४४ हजार वर्ष पुरानो गुफामा भेटिएको अकल्पनीय कलाकृति

भैंसी

तस्बिर स्रोत, Maxime Aubert / PA WIRE

Published

इन्डोनेशियाको गुफामा भेटिएको एउटा कलाकृति ४४ हजार वर्ष पुरानो भएको पत्ता लागेको छ।

सो चित्रमा एउटा भैँसीलाई केही आधा मानिस आधा जनावरजस्तो देखिने जीवले भाला र डोरीले आक्रमण गर्दै गरेका देख्न सकिन्छ।

केही विज्ञहरूले यसलाई संसारकै सबैभन्दा पुरानो कलाकृति हुन सक्ने बताएका छन्।

नेचर जर्नलमा अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयका पुरातत्वविद्हरूले यसबारेको अनुसन्धान प्रकाशन गरेका छन्।

पुरातत्वविद् एडम ब्रुमले सो चित्र दुई वर्ष अगाडि एक इन्डोनेशियाली साथीले रुख काटेर गुफाको बाटो पत्ता लगाएपछि देखेका थिए।

"मेरो आईफोनमा यो चित्र आयो," उनी सम्झन्छन्। "मलाई लाग्छ मैले यो देख्ने बित्तिकै उत्साहमा ठूलो स्वरमा चिच्याएँ।"

तर यो चित्र मानवले कोरेको सबैभन्दा पुरानो चित्र भने होइन। गत वर्ष वैज्ञानिकहरूले दक्षिण अफ्रिकाको चट्टानमा ७३ हजार वर्ष पुरानो चित्र भेट्टाएका थिए।

चित्रमा के छ?

इन्डोनेशियाली टापु बोर्नियोबाट पूर्वमा रहेको सुलावेसीको दक्षिणमा लेयाङ् बुलु सिपोङ् ४ नाम दिइएको गुफामा भेटिएको हो।

सम्पूर्ण चित्र लगभव पाँच मिटर लामो छ र सुलावेसीमा पाइने एकप्रकारको भैँसी र बँदेल देखिन्छ।

त्यसको साथै मानिसजस्ता देखिने तर पुच्छर र मुख चुच्चो भएका साना आकृतिहरू देखिन्छन्।

चित्रको एउटा अंशमा एउटा भैँसीलाई भाला बोकेका साना आकृतिहरूले घेरेको देखिन्छ।

"मैले यस्तो कहिल्यै देखेको थिइन," ब्रुम भन्छन्। "हामीले हजारौँ चित्रहरू देखेका छौँ तर कहिल्यै यस्तो सिकार दृश्य जस्तो देखिने चित्र देखेका थिएनौँ।"

केही अध्ययनकर्ताहरूले भने यी चित्रहरू एउटा दृश्य नभई विभिन्न चित्रहरूको सङ्ग्रह हुनसक्ने बताएका छन्।

कसरी यो ४४ हजार वर्ष पुरानो भन्ने थाहा भयो?

अर्को दृश्य

तस्बिर स्रोत, Maxime Aubert / PA Wire

अध्ययनकर्ताहरूले चित्रमाथि जम्मा भएका क्याल्साइट भनिने खनिज पदार्थको अध्ययन गरेका छन्।

सो अध्ययनमा बँदेलको चित्रमाथि भएका क्याल्साइट कम्तीमा ४४ हजार वर्ष अगाडि र भैँसीमाथिका क्याल्साइट ४० हजार नौ सय वर्ष अगाडि बन्न थालेको देखियो।

सुलावेसीमा मात्रै कम्तीमा २४२ वटा गुफाहरू छन् जहाँ यस्ता पुरानो कलाकृतिहरू छन् र प्रत्येक वर्ष नयाँ पत्ता लाग्न थालेका छन्।

अरू पुराना कलाकृति

यो चित्र सबैभन्दा पुरानो चित्र होइन तर अध्ययनकर्ताहरूले कथा बताउने यो नै सबैभन्दा पुरानो कलाकृति हुनसक्ने बताएका छन्।

"यसअघि युरोपमा भेटिएका १४ हजारदेखि २१ हजार वर्ष पुराना कलाकृतिलाई सबैभन्दा पुराना कथा बताउने कलाकृति मानिएका थिए," नेचर जर्नलमा लेखिएको छ।

सुलावेसीमा भेटिएका चित्रहरू जनावरमा सबैभन्दा पुराना चित्र भने हुनसक्छन्।

गत वर्ष बोर्नियोमा भेटिएको एउटा चित्र सबैभन्दा पुरानो जनावरको चित्र मानिएको थियो तर त्यो कम्तीमा ४० हजार वर्ष पुरानो मात्रै मानिएको थियो।

चित्रको व्याख्या

तस्बिर स्रोत, A. Brumm/A.A.Okatvaia/R.Sardi/C.C.Lee