तपाइँको घर वा कार्यालयको आवाजले तपाइँको मुडमा कस्तो प्रभाव पर्छ?

हङकङ
तस्बिरको क्याप्शन, यदि हामीले आवाज देख्न सक्थ्यौँ भने के हामीले घर, कार्यालय तथा शहर भिन्न शैलीमा बनाउँथ्यौँ?
    • Author, लक्ष्मी सन्धना
    • Role, बीबीसी फ्युचर
  • Published

यदि कुनै भवनमा तपाइँलाई कुनै बेला विना कुनै स्पष्ट कारण असुविधा अनुभव भयो भने सायद त्यहाँको ध्वनि गलत हुनसक्छ।

कार्यालय वा रेस्टुरेन्टहरूका चर्का आवाज वा रेलवे स्टेशनमा सुनिने सार्वजनिक सूचनाका कटु आवाज - तिनको असर तत्कालै थाहा नभएपनि ती स्थानहरूले हामीलाई आफसे आफ असहज अनुभव गराइदिन्छन्।

त्यसको साटो, तपाइँ काठको भुइँमा हिँड्नुहोस् त - जस्तो कि वाशिङ्टन डीसीको नेशनल ग्यालरी अफ आर्ट - त्यसले तपाइँको मनमा स्वत: आनन्दको सञ्चार गराइदिन्छ। तर किन?

यी प्रत्येक भवन वा स्थानका आफ्नै किसिमको आवाज हुन्छ।

त्यसकारण अब भवनहरू बनाउँदा ती सजिला र हेर्दा राम्रा मात्र होइन तिनले प्रसार गर्ने ध्वनि पनि सन्तोषजनक हुनुपर्ने विषय विस्तारै बुझिँदैछ।

केही आर्किटेक्ट तथा इञ्जिनियरहरू भवनका खाली स्थान अनि तिनका निर्माण सामग्रीबारे समीक्षा गरिरहेका छन्।

वैज्ञानिक अनुसन्धान भन्छ तिनले त्यसो गर्नु बुद्धिमानी हुनेछ। खाली स्थानको ध्वनिले मानिसहरूको भवनबारेको अनुभूति र तिनको स्वास्थ्यमा गम्भीर प्रभाव पार्छ।

ध्वनिसम्बन्धी वास्तुकला: कानले गर्ने अनुभव

भित्तामा कान
तस्बिरको क्याप्शन, के तपाइँले कुनै भवनलाई 'सुन्नुभएको' छ? सायद सधैँ, थाहा नपाइकनै

"ध्वनिसम्बन्धी वास्तुकला भनेको हामीले भवनलाई कसरी श्रवण गर्छौँ भन्ने बारे, ती भवनभित्र उत्पन्न हुने ध्वनि बारे र त्यसप्रति उब्जने हाम्रा प्रतिक्रियासँग सम्बन्धित छन्," म्यानचेस्टर यूकेस्थित सलफोर्ड विश्वविद्यालयका ध्वनिसम्बन्धी अकुस्टिक इञ्जिनियर ट्रेभर कक्सले बताए।

सामान्यतया: हामी हाम्रो संसारलाई आँखाको माध्यमबाट हेर्छौँ तर हाम्रा कानले पनि निरन्तर वरपरका विभिन्न सूचना बटुलिरहेका हुन्छन् - जसले नजानिँदो तवरबाट ती स्थानबारे हाम्रा अनुभव निर्माण गर्छ।

"आँखामा पट्टी बाँधेर रिक्त कोठामा गइयो भने त्यहाँ तपाइँले त्यसको आवाज सुन्न सक्नुहुनेछ - त्यसको आकार, त्यसको सिलिङ होचो रहेको वा त्यहाँ कार्पेट रहेको जस्ता विषय तिनले प्रतिध्वनित गर्ने आवाजबाटै थाहा पाउन सकिन्छ," अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका पूर्व विद्युतीय इञ्जिनियर ब्यारी ब्लेसरले भने।

