्रवक्ता ढकालले भने।
उत्पादन र मागको अवस्था कस्तो छ?
अहिलेको समयमा विद्युत्को माग करिब २५०० मेगावाट रहेको र करिब ३५/३६ सय मेगावाट उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ।
त्यसैले करिब १००० मेगावाट बिजुली भारतलाई निर्यात गरिरहेको प्राधिकरणले जनाएको हो।
भोटेकोशी-त्रिशूली बाढी अघिसम्म प्राधिकरणसँग करिब ४३०० मेगावाट बिजुलीको जडित क्षमता रहेको बताइन्छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पूर्व उपाध्यक्ष कुमार पाण्डे दुई साताअघि कालीगण्डकीतर्फ क्षति पुगे पनि हिउँद अगाडि नै पुनः प्रसारण लाइनमा जोडिन सक्ने देखिएकोले प्राधिकरणले भनेजस्तै थोरै मात्रै विद्युत् भारतबाट आयात बढाउनुपर्ने हुन सक्नेमा आशावादी छन्।
भोटेकोशी-त्रिशूली क्षेत्रतर्फ पुगेको ठूलो क्षतिपछि दीर्घकालमा पर्ने असरचाहिँ गम्भीर भएको उनी बताउँछन्।
"त्रिशूलीको पावरहाउस बन्द हुँदा र ट्रान्समिसन लाइन बनाउनुपर्ने अवस्था छ त्यसले गर्दाचाहिँ काठमाण्डूमा लोड व्यवस्थापन गर्न प्राधिकरणलाई गाह्रो पर्न सक्छ," पूर्वउपाध्यक्ष पाण्डेले भने।
"काठमाण्डूबाट नजिकैको क्षेत्रमा बनिरहेका वा बनिसकेका जलविद्युत् आयोजनामा क्षति पुगेर तिनीहरूबाट विद्युत् नआउँदा अब त्यसको सट्टा के गर्ने हो भन्ने रणनीति तयार पार्नेचाहिँ अहिलेको मुख्य चुनौती हो।"
बेलाबेला बिजुली किन गइरहन्छ?

तस्बिर स्रोत, RSS
बेला बेला बत्ती गइरहने समस्याबारे मानिसहरूको गुनासा सामाजिक सञ्जालहरूमा देखिन्छन्।
त्यसरी बिजुली जानुको कारण मनसुनजन्य घटना तथा प्राविधिक समस्याका कारण भएको प्राधिकरणले जनाएको छ।
"हाम्रो भौगोलिक अवस्था पनि त्यस्तै छ बाढी पहिरो गइरहेको हुन्छ। कहीँ पोल ढलेको हुन्छ, मर्मत गर्न पनि समय लाग्छ त्यसले बिजुली जाने समस्या भएको हो। तर पहिलाका वर्षहरूमा भन्दा सुधार छ भन्ने हाम्रो तथ्याङ्कले देखाउँछ," प्राधिकरणका प्रवक्ता ढकालले भने।
"अनि सहरी क्षेत्रमा पुरानो तार फेरेर नयाँ राख्न दुईचार घण्टा बिजुली निभाउनु पनि पर्ने हुन सक्छ। त्यसले गर्दा पनि बिजुली गएको महसुस भएको हुनसक्छ।"
त्यसबाहेक कुनै कुनै बेला प्राविधिक समस्या पनि हुने र ठूलो पानी पर्ने वा बाढी पहिरो निम्तिने बेला आफैँ बिजुली बन्द पनि गर्ने गरिएको ढकाल बताउँछन्।
दशैँ तिहारको बेलामा भने बत्ती जाने समस्या विद्युत् अभावका कारण नहुने प्राधिकरणले जनाएको छ।
असोजदेखि कात्तिकको तेस्रो सातासम्म विद्युत् माग कम र उत्पादन धेरै हुने हुँदा बिजुली जानुको सट्टा उत्पादित विद्युत् खेर जाने समस्या हुने प्राधिकरणले जनाएको हो।
"यो समयमा बाढी कम हुन्छ र खोलामा पानी सङ्लो हुने कारणले उत्पादन पूरा हुन्छ। तापक्रम पनि ठिक्कको हुन्छ। त्यसैले दशैँ तिहारमा विद्युत्को समस्या हुँदैन। त्यो केही वर्षअगाडिको कुरा हो," प्रवक्ता ढकालले भने।
"होटेलहरू पनि कम चल्ने, उद्योग पनि बन्द हुने भएका कारणले माग पनि कम हुन्छ। भारतलाई त्यति बेला १२ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्छौँ होला।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