"हामीले धेरै प्रकारका आवाज सुन्छौँ। तर हामीले तिनलाई ध्यान दिँदैनौँ," ध्वनिसम्बन्धी वास्तुकला वा अरल आर्किटेक्चर शब्दका निर्माता समेत रहेका ब्लेसरले बताए।

हल्ला, मुड, कार्यसम्पादन र मानसिक स्वास्थ्य

ग्रान्ड सेन्ट्रल स्टेशन
तस्बिरको क्याप्शन, न्यूयोर्कको ग्रान्ड सेन्ट्रल स्टेशनको तल्लो तलाको सिलिङमा चर्को कोलाहलमाझ पनि खासखुस गरेको आवाज फैलन्छ

आवाजले भवनको भौतिक संरचनासँग गर्ने अन्तरक्रियाले हाम्रो मुड र भावनामा धेरै फरक पार्छ।

तपाइँलाई सायद थाहा होला कसरी लण्डनस्थित सेन्ट पल कथिड्रलको गोलाकार डोममा गरिने कानेखुसी फैलन्छ अनि कसरी न्यूयोर्कको ग्रान्ड सेन्ट्रल स्टेशनको तल्लो तलाको सिलिङमा आवाज फैलन्छ।

अनि तपाइँको बाथरुममा गाएको आवाज आफैँलाई राम्रो लाग्छ - हामीलाई यी स्थानले शान्त बनाउने हुँदा यी स्थान राम्रो लाग्छ।

कतिपय अध्ययनले वरपरको वातावरण र मानसिक स्वास्थ्य बीच सम्बन्ध देखाएका छन्: हल्लाखल्लाहुने ठाउँ, भिडभाडपूर्ण आवासीय क्षेत्रले तपाइँमा असहायपनाको अनुभूति गराउन सक्छ, जबकि अग्ला सिलिङ भएका शान्त कोठाले तपाइँलाई गहन चिन्तन गर्न र शान्त रहन प्रोत्साहन गर्छ।

जब भवनको आवाजले तपाइँलाई बदल्छ

हाजिय सोफिया
तस्बिरको क्याप्शन, टर्कीको इस्तानबुलस्थित हाजिया सोफिया जहाँ भित्र उत्पन्न आवाज यसरी बदलिन्छ कि मानिसहरू यसले ईश्वरीय आभाष गराउने ठान्छन्

इस्तानबुल, टर्कीको प्रख्यात भवन हाजिया सोफियाले पार्ने मनोवैज्ञानिक प्रभाव हेर्नुहोस्।

"यसको ध्वनिसम्बन्धी डिजाइनका कारण ईश्वरीय आभाष गराउँछ," मध्ययुगीन संरचनाहरूका अलौकिक पक्षबारे अनुसन्धान गर्दै आएका अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका बिस्सेरा पेन्चेभाले बताए।

१५ सय वर्ष पुरानो सो भवनमा मानिसले उच्चारण गर्ने मन्त्र अलौकिक आवाजमा बदलिन्छ र लाग्छ त्यो ध्वनि सागरको गहिराइबाट आइरहेको छ - जसले स्रोतालाई मोहित पारिदिन्छ।

"मानिसको बोली र मन्त्रलाई यसले मानिसको भाषाभन्दा पर लगिदिन्छ," पेन्चेभाले भने।

वास्तुकलापछाडिको विज्ञान

मस्तिष्क स्नायुसम्बन्धी एक अध्ययनले कुनै संरचनाको ध्वनिसम्बन्धी स्वभावले मस्तिष्कको कार्यमा पार्ने असरको परीक्षण गर्दा के पत्ता लगायो भने छोटो समय ११० हर्जको आवाज सुन्दा त्यसले मस्तिष्कको भाषा केन्द्रमा गतिविधि घट्ने र भावना केन्द्रमा गतिविधि बढ्ने देखायो।

हाल साफ्लियनी हाइपोजियम नामक माल्टाको ५ हजार वर्ष पुरानो भूमिगत मन्दिरको "ओर्‍याकल कक्ष" मा त्यस्तै हुन्छ जब कुनै व्यक्तिको आवाज ११० हर्ज फ्रिक्वेन्सीमा पुग्छ।

लाग्छ अन्य थुप्रैले पनि बोलिरहेका छन्, प्रत्येक दिशाबाट आवाज सघनरूपमा आउँछ अनि लाग्छ छालामा त्यसले स्पर्श गरेको छ।

हाल साफ्लियनि हइपोजियम
तस्बिरको क्याप्शन, हाल साफ्लियनि हइपोजियमको नियोलिथिक कालका गुफा जुन इसापूर्व ३३ सय देखि ३ हजार वर्ष पहिले बनाइएको थियो।

यदि एउटै आवाजलाई मात्र यसरी बढाइदिँदा पर्ने प्रभाव त यति धेरै हुन्छ भने सोच्नुहोस् त्यस्तो कोठाले हाम्रो चेतनामा कस्तो प्रभाव पार्ला जसले विभिन्न ध्वनिलाई सघन पारिदिन्छ?

अमेरिकी आर्किटेक्ट वा वास्तुकलाविद शिया माइकल ट्राहनले यो प्रश्नको जवाफका लागि साइम्याटिक्स - सतह कसरी थर्कन्छन् भन्ने विषय - तथा थ्री डी प्रिन्टिङ प्रविधिको प्रयोग गरेका छन्।

उनी यस्ता थ्री डी संरचना बनाउँदैछन् जसमा उनको आशा छ यदि तपाइँ भित्र छिरेर बी फ्ल्याट वा सी मेजर टोनमा गीत गाउनुभयो भने पूरै संरचनाले प्रतिध्वनित गर्नेछ, वा भनौँ संरचनाले पनि गाउनेछ।

व्यावहारिक प्रयोग र थेरापी

मात्रीमन्दिर
तस्बिरको क्याप्शन, दक्षिण भारतको अरोभिल नगरमा रहेको मातृमन्दिरमा विशेष ध्यान केन्द्र छ जहाँ आवाज महत्त्वपूर्ण छ

ट्राहनको एउटा योजना छ: "म कुनै खास टोनलाई छुट्ट्याउन सक्ने संरचना बनाउन चाहन्छु - मातृमन्दिरले प्रकाशको एउटै किरणलाई केन्द्रित गरेको जस्तै।"

"यसबाट उत्पन्न हुने हाइपर रिभरबेरेन्स सायद वास्तुकलाले दिने उपहार हुनेछ। जसमा व्यक्तिको आवाजलाई ती संरचनाले सघन पारिदिन्छन्," उनले भने.

यसको परिणाम केवल मनोरञ्जनमा मात्र सीमित हुने छैन। यसले यस्ता संरचनाको निर्माण गर्न सक्नेछ जसले ध्वनि थेरापी कक्षको काम गरेर पीटिएसडी, डिप्रेसन र पार्किन्सन रोग उपचारमा सघाउ पुर्‍याउनेछन्।

बाल्टिमोर अमेरिकास्थित जन हप्किन्स विश्वविद्यालयको इन्टरनेशनल आर्ट्स एन्ड माइन्ड ल्याबकी कार्यकारी निर्देशक सुजन म्याग्सामेन टाउकोका चोटपटकबाट निको हुँदै गरेका बालबालिकाका निम्ति नयाँ किसिमको उपचारात्मक संरचना बनाउने एक आयोजनामा सामेल छिन्।

केनेडी क्रिगर बाल अस्पतालको "सेन्सरी केअर कक्ष" ले आमाको आवाज वा गीत अनि मनपर्ने सुगन्ध, तापक्रम तथा प्रकाशलाई व्यवस्थित गरेर कुनै बालक वा बालिकालाई छिटो स्वस्थ्य तुल्याउनेछ।

Presentational grey line

त्यसैले अब अर्को पटक तपाइँ कुनै भवन परीक्षण गर्दै हुनुहुन्छ भने अन्य कुराका अतिरिक्त ध्वनि र त्यसको तपाइँमा पर्ने सकारात्मक प्रभावबारे पनि विचार पुर्‍याउनुहोस्।

Presentational grey line

यो सामग्री बीबीसी फ्युचरबाट लिइएको हो।

Presentational grey line